Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ श्रावण २ बिहीबार ०६:२५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

साढे दुई अर्बको लगानीमा जिम र स्विमिङपुलसहित मन्त्रीनिवास बन्दै

भैँसेपाटीस्थित सैंबुको ९६ रोपनी जग्गामा ३३ भवन बनाउने तयारी, अवधि दुई वर्ष

Read Time : > 2 मिनेट
२०७६ श्रावण २ बिहीबार ०६:२५:००

मन्त्रीहरूको निवास

  • भुइँतला : लबी, मिटिङ हल, निजी कोठा, गार्ड कोठा, कर्मचारीका लागि सुत्ने कोठा र भान्साका सामान राख्ने कोठा
  • पहिलो तला : मन्त्री सुत्ने मुख्य कोठा, परिवारका सदस्य सुत्ने कोठा, बैठक कक्ष, भान्सा र डाइनिङ हल
  • दोस्रो तला : दुईवटा पाहुना कोठा, पूजा कोठा र लौन्ड्री

सरकारले मन्त्रीहरूका लागि जिम, स्विमिङपुलदेखि हेलिप्याडसम्म भएको सुविधासम्पन्न आवास बनाउँदै छ । संसद् भवन निर्माणका लागि छुट्याइएको ललितपुर महानगरपालिकाको भैँसेपाटीस्थित सैंबु आवास क्षेत्रमा साढे दुई अर्ब लागतमा ९६ रोपनी १० आना जग्गामा ३३ भवन बनाउन लागेको हो । यही आवास क्षेत्रभित्र राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखको पनि निवास रहनेछ । दुई वर्षभित्र निर्माण सक्ने तयारी छ । 

गत १७ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्री, राष्ट्रिय सभाका अध्यक्षसहित मन्त्रीहरूका लागि आवास निर्माण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सहरी विकास तथा भवन विभागले मन्त्रीका लागि २४, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष र उपसभामुखका लागि एक–एक भवन निर्माण गर्न लागेको छ । त्यस्तै, आवास क्षेत्रमा हेलिप्याड, हेल्थ क्लब, ग्रोसरी, कम्युनिटी हल, व्यवस्थापन कार्यालय, स्विमिङपुल र पार्किङ पनि हुनेछ ।

प्रत्येक भवन साढे दुई तलाका हुनेछन् । प्रत्येक निवासमा प्रवेशका लागि दुई प्रवेशद्वार बन्नेछन् । एउटा सार्वजनिक र अर्को निजी प्रयोजनका लागि प्रयोगमा आउने सहरी विकास तथा भवन विभागका विशेष भवन निर्माण संयोजक प्रक्रिर्ण तुलाधरले बताए । भवनहरू नेपाली परम्परागत शैलीमा बनाइनेछ । 

आवासका लागि छुट्याइएको कुल क्षेत्रफलमध्ये करिब १२ रोपनी भवनले मात्रै ओगट्नेछन् । ३८ रोपनी ८ आना ग्रिन एरियाका लागि छुट्याइएको छ । २१ रोपनी जमिन आवासभित्रको आन्तरिक सडकले ओगट्नेछ । ११ रोपनीमा हेल्थ क्लब बन्नेछ । कम्युनिटी हलका लागि सातआना छुट्याइएको छ । व्यवस्थापन कार्यालयका लागि तीनआना छुट्याइएको छ । त्यस्तै, साढे दुई रोपनीमा ग्रोसरी स्टोर बन्नेछ । बाँकी रहेको जग्गामा एक सय सवारीसाधन अटाउने पार्किङ बनाइनेछ । 

जिमहल, स्विमिङपुल र हेलिप्याङको सुविधा
आवासभित्र स्विमिङपुलदेखि हेलिप्याडसम्म निर्माण गरिनेछ । एउटा हेल्थ क्लब, कम्युनिटी हल, व्यवस्थापन कार्यालय, ग्रोसरी स्टोर, हेलिप्याड र स्विमिङपुल बनाइनेछ । आवास क्षेत्रभित्र तीन तहको सुरक्षा व्यवस्था हुनेछ । सुरक्षाका लागि थप तीन भवन बनाइनेछ । 

आवास दुई चरणमा निर्माण गरिनेछ । पहिलो चरणमा २७ वटा भवन, कम्पाउन्ड, सडक, ढल र भौतिक पूर्वाधार निर्माण गरिने तुलाधरले बताए । त्यस्तै, दोस्रो चरणमा हरियाली, सुरक्षा, कम्युनिटी हल, हेल्थ क्लब र स्विमिङपुल बनाइने उनले बताए । 

आवास क्षेत्रभित्रै हुनेछन् यी सुविधा पनि : कम्युनिटी हल, व्यवस्थापन कार्यालय, किराना पसल, पार्किङ, हेल्थ क्लब, हेलिप्याड र स्विमिङपुल

पुल्चोकमा विदेशी पाहुनाका लागि अतिथिगृह
सैंबुमा नयाँ आवास बनेर मन्त्रीहरूलाई सारेपछि हालको पुल्चोकस्थित मन्त्री आवास क्षेत्रमा उच्च तहका विदेशी प्रतिनिधिका लागि अतिथिगृह बनाइनेछ । अहिलेको संरचनालाई भत्काएर १० वटा सुविधासम्पन्न भवन बनाउने योजना विभागको छ । पुल्चोकमा हाल १९ मन्त्रीका निवास छन् । 

चालू आवमै टेन्डर, दुई वर्षभित्र तयार 
मणिराम गेलाल
महानिर्देशक, सहरी विकास तथा भवन निर्माण विभाग 

मन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र उपसभामुखको आवास निर्माणका लागि चालू आर्थिक वर्षभित्रै टेन्डर प्रक्रिया सक्ने हाम्रो तयारी छ । यसै वर्ष टेन्डर सकेर आगामी दुई वर्षभित्र आवास तयार गर्ने योजना छ । 

हालको आवास जीर्ण भएकाले नयाँ बनाउन लागिएको हो
मोहम्मद इस्तियाक राई
मन्त्री, सहरी विकास

गत मंसिरमै मन्त्रिपरिषद् बैठकले मन्त्री आवास निर्माण गर्ने निर्णय गरेको हो । त्यही निर्णयअनुसार विभागले प्रक्रिया अगाडि बढाएको हो । अहिलेको मन्त्री आवासको अवस्था निकै जीर्ण छ । सबै मन्त्रीका लागि भवन अपूर्ण पनि छन् । त्यसैले नयाँ आवास बनाउने निर्णय भएको हो ।