मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ श्रावण ४ शनिबार ०७:५८:००
Read Time : > 4 मिनेट
मुख्य समाचार

एक हजार भ्रष्टाचारको विस्तृत अनुसन्धान गर्दै अख्तियार

Read Time : > 4 मिनेट
२०७६ श्रावण ४ शनिबार ०७:५८:००

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी करिब एक हजार उजुरीमाथि विस्तृत अनुसन्धान भइरहेको जनाएको छ । प्रारम्भिक छानबिनमा अनियमितता देखिएपछि मात्र आयोगले कुनै पनि उजुरीउपर विस्तृत अनुसन्धानको निर्णय गर्छ । गत वर्ष आयोगमा परेका २४ हजार ४८ उजुरीमध्ये नौ सय २१ उजुरी केलाएर विस्तृत अनुसन्धानमा लगिएको थियो । त्यसमध्ये कतिपय मुद्दा दायर भइसकेका छन् । अघिल्लो आर्थिक वर्ष र नयाँ आर्थिक वर्षका समेत गरेर करिब एक हजार उजुरीमाथि सूक्ष्म अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । 

विकास आयोजनामा भएका अनियमिततादेखि गैरकानुनी सम्पत्ति आर्जन तथा नक्कली शैक्षिक प्रमाणपत्रसम्मका उजुरीमा आयोगले विस्तृत अनुसन्धान गरिरहेको छ । आयोगले अनुसन्धान गरिरहेका ठूला मुद्दामा बालुवाटारको जग्गा हिनामिना, नेपाल वायुसेवा निगमको वाइडबडी खरिद, हायात होटेलको अनियमिततालगायत छन् । केही नेताहरूकको सम्पत्ति छानबिनसमेत विस्तृत अनुसन्धानमा रहेको स्रोत बताउँछ । 

अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै दोब्बर उजुरीलाई आयोगले विस्तृत अनुसन्धानमा लगेको हो । अघिल्लो आर्थिक वर्षमा पाँच सय चार उजुरी विस्तृत अनुसन्धानमा लगिएको थियो । विस्तृत अनुसन्धान गरिएपछि आयोगले मुद्दा दायर वा तामेलीमा राख्ने गर्छ । विस्तृत अनुसन्धान गरिएपछि धेरैजसो मुद्दा दायर हुने गरेको छ । विगतको तुलनामा अनुसन्धान र मुद्दा दायर दुवै बढेको प्रवक्ता कोइरालाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए । 

एक हजार पाँच सयदेखि दुई अर्बसम्म 
आयोगले एक हजार पाँच सयदेखि दुई अर्बभन्दा धेरै बिगोका मुद्दासमेत दायर गरेको थियो । इलाका प्रशासन कार्यालय सिमराका खरिदारलाई एक हजार पाँच सय घुससहित पक्राउ गरेर आयोगले मुद्दा दायर गरेको थियो । त्यस्तै, सबैभन्दा धेरै बिगो भएको मुद्दामा सिक्टा सिँचाइ आयोजनाको हो, जसमा दुई अर्ब १६ करोड १७ लाख ३५ हजार सात सय ९३ रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरेको थियो ।

आयोगले दायर गरेका अन्य ठूला मुद्दामा समाजकल्याण परिषद्को भृकुटीमण्डपस्थित जग्गा भाडासम्बन्धी हो । जसमा ३१ करोड बिगो दाबीसहित पूर्वमन्त्रीद्वय बद्रीप्रसाद न्यौपाने र टेकबहादुर गुरुङसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । त्यस्तै, सांसद हरिनारायणप्रसाद साह रौनियारविरुद्ध १९ करोड बिगो दाबी गरी मुद्दा दायर गरिएको थियो । 
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मालपोत कार्यालय चाबहिल, नेपालगन्ज, बारामा भएको अनियमिततामा समेत मुद्दा दायर भएको थियो । पोलिमर नोट छपाइमा भएको अनियमिततामा पूर्वगभर्नर तिलक रावलविरुद्ध ९१ लाख रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर भएको थियो । 

घुस लिनेमा प्रहरी र  स्थानीय तहका कर्मचारी धेरै 
गत आर्थिक वर्षमा रंगेहात घुससहित दुई सयजना पक्राउ परेका छन् । एक सय ४२ वटा स्टिङ अप्रेसनमा दुईजना विशिष्ट श्रेणीका कर्मचारीसहित दुई सयजनालाई आयोगले पक्राउ गरेको हो । रंगेहात पक्राउ पर्नेमा दुईजना सहसचिव, १० जना उपसचिव, ३२ जना उपसचिव, ४७ जना नासु, १५ जुनियर कर्मचारी र २४ जना कार्यालय सहयोगी वा सोसरहका छन् । रंगेहातअन्तर्गत अख्तियारले सबैभन्दा धेरै गृह प्रशासन र स्थानीय तहका छन् । दुई सयमध्ये ३३ जना प्रहरी छन् । त्यस्तै, ५३ जना इन्जिनियरसहितका प्राविधिक निजामती कर्मचारीहरू छन् । दुईजना शिक्षक, सातजना निर्वाचित तथा मनोनीत पदाधिकारी र ३२ जना बिचौलियालगायत छन् । 

