मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ असार २९ आइतबार १४:२८:००
Read Time : > 1 मिनेट
प्रदेश

मोहना पुल–अत्तरिया सडक : पहिले धुलाम्मे, अहिले हिलाम्मे 

Read Time : > 1 मिनेट
२०७६ असार २९ आइतबार १४:२८:००

निरन्तरको वर्षापछि निर्माणाधीन धनगढी मोहना पुल–अत्तरिया ६ लेन सडक हिलाम्य हुँदा सर्वसाधारण समस्यामा परेका छन् । यसअघिको कालोपत्रे भत्काएर अहिले ग्राभेल गरिएको सडकका दर्जनौँ ठाउँमा हिलो र पानी जमेका छन् । वर्षा नहुँदा सडकमा सवारीसाधन गुड्दा उड्ने धुलोले स्थानीयवासी आजित भएका थिए । अहिले हिलोका कारण आवतजावत गर्न पनि समस्या छ । धनगढी भन्साररोडदेखि अत्तरिया चोकसम्म १४ दशमलव २ किलोमिटर सडकमा वर्षाले समस्या सिजर्ना गरेको हो । 

‘ठुल्ठूला खाल्डामा हिलो र पानी जमेकोले यो सडकमा रिक्सा चलाउन निकै समस्या भएको छ ।’ रिक्सा चालक फूलचरण चौधरीले भने, ‘यात्रु बोक्नै सकिँदैन ।’ सडक हिलाम्य हुँदा रिक्सा, मोटरसाइकल, साइकललगायत साना सवारीसाधन सञ्चालनमा बढी कठिनाइ हुने गरेको छ । राजपुर, गेटालगायत धनगढी र अत्तरियाबीचमा पर्ने बस्तीहरूबाट काम विशेषले धनगढी आउने र दैनिक विद्यालय आउने बालबालिकाहरू हिलोले सास्ती खेप्न बाध्य छन् ।

पहाड र तराई जोड्ने सडक 
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको प्रवेशद्वार अत्तरिया र आर्थिक केन्द्र धनगढी जोड्ने भएकाले धनगढी–अत्तरिया सडकमा दैनिक सयौँ सवारीसाधन गुड्छन् । खाल्डाखुल्डीमा यात्रुवाहक सवारी साधनहरू फस्ने गरेका स्थानीयको भनाइ छ । सडकमा दैनिक ओहोरदोहोर गर्ने अत्तरियाका गगन बयनीले हिलो र खाल्डाखुल्डीले मोटरसाइकल चलाउन सास्ती हुने गरेको बताए । ‘साह्रै कठिन छ । यो बाटोमा हिँड्दा शरीरभरि हिलैहिलो हुन्छ । हिलोले फाटो लुगा लगाएर हिँड्नुपर्छ ।’ उनले भने, ‘कम्तीमा खाल्डाखुल्डी त पुरिदिनुपर्छ ।’

निर्माणमा चरम लापरबाही
अस्थायी राजधानीसमेत रहेको धनगढी प्रदेशको प्रमुख व्यापारिक केन्द्र पनि हो । अत्तरिया यहाँका सातवटा पहाडी जिल्ला र पूर्वी क्षेत्र जाने प्रवेशद्वार हो । यी दुई सहर जोड्ने सडक महिनौँदेखि दूरावस्थाको हुँदासमेत प्रदेश सरकार र सरोकारवाला निकायको ध्यान जान नसकेकोप्रति स्थानीय आक्रोशित छन् । स्थानीयका अनुसार अहिलेसम्म सडकको ४० प्रतिशत निर्माणकार्य पनि पूरा भएको छैन । 

‘मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि र नेताहरू यही बाटोमा हुइँकिन्छन् । तिनले चढ्ने कालो सिसा भएका गाडीबाट हिलो र धुलो देखिँदैन होला र ?’ स्थानीय बासिन्दा रेवन्त थापाले भने, ‘जनताले भोगिरहेको सास्ती अलिकति पनि महसुस हुन्थ्यो भने त समयमै काम सक्नका लागि पहल गर्थे होलान् ।’

हुलाकी सडक आयोजना कार्यालय र ठेकेदार कम्पनीहरूको चरम लापरबाहीका कारण दुई वर्षसम्म पनि सडक निर्माण सम्पन्न हुन नसकेको उनले बताए ।  आयोजनाका इन्जिनियर खगेन्द्र शाहीका अनुसार सम्झौताबमोजिम गत जेठमै सडक निर्माण सम्पन्न हुनुपर्ने थियो । तोकिएको समयमा निर्माण पूरा नभएपछि ठेकेदार कम्पनीहरूले १८ महिना म्याद थपका लागि निवेदन दिएको इन्जिनियर शाहीले बताए । शाहीका अनुसार एक अर्ब ६८ करोड रुपैयाँ लागतको यो सडकलाई तीन खण्डमा छुट्याएर छुट्टाछुट्टै ठेक्कामार्फत काम भइरहेको छ । 

‘सडक निर्माणका नाममा जनताले सास्ती खेप्न थालेको धेरै भएको छ ।’ धनगढीका स्थानीय कुम्भराज शर्माले भने, ‘यथाशीघ्र काम सम्पन्न गर्न प्रदेश सरकार र यहाँको राजनीतिक नेतृत्व तहबाट पनि पहल हुनुपर्छ ।’