Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस
२०७५ पौष १९ बिहीबार १४:१४:००
Read Time : > 1 मिनेट
खेलकुद

क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको तलब पाउने

Read Time : > 1 मिनेट
रासस
२०७५ पौष १९ बिहीबार १४:१४:००

राष्ट्रिय खेलकूद परिषद् (राखेप)को विशेष पहलमा विगत दुई वर्षदेखि रोकिएको पारिश्रमिक नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले पाउने भएका छन् । 

साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर नेपाल क्रिकेट संघमा देखिएको (क्यान) विवादले उग्ररुप लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । 

त्यसपछि क्रिकेट खेलाडीले पाउँदै आएको पारिश्रमिक रोकिएको थियो । राखेपका सदस्य सचिव केशवकुमार विष्टले परिषदको पहलमा आइसिसीले राखेपमार्फत दुई वर्ष (सन् २०१७ र २०१८)को खेलाडीले वर्गीकरणअनुसार पाउने तलब उपलब्ध गराउने सहमति भएको बताए । 

‘हामीले आइसिसीसँग पहल ग¥यौँ, ऊ पनि पैसा दिन सहमत भयो, अहिले हामीले खेलाडीसँग सम्झौता गरेर आइसिसीमा पठाएका छौँ, वर्गीकरणभित्र परेका खेलाडीले केही साताभित्र तलब बापतको पैसा पाउनेछन्’, उनले भने । 

विसं २०७३ वैशाखमा क्यान निलम्बन भएपछि अहिलेसम्म नेपाली खेलाडीले अभिभावक बिनै ठूला प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् । साथै नेपाली क्रिकेटको सबै व्यवस्थापकीय पक्ष आइसिसीले नै हेर्दै आएको छ । 

तलबका विषयमा आइसिसीले राष्ट्रिय खेलकूद परिषद्को सहकार्यमा तलब दिन लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमन सिवाकोटीले राससलाई जानकारी दिए । 

खेलाडी तथा परिषद्को आग्रहपछि आइसिसी तलब दिनका लागि राजी भएको हो । यसका लागि आइसिसीले तलब दिने खेलाडीलाई ए, बी र सी गरी तीन तहमा वर्गीकरणसमेत गरेको छ । ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक ३५ रुपैयाँ, ‘बी’ श्रेणीका खेलाडीले मासिक २५ रुपैयाँ र सी श्रेणीका खेलाडीले मासिक १५ हजार रुपैयाँका दरले पछिल्लो दुई वर्षको तलब पाउनेछन् । 

त्यसमध्ये ‘ए’ श्रेणीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषवाकर, वसन्त रेग्मी, सोमपाल कामी, र दीपेन्द्रसिंह ऐरी रहेका छन् । श्रेणी ‘बी’ मा रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार शाह र शक्ति गौचन रहेका छन् । श्रेणी ‘सी’ मा सुशन भारी, किशोर महतो, सुवास खकुरेल, सागर पुन, दिलीपनाथ, सुनील धमला र विनोद भण्डारी रहेका छन् । 

‘ए’ श्रेणीका खेलाडीले पछिल्लो दुई वर्षको एकमुष्ट ८ लाख ४० हजार रुपैयाँ, ‘बी’ श्रेणीका खेलाडीले ६ लाख रुपैयाँ र ‘सी’ श्रेणीका खेलाडीले तीन लाख ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

आइसिसीको निलम्बनमा पर्नु अघि क्यानले खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ तीन श्रेणीमा वर्गीकरण गरी सम्झौता गरेर सन् २०१५ को जनवरीदेखि मासिक तलब दिन सुरु गरेको थियो । तर, क्यानले भने निलम्बनमा परेसँगै खेलाडीको तलबसमेत रोकेको थियो ।