मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका कोलम्बा
२०७६ श्रावण ६ सोमबार ११:५५:००
Read Time : > 1 मिनेट
खेलकुद

अम्पायर धर्मसेनाले स्विकारे गल्ती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका कोलम्बा
२०७६ श्रावण ६ सोमबार ११:५५:००

गत आइतबार १२औँ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल खेल सञ्चालन गरेका आइसिसीका श्रीलंकाली अम्पायर कुमार धर्मसेनाले आफूबाट गल्ती भएको स्वीकार गरेका छन् । आइसिसीका पूर्वअम्पायर र प्राविधिकहरूले समेत फिल्ड अम्पायर धर्मसेनाबाट फाइनलमा गल्ती भएको भनी आलोचना गरिरहेका छन् । स्वदेश फर्कंदै कोलम्बोमा आयोजित पत्रकार सम्मेलनमा अम्पायर धर्मसेनाले भने, ‘वास्तवमा त्यो गल्ती नै थियो ।’ उनले आइसिसीलाई बुझाएको रिपोर्टमा पनि ‘गल्ती’ शब्द प्रयोग गरेका छन् । 

अम्पायरलाई टेलिभिजन रिप्लेको सुविधा छैन
पाँचपटक आइसिसीकै उत्कृष्ट अम्पायर घोषित सइमन टाउफेलले सुरुमै धर्मसेनाले गल्ती गरेको र ओभर थ्रोमा ६ रन नभएको भनी विरोध जनाएका थिए । फिल्डरले बल थ्रो गर्नेवेलामा ब्याट्सम्यानले दुवै ब्याट्सम्यान पिचमा क्रस भएको अवस्थामा मात्र ओभर थ्रोमा उक्त रन पाउने टाउफेलको भनाइ थियो । न्युजिल्यान्डका मार्टिन गुप्टिलले बल थ्रो गर्दा इंग्लिस ब्याट्सम्यान बेन स्टोक्सको ब्याटमा लागेर बाउन्ड्री भएको थियो । जसलाई धर्मसेनाले ६ ओभर थ्रो रन दिए । त्यसवेला स्टोक्सले दुई रन लिएका थिए । तर, ओभर थ्रो हुनुअघि फिल्डरले बल बाल्दा इंग्लिस ब्याट्सम्यानले दोस्रो रनका लागि प्रयास गर्दा पिच क्रस गरिसकेका थिएनन् । श्रीलंकाली पूर्वटेस्ट खेलाडीसमेत रहेका अम्पायर धर्मसेनाले आफूले ब्याट्सम्यान क्रस भए–नभएबारे त्यसवेला यकिन गर्न नसकेको जनाएका छन् । यसका साथै आफ्ना लागि टेलिभिजन रिप्लेको व्यवस्थासमेत नभएको उनले बताए । 

ओभर थ्रो हुँदा ब्याट्सम्यानले पिच क्रस गरे वा नगरेको देख्न सकिनँ । मसँग टेलिभिजन रिप्लेको सुविधासमेत थिएन, तत्काल जे देखेँ, त्यही निर्णय दिएँ । रिप्ले हेर्दा गलत निर्णय दिएको थाहा पाएँ । तर, निर्णयमा पछुतो गर्दिनँ, किनभने अवस्थाअनुसारै निर्णय गरेको हुँ : अम्पायर धर्मसेना

निर्णयमा गल्ती
अम्पायर धर्मसेनाले भारतीय मिडिया टाइम्स अफ इन्डियासँग कुराकानी गर्दै भने, ‘म स्वीकार गर्छु, फाइनलमा मबाट गलत निर्णय भयोे, मैले टेलिभिजनमा हेरेपछि त्यो कुरा थाहा पाएँ ।’ दक्षिण अफ्रिकाका मोरिस इराएमुसले लेग अम्पायरको भूमिमा निर्वाह गरेका थिए । ‘फिल्डमा हाम्रा लागि ठूलो स्क्रिन थिएन, जहाँ निर्णय हेर्न सकियोस्,’ धर्मसेनाले भने, ‘मलाई आफ्नो निर्णयमा पछुतो छैन, किनभने मेरो आँखाले जे देखेको थियो, त्यही नै निर्णय गरेँ ।’  धर्मसेनाले निर्णय सुनाउँदा लेगअम्पायर मोरिससँगसमेत छलफल गरेनन् ।  ‘मेरै अगाडि बल ब्याटमा लागेर गएको देखेँ र त्यो बल बाउन्ड्रीमा परिणत भयो,’ उनले भने, ‘त्यसवेला गल्तीजस्तो लागेन र मैले लेग अम्पायर साथीसँग पनि छलफल गर्न उचित मानिनँ ।’ ओभर समाप्तिपछि लेग अम्पायर मोरिससँग कुराकानी गर्दा मात्र अनावश्यक रूपमा ओभर थ्रोमा ६ रन दिएको धर्मसेनाले थाहा पाए । ‘सुपर ओभरमा जानुअघि टेलिभिजन रिप्लेमा मात्र मैले गलत निर्णय दिएको थाहा पाएँ,’ धर्मसेना भन्छन् । 

दुईपटक टाई
फाइनल खेलको निर्धारित ५० ओभरमा न्युजिल्यान्ड र इंग्ल्यान्डले समान दुई सय ४१ रन जोडे । पछि सुपर ओभरमा पनि दुवै टोलीले १५ रन नै बनाउँदा खेल दोस्रोपटक टाई भयो । सर्वाधिक बाउन्ड्रीका आधारमा इंग्ल्यान्डले ट्रफी उचाल्यो । 

यता अस्ट्रेलियन अम्पयार टाउफेलले विश्वकपको फाइनलजस्तो खेल सञ्चालन गरेका अम्पायरले सही निर्णय नदिएको बताएका छन् । ‘म अहिले पनि भन्छु, धर्मसेनाले करिअरकै ठूलो गलत निर्णय लड्र्स मैदानको सम्पन्न फाइनलमा दिन पुगे,’ टाउफेलले भने ।