Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ श्रावण ६ सोमबार १३:०६:००
Read Time : > 1 मिनेट
प्रदेश

सवारी दुर्घटनामा एक वर्षमा एक सय चारको मृत्यु

Read Time : > 1 मिनेट
२०७६ श्रावण ६ सोमबार १३:०६:००

जिल्लामा सवारी दुर्घटनामा परी एक वर्षको अवधिमा एक सय चारजनाको मृत्यु भएको छ । दुर्घटना न्यूनीकरणका लागि केही प्रयास भए पनि अघिल्लो वर्षभन्दा सवारी दुर्घटना र मृत्यु हुने संख्या बढेको हो । 

आर्थिक वर्ष ०७५/७६ मा दुई सय ५१ सवारीसाधन दुर्घटना हुँदा एक सय चारजनाको मृत्यु भएको छ । सोही दुर्घटनामा दुई सय ३३ गम्भीर र एक सय ९० सामान्य घाइते भएका छन् ।  ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार एक वर्षको अवधिमा दुर्घटनामा ६७ पुरुष, १९ महिला, ७ बालक र २ बालिकाको मृत्यु भएको छ । 

दुर्घटनामा २२ जना चालक तथा ८२ जना सर्वसाधारण यात्रुको मृत्यु भएको ट्राफिकको दुर्घटना तथ्यांक शाखाका जवान लालबहादुर देउवाले बताए । दाङमा आर्थिक वर्ष ०७३/७४ मा एक सय ७२ सवारीसाधन दुर्घटना हुँदा ७७ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष ०७४/७५ मा दुई सय २४ वटा सवारी दुर्घटना हुँदा ७९ जनाको मृत्यु भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख मदनबहादुर कुँवरले भने विगतको भन्दा सवारी दुर्घटना न्यून भएको दाबी गरे । कात्तिक महिनायता भएका ठूला सवारी दुर्घटनामा परी धेरैको ज्यान गएकाले सवारी दुर्घटनाको तथ्यांक बढी देखिएको उनको दाबी छ ।

दुर्घटनाको मुख्य कारण तीव्र गति 
जिल्लामा दुर्घटना बढ्दै जानुको प्रमुख कारण सवारीसाधनको तीव्र गति भएको पाइएको छ । दैनिकजसो हुने दुर्घटनाको कारण तीव्र गति भएको प्रहरीको अनुसन्धानले देखाएको छ । तीव्र गतिका गाडीहरू अनियन्त्रित भएर ६७ वटा दुर्घटना भएका छन् । त्यसैगरी, चालकको लापरबाहीले १८, मादक पदार्थ सेवन गरी ५, यान्त्रिक गडबढीले ५, यात्रुको गल्ती र सडकको अवस्थाका कारण तीनवटा सवारीका साधन दुर्घटनामा परेको प्रहरीको भनाइ छ । ‘तीव्र गतिका कारण नै धेरैजसो दुर्घटना भएका छन्,’ ट्राफिक प्रमुख कुँवरले भने, ‘राजमार्ग र पक्की सडक भएका क्षेत्रमा धेरै दुर्घटना भएका छन् । मुख्यरूपमा सवारीचालकहरूले दुर्घटना न्यूनीकरणका लागि ध्यान पुर्‍याउनुपर्ने देखिन्छ ।’ 

आपसी समन्वयको अभाव 
ट्राफिक नियमको पालना नगर्ने, चालककको लापरबाही, साँघुरो सडकलगायतका कारणले गर्दा दुर्घटना बढिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख कुँवरले बताए । यातायात क्षेत्रमा क्रियाशील सरकारी निकायबीच आपसी समन्वय नहुँदा पनि दुर्घटना बढ्दै गएका हुन् । ट्राफिक प्रमुख कुँवरले यातायात कार्यालय, जिल्ला प्रशासन कार्यालय, सडक विभागले जिम्मेवारी अनुसारको सहयोग नगर्दा सवारी दुर्घटना न्यूनीकरणमा सफलता प्राप्त गर्न नसकिएको बताए । ‘यातायातका क्षेत्रमा काम गर्ने निकायबाट सहयोग नहुँदा पनि हामीले गर्नुपर्ने जति काम गर्न सकेका छैनौँ,’ कुँवरले भने ‘ट्राफिक प्रहरी मात्र सडकमा पुगेर हुँदैन । यातायात र सडक विभागले पनि आफ्नो जिम्मेवारी पूरा गर्न आवश्यक छ ।’ 

प्रहरीको विशेष कार्ययोजना 
दाङमा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले विशेष कार्ययोजना बनाएर काम गरिरहेको छ । सवारी चेकजाँचमा कडाइ, सवारीचालकलाई सचेतना र नियमित स्वास्थ्य जाँचजस्ता कार्यक्रमबाट दुर्घटना न्यूनीकरण गर्ने प्रयास भएको छ । प्रमुख कुँवरका अनुसार जिल्लाका विभिन्न स्थानमा सवारी दुर्घटना रोक्नका लागि सचेतनामूलक होर्डिङ बोर्डहरू राखिएको छ । ‘हामीले आफ्नो तर्फबाट सकिने जति प्रयास गरेका छौँ,’ प्रमुख कुँवरले भने, ‘तर, सम्बन्धित अन्य निकायले सहयोग गरेका छैनन् । यायायात विभागले कहिल्यै सवारी चेक गर्दैन । सडक विभागले सडकको मर्मत सम्भार गर्दैन ।’ प्रहरीको प्रयासले मात्रै दुर्घटना न्यूनीकरणको प्रयास सफल नहुने उनले बताए ।