१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
कमल देवकोटा काठमाडाैं
२०७६ असार ३१ मंगलबार ०७:४८:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

सर्प बचाऔँ प्रकृति जोगाऔँ

सर्पले पनि पृथ्वीमा मानिसको जत्तिकै महत्व बोकेको हुन्छ, किनभने सर्प पनि पारिस्थितिक पद्धतिको एउटा अंग हो

Read Time : > 3 मिनेट
कमल देवकोटा काठमाडाैं
२०७६ असार ३१ मंगलबार ०७:४८:००

सामान्यतया सर्प भन्नेबित्तिकै सबैको सातो जान्छ, चाहे त्यो विषालु होस् वा विषरहित । अझ कतिपय मानिस त आफ्नो वरपर सर्प देख्नेबित्तिकै मार्न तम्सिहाल्छन् । सर्प, सर्पको टोकाइ र सर्प संरक्षणसम्बन्धी उचित जानकारी नहुँदा यस्ता घटना हुने गर्छन् । मानव र सर्पबीचको द्वन्द्व न्यूनीकरण गरी सर्प संरक्षण गर्ने उद्देश्यका साथ जुलाई १६ मा विश्व सर्प दिवस मनाउने गरिन्छ । 

अन्टार्टिकाबाहेक हरेक महादेशमा सर्प पाइन्छ । सर्पको लम्बाइ केही इन्चदेखि करिब ३२ फिट लामो अजिंगरसम्म हुन्छ । विश्वभर झन्डै तीन हजार पाँच सयभन्दा बढी प्रजातिका सर्प पाइन्छन् । जसमध्ये ६ सय प्रजातिका सर्प मात्र विषालु हुन्छन् । नेपालमा विभिन्न अनुसन्धानबाट झन्डै ७९ देखि ८२ प्रजातिका सर्प पाइन्छन् भन्ने देखिएको छ । जसमध्ये अहिलेसम्म चिकित्सकीय महत्वका  हिसाबले करिब १८ प्रजातिका विषालु सर्प पत्ता लागेको छ । नेपालमा तराईदेखि हिमालसम्म सर्प पाइन्छन् । 

नेपालका विषालु सर्प इलापिडी, भाइपिरिडी र कोलुब्रिडी परिवारअन्तर्गत पर्छन् । इलापिडी परिवारअन्तर्गत पनि धेरै विषालु सर्प जस्तै, गोमन, करेत र कोरल सर्प पर्छन् । यिनमा न्युरोटक्सिन भेनोम हुन्छ । राजगोमन (किङ कोब्रा) विश्वकै सबैभन्दा लामो विषालु सर्प हो । यो नेपालमा पनि पाइन्छ । भाइपिरिडी परिवारअन्तर्गत बाघे सर्प (रसेल्स भाइपर) र पिट भाइपर सर्प पर्छन् । यिनमा हेमोटक्सिन भेनोम हुन्छ । कोलुब्रिडीअन्तर्गत नेपालमा रेब्डोफिस प्रजातिको सर्प मात्र विषालु पाइएको छ । नेपालका सबैजसो अविषालु सर्प टिफ्लोपिडी, बोएडिर पाइथोनिडी र कोलुब्रिडी परिवारअन्तर्गत पर्छन् । नेपालमा पाइने सबैभन्दा लामो अविषालु सर्प अजिंगर (पाइथोन) हो ।

 विश्व स्वास्थ्य संगठनले सन् १९८७ मा सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा बर्सेनि २० हजार मानिस सर्पदंशबाट प्रभावित हुन्छन् । यसमध्ये करिब एक हजारजनाले ज्यान गुमाउने गरेका छन् । नेपालका झन्डै २६ जिल्ला सर्पदंशबाट धेरै नै प्रभावित छन् । नेपालको तराई क्षेत्रमा सर्पदंश अर्थात् सर्पको टोकाइ डरलाग्दो समस्या हो । नेपालका सबै ठाउँमा सर्पदंशबाट प्रभावित र ज्यान गुमाउने मानिस अझ धेरै हुने अनुमान गरिएको छ । किनकि, कतिपय बिरामीले अस्पताल नपुगी झारफुक गर्ने हुँदा त्यसको वास्तविक तथ्यांक हालसम्म पनि अधुरै छ ।

नेपालमा सर्पदंशको औषधि नबन्ने र हरेक वर्ष भारतबाट खरिद गर्नुपर्ने हुनाले प्रत्येक वर्ष नेपालका अस्पतालमा औषधि अपुग हुने गर्छ । नेपालमै प्रशस्त मात्रामा औषधि उत्पादन गर्न सके र समयमै बिरामीलाई अस्पताल पु-याउन सके सर्पदंशबाट धेरैले ज्यान गुमाउनुपर्दैन । तर, सर्प, सर्पदंश र सर्प संरक्षणसम्बन्धी जनचेतनाको कमीका कारण मानिस र सर्पबीचको द्वन्द्व बढ्न गई दुवैले अकालमा ज्यान गुमाउनुपरेको छ । 

सर्पको अध्ययन–अनुसन्धानमा सक्रिय नेपाल टक्सिनोलोजी एसोसिएसनको एक समूहले गरेको सर्वेक्षणअनुसार झन्डै ८० प्रतिशतभन्दा धेरै मानिसले सर्प मन नपराउने र धेरैजसोले देख्नासाथै मार्ने गरेको पाइयो । झन्डै ७० प्रतिशत मानिसले गोमन सर्प सजिलै चिन्ने गरेको पनि पाइयो । तर, अन्य सर्प चिन्न भने धेरैलाई गाह्रो भयो । त्यसैले मानव र सर्पबीचको द्वन्द्व न्यूनीकरण गर्न नेपालमा ‘सर्प बचाऔँ, प्रकृति जोगाऔँ’ अभियानसहित विश्व सर्प दिवस मनाउन थालिएको छ ।      

