१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ श्रावण ७ मंगलबार ०८:३४:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

राजपा र समाजवादी पार्टी एकीकरण नजिक

Read Time : > 3 मिनेट
२०७६ श्रावण ७ मंगलबार ०८:३४:००
  • एकता गर्नुपर्छ भन्ने मत बलियो छ : राजेन्द्र महतो, अध्यक्ष मण्डल सदस्य, राजपा
  • अनौपचारिक समझदारी बनेको छ : रकम चेम्जोङ, उपाध्यक्ष, समाजवादी पार्टी

राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) र समाजवादी पार्टीले एकताका लागि छलफल तीव्र बनाएका छन् । शासकीय स्वरूप, निर्वाचन प्रणाली र समाजवादी पार्टीको सरकारबाट बहिर्गमनबाहेकका विषयमा दुवै पार्टीबीच अनौपचारिक सहमति जुटिसकेको छ । सरकारबाट बहिर्गमनका विषयमा भने सहमति जुटाउन मुस्किल परेको नेताहरूले बताएका छन् । १५ दिनदेखि दुवै पार्टीका शीर्ष नेताहरूबीच पटक–पटक भएका अनौपचारिक वार्तामा अध्यक्ष मण्डल, पदाधिकारी, केन्द्रीय समिति, जिल्ला समिति, पार्टीको आदर्श र सिद्धान्तलगायत विषय सैद्धान्तिक रूपमा टुंगिइसकेका छन् । 

राजपा अध्यक्षमण्डलका सदस्यद्वय महन्थ ठाकुर र राजेन्द्र महतो तथा समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराई तथा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ तथा वार्तासमितिका नेताहरूबीच दैनिकजसो अनौपचारिक वार्ता भइरहेका छन् । 

राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले अहिलेसम्म भएका अनौपचारिक वार्ता सकारात्मक रूपमा अगाडि बढेको बताए । ‘अहिलेसम्म भएको अनौपचारिक कुराकानी सकारात्मक छ,’ उनले भने, ‘संघीय संसद् र प्रदेश सभामा दुवै पार्टीको समान स्तर भएकाले समान हैसियतमा रहेर नाम, झन्डा, सैद्धान्तिक अवधारणा, शासकीय स्वरूप, निर्वाचन प्रणाली, संगठनको संरचना टुंग्याउनुपर्छ ।’ 

धेरैजसो विषयमा नेताहरूबीच समझदारी भइसकेको समाजवादी पार्टीका उपाध्यक्ष एवं वार्ता टोली सदस्य रकम चेम्जोङले बताए । ‘कैयौँ विषयमा समझदारी भएको छ, तर लिखत उतारिएको छैन,’ चेम्जोङले नयाँ पत्रिकासँग भने, ‘शासकीय स्वरूप, निर्वाचन प्रणाली र सांगठनिक संरचनाका केही विषय मिल्न बाँकी छन् ।’

‘नेपाल बहुल राष्ट्रिय राज्य हो । लोकतान्त्रिक समाजवाद र संघीयतावादलाई आदर्श मानेर यसको व्यवस्थापन गर्नुपर्छ’ भन्ने वाक्यांशलाई पार्टीको वैचारिक आदर्श बनाउनेमा समझदारी भएको छ । 

मिलेका विषय : चार अध्यक्ष 
नेतृत्व व्यवस्थापनका लागि एकीकरणपछि महाधिवेशनसम्मका लागि चार अध्यक्ष हुने अनौपचारिक सहमति भएको छ । चार अध्यक्षमा राजपाबाट महन्थ ठाकुर र राजेन्द्र महतो तथा समाजवादी पार्टीबाट उपेन्द्र यादव र डा. बाबुराम भट्टराई राख्ने सहमति जुटेको पनि दुवै पार्टी स्रोतले जानकारी दिएको छ । हाल राजपामा ६ अध्यक्ष छन् भने समाजवादी पार्टीमा दुई अध्यक्ष छन् । राजपाका बाँकी रहेका चार अध्यक्षलाई वरिष्ठ नेता बनाउने प्रस्ताव राजपाले राखेको छ । त्यसमा चार नेता समाजवादी पार्टीका पनि थपेर आठजना वरिष्ठ नेता बनाउने प्रस्ताव राजपाको रहेको स्रोतले बतायो । राजपाले सबैभन्दा वरिष्ठ नेता भएकाले चार अध्यक्षमा महन्थ ठाकुरलाई पहिलो वरीयता दिन राखेको प्रस्तावमा समाजवादी पार्टीका नेताहरूले समर्थन जनाएका छन् । 

दुवै तर्फका ४०–४० जना पदाधिकारी
अनौपचारिक रूपमा एकीकृत पार्टीको पदाधिकारी समिति ८० सदस्यीय हुने सहमति बनेको छ । त्यसमा राजपाबाट ४० र समाजवादी पार्टीबाट ४० जना राख्न दुवै पक्ष सहमत भएका छन् । अहिले समाजवादी पार्टीमा २५ पदाधिकारी छन् भने समाजवादी पार्टीमा एक सय २७ पदाधिकारी छन् । 

८६० सदस्यीय केन्द्रीय समिति
नेताहरूले केन्द्रीय समिति आठ सय ६० सदस्यीय बनाउने सहमति गरेका छन् । त्यसमा दुवै पार्टीबाट बराबर ४३०–४३० जना राख्ने सहमति बनेको छ । अहिले राजपाको केन्द्रीय समिति सात सय ८५ सदस्यीय छ । समाजवादी पार्टीको केन्द्रीय समिति चार सय ३० सदस्यीय छ । 

