मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ४ शनिबार २१:१५:००
Read Time : < 1 मिनेट
साहित्य

महाभारतको विवादास्पद पात्र ‘शकुनी’बारे उपन्यास सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ४ शनिबार २१:१५:००

महाभारतको विवादास्पद पात्रलाई लिएर राजेन्द्र थापाले लेखेका उपन्यास ‘शकुनी’ सार्वजनिक गरेका छन् । उनले सर्वनाम थिएटरमा सम्पन्न कार्यक्रममा उपस्थित लेखक तथा पाठकले दशर्कदीर्घाबाटै उपन्यास सार्वजनिक गरेका हुन् ।

फरक शैलीले आयोजना गरिएको कार्यक्रममा कुनै विशेष मञ्च र अतिथि थिएनन् । उपन्यासलाई मात्र मञ्चमा राखेर विमोचन गरिएको थियो । विमोचनपछि उपन्यासबारे शरच्चन्द्र वस्ती र राजकुमार बानियाँले टिप्पणी गरे । 

भाषाविद् शरच्चन्द्र वस्तीले शकुनी उपन्यासको जटिल परिक्षामा राजेन्द्र थापा उत्तीर्ण भएको बताए । ‘शकुनीका माध्यमबाट वर्तमान युगको चित्रण गर्न सफल उपन्यासले नयाँ प्रश्नहरू जन्म गराएको छ,’ वस्तीले भने । अर्का वक्ता पत्रकार तथा लेखक बानियाँले शकुनी आख्यानात्मक तवरमा लेखिए पनि गैरआख्यानको स्वाद पाइने बताए । आत्मपरक शैलीमा लेखिएको उपन्यासले विवाद सृजना गर्ने आधारहरू छोडेको उनको भनाइ छ ।  ‘शकुनी पढेर पाठकले आफैँ निष्कर्ष निकाल्न सक्ने ठाउँ रहेको छ’, उनले भने । 

लेखक थापाले भने सीमान्तकृत विजित पात्रको आँखाबाट उपन्यास लेख्न खोजेकाले आजको समाज र सामाजिक मुद्दालाई शकुनीले उठान गरेको दाबी गरे । दक्षिण एसियामा नै शकुनीको चरित्रलाई बुनेर आख्यान नलेखिएको स्थितिमा आफूले सिङ्गो उपन्यास लेख्न साहस गरेको उनले बताए । यसअघि ‘खेलौना’ र ‘द्रौपदी’ उपन्यास प्रकाशित गरिसकेका थापाको यो तेस्रो उपन्यास हो । गीत र मुक्तकमा विशेष ख्याति कमाएका थापाको ‘फिर्ता चाहियो’ कथासंग्रह प्रकाशित छ । शकुनी 'इन्डिगो इन्क'ले प्रकाशन गरेको हो । उपन्यासको मूल्य ४ सय ४९ रूपैयाँ राखिएकाे छ ।