१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ श्रावण ४ शनिबार १९:३१:००
Read Time : < 1 मिनेट
समाचार

लोकसेवा आयोगविरुद्ध लाहानमा प्रदर्शन, प्रहरीसँग घम्साघम्सी

Read Time : < 1 मिनेट
२०७६ श्रावण ४ शनिबार १९:३१:००

समावेशी समानुपातिक आधारमा ४५ प्रतिशत आरक्षण व्यवस्थाको उल्लङ्घन गर्दै लोकसेवा आयोगले विज्ञापन प्रकाशित गरी परीक्षा लिएको विरोधमा शनिबार सिरहाको लहानमा प्रदर्शन भएको छ । आरक्षण बचाउ आन्दोलन संयोजन समिति सिरहाको आयोजनामा लहानको शहीद चोकमा गरिएको प्रदर्शनमा प्रहरीसँग करिब एक घण्टा घम्साघम्सी भयो । 

संयोजन समितिका संयोजक रामरिझन यादवको नेतृत्वमा भएको प्रदर्शनमा विभेदकारी विज्ञापन खारेज गर्न माग गर्दै नाराबाजी भएको थियो । प्रदर्शनकारीहरुले ब्यानरसहित बजार परिक्रमा गर्ने गर्न खोजे पनि उनीहरुलाई घेरा हालेर बसेको प्रहरीले शहीद चोकबाट अगाडि बढ्न दिएन । त्यस क्रममा सामान्य घम्साघम्सी भएको थियो ।

महोत्तरीको जलेश्वरस्थित आयोगको प्रदेश कार्यालयअन्तर्गत स्थानीय तह चौथो र पाँचौँ तहका लागि शनिबार बिहान ८ र १२ बजे लहानका विभिन्न ५७ वटा केन्द्रमा परीक्षा संचालन भइरहेका बेला प्रदर्शन गरिएको हो । संयोजक यादवले संविधान विपरित आयोगले विभिन्न पदका लागि प्रकाशित गरेको विज्ञापनको प्रदर्शन गरिएको बताए ।

‘आयोगको विज्ञापन विभेदकारी हुनुका साथै असंवैधानिक र मधेसी, आदिवासी, जनजाति, दलित, मुस्लिम, पिछडा वर्ग, महिला तथा अपाङ्गता विरोधी भएकाले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हौँ,’ उनले भने, ‘आयोगको गैरसंवैधानिक विज्ञापन खारेज नभएसम्म विरोध गरिरहन्छौँ ।’ 

परीक्षा बिथोल्न नदिन लहानको शहीद चोक, रघुनाथपुर, नयाँ बजार, ग्रामीण चोक, पुरानो बजार लगायतका ठाउँहरुमा बिहानैदेखि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।