मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असार ३० सोमबार ११:०३:००
Read Time : > 2 मिनेट
प्रदेश

चिकित्सकमाथि आक्रमण : मेसु एक्लैको भरमा आकस्मिक सेवा 

Read Time : > 2 मिनेट
२०७६ असार ३० सोमबार ११:०३:००

ड्युटीमा खटिएका चिकित्सकमाथि आक्रमण भएको विषयलाई लिएर डडेल्धुरा अस्पतालमा चिकित्सकले बुधबारदेखि आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका छन् ।  पाँच दिनदेखि अस्पतालको आकस्मिक सेवा एकजना मेडिकल सुपरिटेन्डेन्टको भरमा सञ्चालित छ । डा. जितेन्द्र कँडेलको भरमा सेवा सञ्चालन भइरहेको छ । ओपिडीलगायत सबै सेवा बन्द गरी ११ जना डाक्टरले जिल्ला छोडेर सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सुरक्षाको माग गर्दै मुख्यमन्त्री त्रिलोचन भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई भेटेका छन् । 

आफूले एक्लै पाँच दिनदेखि आकस्मिक सेवा सञ्चालन गरिरहेको मेसु डा. कँँडेलले बताए । नियमति सेवा दोषीलाई कारबाही नहुन्जेल सञ्चालन नहुने हुँदा एक्लै भए पनि आक्समिक सेवा दिइरहेको कँँडेलले बताए । चिकित्सकमाथि पटक–पटक आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै अस्पतालमा कार्यरत सबै चिकित्सकले आकस्मिक सेवाबाहेकका सेवा बन्द गरेर ११ जना डाक्टर बिदामा बसेका हुन् ।

आक्रमणको आशंकामा एक पक्राउ 
चिकित्सकमाथि आक्रमण गर्नेमध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चिकित्सकले जिल्ला प्रशासनमा दिएको उजुरीका आधारमा आइतबार दिउँसो एकजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिका विषयमा अनुसन्धान भइरहेकाले नाम गोप्य राखिएको बताइएको छ । ‘आइतबार प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ,’ प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले भने । 

सेवाग्राही मारमा
पटक–पटक डाक्टरमाथि आक्रमणको घटनाले अस्पतालको सेवा अवरुद्ध हुँदै आएको छ । जसका कारण सेवाग्रही मर्कामा पर्ने गरेका छन् । यसअघि पनि एक सुत्केरी महिलाको मृत्युको विषयलाई लिएर चिकित्सकमाथि आक्रमण भएको थियो । सो घटनामा पनि अस्पतालको आकस्मिकबाहेकका सबै सेवा ठप्प भएका थिए । पछिल्लो घटनापछि सेवा ठप्प हुँदा टाढा–टाढाबाट आएका बिरामीले सास्ती भोग्नुपरेको सिगाँस गाउँपालिका –१ बैतडीका राम भुलले दुखेसो गरे । 

सुरक्षाको माग गर्दै चिकित्सक धनगढीमा

तेजराज भट्ट/धनगढी
डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकहरू उपचार सेवा ठप्प पारेर प्रदेशको अस्थायी राजधानी धनगढी आएका छन् । सेवाग्राहीको आक्रमणपछि अस्पतालमा काम गर्ने वातावरण नभएको भन्दै त्यहाँ कार्यरत १० जना चिकित्सक धनगढी आइपुगेका हुन् । चिकित्सकहरूले काम गर्न छाडेपछि अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प छन् । २५ असारमा शवको पोस्टमार्टमको विषयलाई लिएर डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात भएको थियो । सोही घटनालाई लिएर चिकित्सकले उपचार सेवा ठप्प पारेका हुन् ।

आक्रमणमा संलग्नलाई कारबाही र काम गर्ने वातावरण हुनुपर्ने उनीहरूको माग छ । धनगढीमा पत्रकार सम्मेलन गर्दै चिकित्सकले असुरक्षाका कारण अस्पतालमा काम गर्ने वातावरण नरहेको जनाए । सो अस्पतालमा कार्यरत डाक्टर नवराज जोशीले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दा कुनै निकायले सुनुवाइ नगरेको गुनासो गरे । ‘चिकित्सकमाथि आक्रमणका घटना पटक–पटक दोहोरिन थालेका छन्,’ जोशीले भने, ‘तर संलग्नलाई कारबाही हुँदैन । यस्तो असुरक्षाका बीच कसरी काम गर्न सकिन्छ ?’ 

अमरगढी नगरपालिका–११, का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वको समूहले शव पोस्टमार्टम गरिरहेका चिकित्सकमाथि आक्रमण गरेको चिकित्सकले बताएका छन् । डाक्टर दिनेश उपाध्यायले पोस्टमार्टमको काम गरिरहेका वेला जनप्रतिनिधिकै नेतृत्वमा आफूहरूमाथि हातपात भएको बताए । वडाध्यक्ष खड्काको नेतृत्वमा आफूहरूलाई हातपात गर्नुका साथै गालीगलौच र ढुंगा प्रहार गरेको उपाध्यायले बताए । गत बिहीबारदेखि आकस्मिकबाहेकका उपचार सेवा ठप्प पारेका उनीहरूले आक्रमणमा संलग्नलाई कारबाही नगरेसम्म काममा नफर्कने अडान लिएका छन् । 

अमरगढी नगरपालिका–११, का रमेश खड्का मृत भेटिएपछि परीक्षणका लागि उनको शव बुधबार डडेल्धुरा अस्पताल पु¥याइएको थियो । खड्काको शव परीक्षणमा ढिलाइ भएको भन्दै आक्रमण भएको डा. जोशीले बताए । नेपाल चिकित्सक संघ सुदूरपश्चिम संयोजक प्रमोद जोशीले कार्यकक्षमै चिकित्सकमाथि आक्रमण हुँदा पनि संलग्नलाई कारबाही नहुनु आपत्तिजनक भएको बताए । आक्रमणमा संलग्नलाई कारबाहीको दायरामा ल्याएर चिकित्कलाई काम गर्ने वातावरण मिलाउन उनले स्थानीय प्रशासनसँग माग गरे ।

कारबाही गर्न मुख्यमन्त्रीसँग माग
 धनगढी पुगेका चिकित्सकले आइतबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेर आक्रमणमा संलग्नलाई कारबाही गर्न र अस्पतालमा काम गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् । मुख्यमन्त्री भट्टले सुरक्षाको व्यवस्था गर्ने भन्दै काममा फर्कन चिकित्सकलाई आग्रह गरेका थिए । ‘सुरक्षाको व्यवस्था मिलाउँछौँ । आक्रमणमा संलग्न एकजना पक्राउ परेका र अन्यको पनि पहिचान भइरहेको भन्दै मुख्यमन्त्रीले काममा फर्कन आग्रह गर्नुभयो,’ डा. जोशीले भने, ‘मुख्यमन्त्रीले आश्वासन दिनुभएकाले भोलि नै जिल्ला फर्केर सेवा दिन्छौँ ।’