मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रवि किरण हमाल काठमाडाैं
२०७६ श्रावण ३ शुक्रबार २१:००:००
Read Time : > 2 मिनेट
ब्लग

राष्ट्रवादभन्दा माथि उठौँ 

Read Time : > 2 मिनेट
रवि किरण हमाल काठमाडाैं
२०७६ श्रावण ३ शुक्रबार २१:००:००

दोस्रो विश्व युद्वपछि  संसारभरि उदारवाद हाबी भयो । सबैले विश्वव्यापी उदारवादलाई अंगिकार गर्दै अगाडि बढे । उदारवादसँगै मौलिक पहिचान, अस्तित्व र मूल्य मान्यतालाई स्वीकार गर्दै सम्मान गर्न सिकायो । सबै देशको सार्वभौम सत्ता र नागरिक बराबर रहेको स्वीकार गरेपछि धेरै मुलुकहरु विवादभन्दा बढी समझदारी गरी अगाडि बढिरहेका छन् ।

हाम्रा साझा मूल्य र मान्यताको रक्षा गर्दै आगामी दिनमा उत्पन्न हुने साझा मुद्दामा एक साथ काम गर्नु आवश्यक छ । हाम्रा विचारहरु बहस र छलफलले संसारका हरेक तवरबाट स्थान पाउनु पर्छ । उत्पादन भएका समानहरुको ओसारपसारले हामी सबैलाई जोड्न सक्छ । संसारका सबै देशमा बसाइसराई र भ्रमणलाई सजह बनाउन सकिए हामीबीचको खाडल कम हुन्छ । त्यसले हामीलाई साझा मुद्दामा सहकार्य गर्न सहज बनाउँछ । 

विश्वव्यापी उदारवादी व्यवस्थामा धेरै गल्ती र समस्याहरू देखिए पनि अन्य व्यवस्थाको तुलनामा उत्तम विकल्प स्थापना हुँदै आएको छ । उदारवादी व्यवस्थाकै कारण २१ औं शताब्दीमा विश्व समृद्धि र शान्तिपूर्ण छ । मानव इतिहासमा पहिलो पटक भोकमरीभन्दा मोटोपनका कारण धेरै मानिसहरुको मृत्यु भएको छ । अहिले मान्छेको औसत आयु बढेर ७१ वर्ष नाघेको छ । लगभग पाँच सयदेखि तीन सय ईसा पूर्वसम्मको ग्रीसेली स्वर्ण युगभन्दा अहिले मानव जाति धेरै राम्रो अवस्थामा छ । तर, उदारवादले हामीलाई सद्वभाव र सहकार्यको एउटै डोरीमा बाँधे पनि पछिल्लो समय यसप्रति विश्वास गुम्दै गएको छ । 

अमेरिका संसारकै ठूलो अर्थ व्यवस्था भएको मुलुक हो । तर, अझै चार दर्जनभन्दा बढी मुलुकहरु अति कम विकसितको सूचीमा छन् । कम विकसित मुलुकको आर्थिक विकासमा सहयोग गर्नु शक्ति राष्ट्रहरुको जिम्मेवारी हो । समानता कायम गर्न सकिएन भने अशान्ति र द्वन्द्वको खतरा उत्पन्न हुन सक्छ । जसको नतिजा सबै राष्ट्रहरुले प्रत्यक्ष वा अप्रत्यक्ष भोग्नै पर्छ । भारतमा भारतीय जनता पार्टी (भाजपा)को उदय, चीनमा सि जिङ पीलाई आजवन राष्ट्रपतिका लागि बाटो खुल्ला, रुसमा दुई दशकदेखि भ्लादमिर पुटिनको शासन जस्ता उदाहरणहरु उदारवादी व्यवस्थाविरुद्ध छन् । 

नेपालमा भारतको चर्को विरोध गरेर सत्तामा आएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अधिनायवादको शैलीमा सरकार संचालन गर्दै आएका छन् । विश्वव्यापी उदारवादी व्यवस्थाको विकल्प राष्ट्रवादलाई मान्न सकिन्न् । तर, यसको लहर आउन सक्छ । राष्ट्रवाद कुनै एउटा देशको संचालनमा मात्र सीमित हुन्छ । राष्ट्रवादलाई भक्ति भन्न पनि सकिन्छ । यो एक किसिमको विश्वास हो जसमा त्यस देशका लागि अरु मुलुक शत्रु बराबर हुन सक्छन् । अन्तर्राष्ट्रिय रूपमा सहकार्य र समन्वय गरी सामूहिक तवरमा बलियो बन्न राष्ट्रवादले अवरोध सिर्जना गर्छ । राष्ट्रवादले कुनै पनि देशका नागरिकलाई आफ्नो देशको पहिचान र संस्कृति अरुभन्दा माथि हुनुपर्छ भन्ने भावना पैदा गर्छ । 

