Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असार ३१ मंगलबार ०८:११:००
Read Time : > 1 मिनेट
खेलकुद

कछुवा गतिमा  १३औं सागको तयारी

Read Time : > 1 मिनेट
२०७६ असार ३१ मंगलबार ०८:११:००

आउँदो डिसेम्बरमा नेपालले १३औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता आयोजना गर्दै छ । यद्यपि, साग आउन केवल पाँच महिना मात्र बाँकी छ, तर आयोजक नेपालले सागको तयारी चुस्त पार्न सकेको छैन । प्रतियोगिताकै मुख्य रंगशालाका रूपमा रहेको दशरथ रंगशाला अझसम्म तयार भइसकेको छैन । यसको पुनर्निर्माण कार्य भइरहेकै छ । यसका साथै विभिन्न खेलका भौतिक निर्माण कार्यसमेत पूरा नभएको अवस्था छ । यस्तोमा नेपालले साग सफलतापूर्वक कसरी गर्न सक्छ भन्ने चिन्ता सबैको छ । यसैबीच, खेलकुदमन्त्री जगतबहादुर सुनारले १३औँ साग सफल बनाउन सबै प्रयास हुनुपर्ने बताएका छन् ।

नेपालबाट सुरु
तेस्रोपटकको मितिमा मात्र १३औँ साग निश्चित भयो । सागको अन्तिम मिति सार्वजनिक नहुँदै राष्ट्रिय खेलकुद परिषद्ले साग सचिवालय गठन गरेको थियो । यही सचिवालयले सागका सबै तयारीबारे रिपोर्टिङ गर्छ । सचिवालयले नै सागलाई मध्यनजर राखी सोमबार प्रतियोगितामा सहभागी हुने सबै खेलका संघसँग तयारीबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । सोही कार्यक्रममा मन्त्री सुनारले नेपालबाट सुरु भएको सागको प्रतिष्ठा रक्षा गर्न सबैले सहयोग र तयारी गर्नुपर्ने बताएका हुन् । ‘नेपालबाटै सुरु भएको सागको गर्बिलो इतिहास छ । यसलाई कायम राख्न हामी सबै प्रयासरत हुनु जरुरी छ,’ चिन्ता जनाउँदै मन्त्री सुनारले भने । 

वैदेशिक प्रशिक्षणको माग
अन्तरक्रिया कार्यक्रममा सहभागी २७ संघमध्ये पदक सम्भावित संघका पदाधिकारीले आफ्ना खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउन माग राखेका छन् । कराते, जुडो, तेक्वान्दो, उसु, बक्सिङ र एथलेटिक्स पदकको आशा गरिएका खेलका रूपमा छन् । सहभागीमध्ये कराते, जुडो र खोखो संघका पदाधिकारीले अन्तरक्रियामा आफ्ना खेलाडीलाई वैदेशिक प्रशिक्षणको खाँचो रहेको धारणा राखका छन् । उनीहरूले प्रशिक्षणस्थल, खेल सामग्री, स्वदेशमै विदेशी प्रशिक्षक झिकाएर खेलाडीलाई प्रशिक्षण गराउनुपर्नेलगायत माग र सुझाब राखेका छन् ।

१३औँ साग आउन पाँच महिना बाँकी रहँदा पनि आयोजक नेपालको तयारी चुस्त नहुँदा सम्बन्धित निकायका पदाधिकारीको चिन्ता

हिटिङ पौडीपोखरी चुनौती
सहभागी हुने खेलका खेलाडीले पदक जित्नका लागि कडा मिहिनेत गर्छन् । यसमध्ये व्यक्तिगत तथा प्रतियोगिताकै रेकर्ड बन्ने खेलका रूपमा पौडी छ । नेपालमा अन्तर्राष्ट्रियस्तरको पौडीपोखरी भए पनि यसमा हिटिङ पौडीपोखरीको उपभोग खेलाडीले गर्न पाएका छैनन् । काठमाडौं उपत्यकामा निजी होटेल र क्लबमा मात्र हिटिङ पौडीको व्यवस्था छ । जाडो मौसममा हुने सागमा पौडीका खेलाडीलाई अभ्यास गर्न चिसो पानीमा समस्या पर्न सक्छ । त्यसैलाई मध्यनजर गर्दै आयोजक नेपालले सातदोबाटोपरिसरमा रहेको पौडी पोखरीमा हिटिङ प्रविधि जडानको तयारी गरिरहेको छ । सन् १९९९ मा आठौँ साग आयोजनाका क्रममा यो पोखरी चीन सरकारले बनाएको थियो । अहिले पनि चीन सरकारको सहयोगमै हिटिङ पौडीपोखरी निर्माणाधीन अवस्थामा छ । यसको निर्माण सागअघि नै सकिने छाँटकाँट देखिँदैन । अन्तरक्रिया कार्यक्रममा मन्त्री सुनारले सागको मुख्य चुनौतीका रूपमा हिटिङ पौडीपोखरी नै भएको बताएका छन् । ‘हाम्रो मुख्य चुनौती नै हिटिङ पोखरी हो,’ मन्त्री सुनारले भने, ‘पूरै सामथ्र्य प्रयोग गरेर काम सम्पन्न गर्छौं ।’ 

एकजुट हुनुपर्ने 
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले साग सफल बनाउनु सबै नेपालीको दायित्व र जिम्मेवारी भएको बताए । यसैगरी, परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले मुलुककै प्रतिष्ठासंँग जोडिएको सागलाई भव्य पार्न सबै एकजुट हुनुपर्ने बताए । सदस्य–सचिव रमेशकुमार सिलवालले प्राप्त सुझाबलाई कार्यान्वयन गर्नेतर्फ केन्द्रित हुने बताउँदै सागलाई परिणाममुखी बनाउन प्रयासरत रहने बताए । उनले प्रत्येक खेलको निरीक्षण गर्ने बताए । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले आफ्नो विभागमातहतका खेल पूर्वाधारको आवश्यक परेमा सहयोग गर्न तयार रहेको जानकारी दिए । सागमा सहभागी हुने टोलीको सुरक्षाका विषयमा कुनै कसर बाँकी नराख्ने उनले प्रतिबद्धता जनाए ।