एक वर्षमा २४ हजार उजुरी 
अख्तियारको सक्रियतासँगै उजुरी पनि बढेका छन् । गत वर्ष २४ हजार ४८ वटा उजुरी आयोगमा परेको प्रवक्ता कोइरालाले बताए । अघिल्लो वर्ष १९ हजार चार सय ८८ उजुरी परेका थिए । आयोगमा परेका उजुरीमध्ये ६५ प्रतिशत फस्र्याेट भएका छन् । उजुरीमध्ये नौ सय २१ वटा विस्तृत अनुसन्धानमा रहेको आयोगले जनाएको छ । उजुरीमध्ये सबैभन्दा धेरै स्थानीय तहसम्बन्धी रहेको प्रवक्ता कोइरालाले बताए । त्यस्तै, शिक्षा, भूमिसुधारसम्बन्धी उजुरी पनि धेरै रहेको आयोगले जनाएको छ । 

धेरै मुद्दामा जित 
भ्रष्टाचार मुद्दामा अदालतबाट समेत सफलता बढेको विवरण आयोगले सार्वजनिक गरेको छ । गत आर्थिक वर्षमा विशेष अदालतबाट भएका फैसलामध्ये ८८.५ प्रतिशत आयोगको दाबीसहित नै भएको छ । अघिल्लो वर्ष मुद्दामा सफलता ६७.८२ थियो । ‘धेरै ठूला मुद्दामा हाम्रो पक्षमा फैसला भएको छ,’ पत्रकार सम्मेलनमा आयोग प्रवक्ता कोइरालाले भने, ‘हामीले हारेका मुद्दामा पनि पुनरावेदन गरेका छौँ ।

अनुसन्धानमा कतै कमजोरी भएको रहेछ भने सुधार्ने काम भइरहेको छ ।’ अन्य केही कारणले पनि गत आर्थिक वर्ष अख्तियारका लागि विशेष रह्यो । आयोगको इतिहासमा पहिलोपटक आफ्नै पूर्वआयुक्तविरुद्ध मुद्दा दायर भयो । ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध आयोगले मुद्दा दायर गरेको थियो ।त्यस्तै, आफ्नै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातमाथि समेत छानबिन भइरहेको छ । बालुवाटारको सरकारी जग्गा व्यक्तिलाई दिइएको विषयमा उनीमाथि गत शुक्रबार मात्र आयोगले बयान लिएको थियो । 

मुद्दा दायरमा नयाँ रेकर्ड
एक वर्षमा सर्वाधिक मुद्दा दायर गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ रेकर्ड बनाएको छ । आर्थिक वर्ष ०७५/७६ मा आयोगले तीन सय ५१ वटा मुद्दा दायर गरेको हो । २९ वर्षको आयोगको इतिहासमा गत वर्ष सबैभन्दा धेरै मुद्दा दायर भएको प्रवक्ता कोइरालाले बताए । यसअघि आर्थिक वर्ष ०७१/७२ मा सर्वाधिक तीन सय तीनवटा मुद्दा दायर भएका थिए । त्यस्तै, आर्थिक वर्ष ०७४/७५ मा एक सय ९४ वटा मुद्दा दायर भएका थिए । रंगेहात घुससहित पक्राउसम्बन्धी मुद्दा धेरै दायर भएका छन् । एक सय ४७ घुससम्बन्धी, ८९ वटा नक्कली शैक्षिक प्रमाण, ३७ सार्वजनिक सम्पत्तिको हानिनोक्सानी, १२ गैरकानुनी सम्पत्ति आर्जन, ३३ गैरकानुनी लाभ, नौ राजस्व चुहावट र अन्य २४ वटा मुद्दाहरू दायर भएका छन् । 

अकुतमा  कर्मचारीविरुद्ध मात्र मुद्दा 
अकुत सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धान र मुद्दा दायर पनि बढेको छ । गत वर्ष आयोगले १२ वटा अकुत सम्पत्ति आर्जनका मुद्दा दायर गरेको थियो । मुद्दा दायर हुनेमा सबै कर्मचारी मात्र छन् । अकुत तथा गैरकानुनी सम्पत्ति आर्जनमा राजनीतिक नेतृत्वविरुद्ध मुद्दा दायर हुन सकेको छैन ।