सबै राष्ट्रहरुलाई साझा नियममा सहमत बनाउन सकिएन भने पर्खालहरु जतिसुकै बेला भत्किन सक्छन् । जतिसुकै बेला पनि युद्धको सुरुवात हुन सक्छ । उग्र राष्ट्रवादीले आफ्नो मुलुकलाई कुनै वैदेशिक सहयोगको आवश्यकता नपर्ने चरम स्थिति अपनाउन खोजिरहेका छन् । यो अन्धो राष्ट्रवादको नमुमा हो । उनीहरु  प्रत्येक राष्ट्रले आफ्नै रुचीको बारेमा मात्र हेरचाह गर्नुपर्छ र संसारको बाँकी कुनै पनि दायित्वबारे चासो राख्नु हँुदैन भन्ने मान्यता राख्छन् ।  

२१ औँ शताब्दीमा सबै राष्ट्रहरुलाई सहकार्य गर्न आधुनिक अर्थ व्यवस्थाले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । आधुनिक अर्थ व्यवस्थालाई जीवन्त राख्न  विश्व व्यापार नेटवर्क अनिवार्य सर्त हो । आधुनिक अर्थ व्यवस्थाले हामीलाई आत्म निर्भर नभई अन्तर निर्भर बनाएको छ । हामीले आफ्ना आवश्यकता परिपूर्ति गर्दै गर्दा अरुको आवश्यकताबारे हेर विचार पुर्याउनु पर्छ । 

केही हप्ता पहिले चीन–अमेरिका व्यापार युद्ध सतहमै देखियो जसले संसारकै अर्थ व्यवस्थालाई प्रभावित पारेको थियो । मानव जाति अहिले २१ औँ शताब्दीमा मुख्य तीन वटा साझा समस्यासँग जुधिरहेको छन् । जसले देशको सीमानाहरु नक्कली साबित भए । आणविक युद्ध, जलवायु परिवर्तन र प्रविधीबाट निम्तिने समस्याहरुको समाधनका लागि विश्वव्यापी सहकार्यको माध्यम निर्विकल्प हो ।

हामीले सीमानमा पर्खाल लगाउन सक्छौँ तर जलवायु परिवर्तन र  आणविक हतियारलाई पर्खालले रोक्न सक्दैन । एउटा राष्ट्रको इमानदार प्रयासले मात्र यस्ता समस्याको समाधान असम्भव छ । आणविक हतियार भण्डार भएको अमेरिका, चीन, रुस, इरान जस्ता मुलुकहरुले उत्तर कोरियालगायत अन्य देशहरुलाई आणविक हतियार नबनाउन आग्रह गर्नुभन्दा पहिला आफ्नो देशको आणविक भट्टीसँगै उत्पादन गरेका हतियार निष्क्रिय पार्नुपर्छ । राष्ट्रवादले कसरी परमाणु युद्धलाई रोक्न सक्छ ? जलवायु परिवर्तन रोक्न र विच्छेदनशील प्रविधीहरू विनियोजन गर्न सक्छ ? 

माथि उल्लेखित सबै समस्याहरूको सफलतापूर्वक सामना गर्न हामीलाई  विश्वव्यापी सहकार्य र सहयोगको आवश्यकता पर्छ । हाम्रा साझा पहिचान भनेकै  मानवतावाद र प्रकृतिवाद हुन् । यिनै साझा पहिचानले मान्छेलाई विशेष राष्ट्रप्रति मात्र नभई मानव जाति र सिंगो पृथ्वीप्रति वफादार हुन प्रोत्साहन गर्छ । राष्ट्रवादले विश्वव्यापी रुपमा साझा पहिचान सिर्जना गर्न बाधा पुर्याइरहेको छ । हामीले त्यसको घेराभन्दा माथि उठेर मानवतावादका पक्षमा उभिनु पर्छ ।