जिल्ला समितिमा बराबरी हैसियत
संघीय संसद् र प्रदेश सभामा दुई पार्टीको उपस्थिति बराबरीजस्तै रहेकाले जिल्ला तहमा पनि बराबरीको हैसियतमा भागबन्डा गर्न दुवै पक्षका नेता सकारात्मक छन् । अहिले समाजवादी पार्टीको ७७ ओटै जिल्लामा संगठन छ भने राजपाको ४८ जिल्लामा छ । दुवै पार्टीको संगठन भएको जिल्लामा आधा–आधा बाँड्ने, अध्यक्ष एउटा पार्टीको भएमा अर्को पार्टीको सचिव राखेर मिलाउने समझदारी छ । राजपाको संगठन नभएको स्थानमा पार्टी सदस्य लिएका नेता–कार्यकर्ता भएमा उनीहरूलाई पनि ‘एड्जस्ट’ गर्ने सहमति बनेको छ । 

मिल्न बाँकी विषय

सरकार कहिले छोड्ने ?
समाजवादी पार्टी सरकारबाट कहिले बाहिरिने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । राजपाले एकताअघि नै समाजवादीले सरकारबाट बाहिरिएको घोषणा गर्नुपर्ने अडान राखेको छ । पार्टी एकीकरण यही कारणबाट रोकिने अवस्थामा पनि त्यो अडानमा सम्झौता गर्न नसकिने राजपाको भनाइ छ । समाजवादी पार्टीले भने एकीकरण भएको तीन–चार दिनमा केन्द्रीय कार्यसमितिको बैठक राख्ने, त्यसले जे निर्णय गर्छ, त्यसरी अगाडि बढौँ भन्ने प्रस्ताव राखेको छ । स्रोतका अनुसार समाजवादी पार्टी एकीकरणसम्बन्धी अन्य विषय टुंगिए पहिले नै सरकार छोड्न सकारात्मक बनेको छ । 

शासकीय स्वरूप र निर्वाचन प्रणाली कस्तो हुने ?
दुई शासकीय स्वरूप र निर्वाचन प्रणालीको विषयमा कुरा मिल्न सकेको छैन । समाजवादी पार्टीले कार्यकारी राष्ट्रपतीय प्रणाली राख्नुपर्ने धारणा राख्दै आएको छ भने राजपा संसदीय व्यवस्था राख्नुपर्ने आफ्नो धारणामा अडिग छ । ‘हामीले राष्ट्रपतीय प्रणाली हुनुपर्छ भनिरहेका छौँ । राजपाले यो व्यवस्था हुनु हुँदैन भनेर रिजर्भेसन राखिरहेको छ,’ चेम्जोङले भने । निर्वाचन प्रणालीमा पनि दुई दलको मतैक्य हुन सकिरहेको छैन । समाजवादी पार्टीले पूर्णसमानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताइरहेको छ भने राजपाले अहिले रहेको मिश्रित निर्वाचन प्रणाली उपयुक्त हुने धारणा अघि सारेको छ । दुई पक्ष नै आ–आफ्नो अडानमा रहेपछि यी विषयलाई एकीकरणपछिको महाधिवेशनको एजेन्डा बनाएर राख्ने राजपाको प्रस्तावमा समाजवादी पार्टी सहमत भएको स्रोतले बतायो । 

एकता गर्नुपर्छ भन्ने मत बलियो छ : राजेन्द्र महतो, अध्यक्ष मण्डल सदस्य, राजपा
दुवै पार्टीमा एकता गर्नुपर्छ भन्ने मत बलियो देखिएको छ । अहिले पार्टीको नाम, झन्डा, चिह्न, शासकीय स्वरूप र सरकारबाट बहिर्गमनको विषय टुंगिएको छैन । छलफल भएका विषय सकारात्मक छन् । संघीय संसद् र प्रदेशसभामा दुवै पार्टीको हैसियत समान छ । समान हैसियत भएपछि त्यहीअनुरूप सैद्धान्तिक अवधारणा, शासकीय स्वरूप, निर्वाचन प्रणाली, संगठनको संरचना र सरकारबाट बाहिरिएर राष्ट्रिय आन्दोलनको तयारी गर्ने विषय टुंग्याउनुपर्छ । अनौपचारिक वार्ता सकारात्मक भए पनि औपचारिक रूपमा सहमति हुन बाँकी नै छ । टुंगियो भने एकता हुन्छ । तर, हुन्छ नै भने ग्यारेन्टी गर्न सकिन्न ।

धेरै विषयमा अनौपचारिक समझदारी बनेको छ  : रकम चेम्जोङ, उपाध्यक्ष एवं वार्ता समिति सदस्य, समाजवादी पार्टी
एकताका लागि भएका अनौपचारिक वार्ता सकारात्मक देखिएका छन् । अझै केही विषय मिल्न बाँकी छन् । भएका समझदारी पनि अनौपचारिक भएकाले लिखत उतारिएको छैन । वैचारिक विषयमा केही तल–माथि छ । राष्ट्रपतीय प्रणालीका विषयमा उहाँहरूको फरक मत छ । हामीले राष्ट्रपतीय प्रणालीमा जानुपर्छ भनिरहेका छौँ । मिलाउन सक्ने संकेत देखिएका छन् । एकताको विषय सकारात्मक रूपमा अगाडि बढेको छ ।