  •   इलाका प्रशासन कार्यालय बर्दिबासमा कार्यरत नासु ललितकुमार झासँग एक करोड ५६ लाख ७९ हजार २६ रुपैयाँबराबरको अकुत सम्पत्ति भेटिएपछि आयोगले मुद्दा दायर गरेको थियो । अख्तियारकै पूर्वआयुक्त राजनारायण पाठकसँग मिलेर उनले भ्रष्टाचार गरेको खुलेको थियो ।    
  •    गत ९ असारमा कञ्चनपुर भन्सार कार्यालयका नायब सुब्बा रामप्रसाद भट्टराईविरुद्ध दुई करोड आठ हजार पाँच सय ४० रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको दाबीसहित आयोगले मुद्दा दायर गरेको थियो । अध्यागमनमा बसेर अकुत सम्पत्ति कमाएको अभियोगमा अधिकृत रमाकान्त अर्यालविरुद्ध गत १६ जेठमा मुद्दा दायर भएको थियो । दुई करोड ६ लाख ८९ हजार एक सय ११ रुपैयाँबराबरको सम्पत्ति जफतको माग गरी उनीविरुद्ध मुद्दा दायर भएको थियो ।
  •  भन्सारका नासु श्याम च्यामु श्रेष्ठसँग १४ करोड अकुत सम्पत्ति भेटिएको थियो । १४ करोड ६१ लाख २४ हजार चार सय ७८ रुपैयाँ बिगो दाबी गरी उनीविरुद्ध मुद्दा दायर भएको थियो । श्रेष्ठ विमानस्थलबाट हुने ३३ किलो सुन तस्करी मुद्दामा समेत जोडिएका कर्मचारी हुन् ।
  •    गत १९ कात्तिकमा आयोगले पूर्वसहायक वन अधिकृत विनोदकुमार सिंहविरुद्ध एक करोड ९१ लाख ६१ हजार ६ सय २५ रुपैयाँ बिगो दाबी गरेको थियो । सरकारी जागिर छाडेर राजनीतिमा लागेका उनी मधेसी दलनिकट ट्रेड युनियनका नेता भएका थिए । उनी राजपाका उपमहासचिव छन् । 
  •  यातायातका नासु सुरेश अधिकारीसँग पाँच करोड १० लाख ३३ हजार ६ सय २३ रुपैयाँ स्रोत नखुलेको सम्पत्ति भेटिएको छ । उनले राजस्व नै हिनामिना गरी सम्पत्ति कमाएका थिए । गत २३ वैशाखमा उनीविरुद्ध मुद्दा दायर भएको हो ।   
  •   गत २५ पुसमा वन तथा वातावरण मन्त्रालयमा कार्यरत सहसचिव चन्द्रमान श्रेष्ठको सम्पत्तिमध्ये एक करोड ३४ लाख पाँच सय ७६ रुपैयाँको स्रोत नखुलेपछि आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो । छानबिनका क्रममा उनीसँग तीन करोड ४४ लाख सात सय ७५ रुपैयाँबराबरको सम्पत्ति भेटिएको थियो । जसमध्ये एक करोड ३४ लाख रुपैयाँको स्रोत नखुलेको हो । 
  •   गत २१ असोजमा आयोगले सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, रूपन्देहीका कार्यालय प्रमुख (सिडिई) सुरेश ठाकुरविरुद्ध मुद्दा दायर गरेको थियो । स्रोत नखुलेको तीन करोड १८ लाख ७३ हजार सात सय २० रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर भएको थियो । उनले ६ वर्षकै अवधिमा सो रकम कमाएका थिए । १ माघ ०५९ मा मात्र उनी सरकारी जागिरमा जोडिएका थिए । 
  •   गत ८ चैतमा कर अधिकृत मानप्रसाद विकविरुद्ध मुद्दा दायर भएको थियो । उनीसँग एक करोड ८२ लाख रुपैयाँ अकुत सम्पत्ति भेटिएको थियो । 
  •  नेपाल विद्युत् प्राधिकरणका चुहावट नियन्त्रण महाशाखाका उपप्रबन्धक विजयकुमार चौधरीसँग दुई करोड १४ लाख ५८ हजार रुपैयाँ अकुत सम्पत्ति भेटिएको थियो । गत १८ माघमा श्रीमती प्रियंकासहित उनीविरुद्ध मुद्दा दायर भएको थियो । 
  •    आयोगले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध २३ पुसमा मुद्दा चलाएको थियो । १८ करोड ६६ लाख पाँच हजार ६ सय २९ रुपैयाँ बिगो दाबी गरी मुद्दा चलाएको थियो । गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा यो नै सबैभन्दा ठूलो बिगो भएको मुद्दा थियो । आयोगमा नेताहरूविरुद्ध समेत उजुरी पर्ने गर्छ । धेरै उजुरीहरू विस्तृत अनुसन्धानमै जाने गरेका छैनन् ।