मानिसको ज्यान जोगाउन सक्ने अन्य धेरै औषधि सर्पको विषबाट निर्माण गरिन्छ । न्युरोटक्सिन र हेमोटक्सिन विषबाट बनाइएका औषधि मस्तिष्कको चोट, स्ट्रोक, मानसिक तनाव, हृदयाघात, रक्तचापको उपचारका साथै पीडा कम गर्ने औषधिका रूपमा प्रयोग गरिन्छ । त्यसैले हामीले सर्पलाई मार्ने होइन कि जोगाउने गर्नुपर्छ ।

सबै सर्प विषालु हुँदैनन् । सर्पले मानिसलाई टोक्ने भनेको आफ्नो बचाउका लागि गर्ने प्रतिरक्षा आक्रमण मात्रै हो । यसको मुख्य आहारा स–साना जीव जस्तै, मुसा, भ्यागुता, किराफट्यांग्रा आदि हुन् । सर्पले आफूलाई खतरा महसुस भएमा मात्र मानिसलाई टोक्ने वा आक्रमण गर्ने हो । खासमा सर्प मानिसलाई देख्दा सकेसम्म भाग्नै खोज्छ । त्यसो भए सर्पदंशबाट कसरी जोगिने त ? सर्पलाई जथाभावी रूपमा समाउन खोज्ने, जिस्क्याउने र छुने गर्नुहुँदैन । घरको वरिपरि दुलो छ भने त्यसलाई तुरुन्त टालिहाल्नुपर्छ । राति सुत्दा पलङमा सुत्नु र झुलको प्रयोग गर्नु सर्पबाट जोगिने राम्रो विधि हो । 

सर्पले टोकेमा के गर्ने त ? भन्ने प्रश्न आमरूपमा सुनिन्छ । सर्पले कसैलाई टोकेमा सर्प विषालु हो अथवा होइन भन्ने जानकारी हामीलाई नहुन सक्छ । अविषालु सर्पले टोक्दासमेत हामी निकै धेरै आत्तिने गर्छौं । तर, डराउने र आत्तिने गर्नुहुँदैन । बिरामीलाई आरामदायी र सुरक्षित ढंगले पल्टिन लगाउनुपर्छ । कसिलो गरी लगाएको लुगा वा गहना खोलिदिनुपर्छ ।

टोकेको ठाउँलाई स्थिर राख्नुपर्छ । बिरामीलाई सक्दो चाँडो नजिकैको सर्पदंश उपचार केन्द्रमा लैजानुपर्छ । घरेलु उपचारका नाममा हामीले कैयौँ त्यस्ता काम गर्छौं, जुन सर्पले टोकेको वेलामा गर्नुहुँदैन । जस्तै, विभिन्न उपचारका नाममा समय खेर फाल्नुहुँदैन । सर्पलाई समात्ने वा चलाउने गर्नुहुँदैन । टोकेको हात वा खुट्टामा हलचल गर्नुहुँदैन, दौडनुहुँदैन । काट्ने, जलाउने, चुस्ने र चिरेर रगत झार्ने काम गर्नुहुँदैन । यसका साथै कतिपय समुदायमा सर्पले टोकेको मानिसलाई खुर्सानी र रक्सी खुवाइन्छ जुन गर्नुहुँदैन ।

 प्रकृतिको दृष्टिकोणबाट सर्पको संरक्षण निकै महत्वपूर्ण  पर्यावरणीय मुद्दा हो । सर्पले पनि पृथ्वीमा मानिसको जत्तिकै महत्व बोकेको हुन्छ किनभने, सर्प पनि पारिस्थितिक पद्धतिको एउटा अंग हो । सर्पले स–साना किराफट्यांग्रा, माछा, भ्यागुता, छेपारो, चरा र स्तनधारीलाई आहार गर्छ भने, चिल, बाज, न्याउरी मुसो आदि प्राणीले सर्प र तिनको अन्डा आहारा बनाउने गर्छन् । यसरी नै पारिस्थितिक पद्धति सन्तुलन भइराखेको हुन्छ । यसका साथै चिकित्सकीय दृष्टिकोणबाट पनि यसको महत्व  रहेको छ ।

सर्पको विष, एन्टिस्नेक भेनोम सेरोम बनाउन प्रयोग हुन्छ, जुन फेरि सर्पकै टोकाइको उपचारमा प्रयोग गरिन्छ । मानिसको ज्यान जोगाउन सक्ने अन्य धेरै औषधि सर्पको विषबाट निर्माण गरिन्छ । न्युरोटक्सिन र हेमोटक्सिन विषबाट बनाइएका औषधि मस्तिष्कको चोट, स्ट्रोक, मानसिक तनाव, हृदयाघात, रक्तचापको उपचारका साथै पीडा कम गर्ने औषधिका रूपमा प्रयोग गरिन्छ । त्यसैले हामीले सर्पलाई मार्ने होइन कि जोगाउने गर्नुपर्छ ।

(लेखक अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको सर्प विशेषज्ञ समूहका सदस्य हुन्)