मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका धनगढी
२०७६ श्रावण ३ शुक्रबार १०:४७:००
Read Time : > 1 मिनेट
प्रदेश

विपन्न बादी समुदायलाई कमसल घर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका धनगढी
२०७६ श्रावण ३ शुक्रबार १०:४७:००

दुईमध्ये एक ढोकाको वाल सिमेन्टको ‘ब्लक’ लगाएर बन्द गरिएको छ । हावा र पानी छेक्न झ्यालमा प्लास्टिकका बोरा झुन्ड्याइएका छन् । इँटा र सिमेन्टको भित्ता भए पनि ‘प्लास्टर’ नगरिएको भुइँ माटोले पोतिएको छ । दुईवटा कोठाको डिजाइन रहेको घरमा भित्र एउटै हल छ ।

बर्दगोरिया गाउँपालिका–१, मुडा बजारकी जुना बादीको परिवारका लागि जनता आवास कार्यक्रमअन्तर्गत सरकारले बनाइदिएको घरको अवस्था यस्तो छ । घरको भित्र छिर्ने एउटा ढोका र हलजस्तै एउटा कोठा छ । सरकारले बनाइदिएका घरका झ्याल ढोका भने विपन्न परिवार आफैँले किनेर राखेका छन् । 

बरन्डासँगै जोडिएका अलगअलग ढोका भएको दुईकोठे घरको स्टिमेट भए पनि ढोका किन्न नसकेपछि एउटा टालेर एउटा मात्रै ढोका राखेको जुनाले बताइन् । ढोका र भित्र बीचमा वाल बनाउन नसक्दा उनको परिवारले पूरै घरलाई एउटै कोठाको रूपमा प्रयोग गर्छ । स्थानीय ५४ विपन्न वादी परिवारका लागि टिनले छाएका तथा इँटा र सिमेन्टले चुनाइ गरेका दुई कोठे घर सरकारले बनाइदिएको छ ।

सरकारले बनाइदिएका घरका झ्याल ढोका भने सबै विपन्न परिवारले आफैँ किनेर राखेका छन् । ‘बाँसका झ्याल ढोका राख्ने डिजाइन रहेछ । ती धेरै नटिक्ने भएकाले सबैले आफैँ किनेर झ्याल ढोका राख्यौँ,’ जानकुमारी वादीले भनिन्, ‘दुई कोठे घर हुन् तर ढोका राख्न नसक्दा पूरै घर एकै कोठाको छ ।’  

 कमसल इँटाका घर 
दुई वर्षअघि र त्यस पहिले बनाइएका यी घरहरूमा कमसल मानिने दुई नम्बर इँटा प्रयोग गरिएको छ । घरको भित्ता र भुइँ प्लास्टर गरिएको छैन । भुइँ माटोले लिपपोत गरेर बस्नयोग्य बनाइएको छ । कतिपयले आफ्नै पैसाले प्लास्टर गरेका छन् ।  स्थानीय बुँदे वादीले सरकारले घर दिने नाममा विपन्न बादीलाई ठगेको बताए । ‘लात्ती हान्दा भत्किने खालका घर बनाइएका छन् । झ्याल–ढोका पनि आफैँले किन्नुपरेको छ,’ गाउँ कार्यपालिका सदस्यसमेत रहेका उनले भने, ‘कमसल इँटा र कम सिमेन्ट हालेर चुनाइ गरिएका घर कति टिक्लान् ?’

छाप्रोमा बस्नुभन्दा अहिलेका घरमा बस्दा केही सहुलियत भने भएको स्थानीयको भनाइ छ । तुलनात्मक रूपमा अहिले सहज भए पनि घर भने नाम मात्रैका रहेका स्थानीय शान्ति वादीले बताइन् । ‘सरकारले राम्रै घर बनाउन बजेट दियो होला । कर्मचारी र गाउँका टाठाबाठा मिलेर खाए होलान्,’ उनले अनुमान गरिन् ।  

 न्यून लागतमा निर्माण
प्रतिघर दुई लाख १५ हजारको लागतमा दुई वर्षअघि मुडाका वादी समुदायका लागि ३० घर बनाइएका थिए । त्यसअघि बनाइएका बाँकी घरको लागत भने एक लाख ५४ हजार थियो । दुई वर्षअघि सरकारले घर बनाउँदा उपभोक्ता निर्माण समितिका अध्यक्ष रहेका गणेश नेपालीले डिजाइन नै बाँसका झ्याल ढोका राख्ने, प्लास्टर नगर्ने रहेको बताए । सरकारले घर निर्माणका लागि छुट्याएको बजेट निकै कम रहेकोले कमसल घर बनेका उनको भनाइ छ ।