मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असार २९ आइतबार ०८:११:००
Read Time : > 4 मिनेट
मुख्य समाचार

नाम मिल्दा  ६ वर्ष कैद सजाय 

Read Time : > 4 मिनेट
२०७६ असार २९ आइतबार ०८:११:००
  • ७ चैत ०६९ मा इलाम गजुरमुखीका प्रकाश पुलामीको घरमा डाँका लाग्यो । एकजना मारिए, अरू पक्राउ परे । पक्राउ परेकाले सजाय पाए । डकैतीको योजनाकार रहेको भनिएका विक्रम भनिने गणेश लिम्बू फरार रहे । 
  • १३ माघ ०७१ मा जिल्ला प्रशासन कार्यालय इलामले हातहतियार खरखजना मुद्दाका फरार अभियुक्त विक्रम भनिने गणेश लिम्बूविरुद्ध ८० हजार रुपैयाँ जरिवाना तोक्यो । 
  •  १९ भदौ ०७५ मा प्रहरीले गणेश हाङनाम लिम्बूलाई तिनै फरार अभियुक्त भन्दै पक्राउ गर्‍यो । 
  •  २१ भदौ ०७५ मा उनलाई जिल्ला प्रशासन कार्यालय इलाममा जबर्जस्ती ८० हजार जरिवाना तिराइयो ।
  •  १ पुुस ०७५ मा जिल्ला अदालत इलामले विक्रम भनिने गणेश लिम्बू र उनी एकै व्यक्ति नभएको भन्दै सफाइ दियो ।
  • जरिवाना तिरेकै आधारमा जिल्ला अदालत इलामले ३१ वैशाख ०७६ मा उनलाई ६ वर्ष कैद र ६७ हजार ८ सय ६० रुपैयाँ जरिवाना हुने फैसला गर्‍यो । 

ताप्लेजुङ मेरिङदेन–४ का ३७ वर्षीय गणेश हाङगाम लिम्बूले फरार अभियुक्तसँग नाम मिलेकै भरमा ६ वर्ष कैद भुक्तान गर्नुपर्ने भएको छ । प्रहरी र प्रशासनले नै आफूलाई फसाएको भन्दै उनी न्याय माग्न भौँतारिइरहेका छन् । 

जिल्ला प्रशासन कार्यालय इलामले हातहतियार खरखजना मुद्दाका फरार अभियुक्त विक्रम भनिने गणेश लिम्बूविरुद्ध तोकेको ८० हजार रुपैयाँ जरिवाना लिम्बूले जेल पर्ने भयका कारण २१ भदौ ०७५ मा तिरेका थिए । त्यसैलाई आधार मान्दै अदालतले लिम्बूविरुद्ध ३१ वैशाख ०७६ मा ६ वर्ष कैद र ६७ हजार ८ सय ६० रुपैयाँ जरिवाना हुने फैसला गरेको हो । 

अदालतको फैसलापछि हारगुहार गर्दै गृह मन्त्रालय पुगेका लिम्बूलाई अब न्याय माग्न जाने ठाउँ थाहा छैन । ‘जिप्रका इलामले भनेको विक्रम भनिने गणेश लिम्बू र म एउटै व्यक्ति होइन । मेरो नाम गणेश हाङगाम लिम्बू हो,’ उनले भने, ‘तर, प्रहरीले विक्रम भनिने गणेश लिम्बू मै भएको भन्दै समात्यो । जिप्रका इलामले फरार रहेका विक्रम भनिने गणेश लिम्बूकै नाममा ८० हजार रुपैयाँ जरिवाना तिर्न लगायो । त्यसैलाई आधार मानेर उच्च अदालत इलामले मविरुद्ध ६ वर्ष कैद र ६७ हजार ८ सय ६० रुपैयाँ जरिवाना हुने फैसला गर्‍यो । अब न्याय माग्न म कहाँ जाऊँ ?’

यसरी तिराइयो अर्काको नामको ८० हजार जरिवाना 

पीडित गणेश लिम्बू

स्थायी घर ताप्लेजुङ मेरिङदेन–४ भएका गणेश हाङगाम लिम्बू पत्नी र बालबच्चासँगै ०६७ देखि काठमाडौं बस्दै आएका थिए । ठेलागाडामा पानीपुरी बेच्ने काम गरेका उनले पछिल्लो समय ट्याक्सी पनि चलाए । आम्दानीले धान्न नसक्ने भएपछि रोजगारका लागि इपिएस कोटामा दक्षिण कोरिया जाने मनस्थितिमा पुगे । कोरियन भाषा कक्षा लिए, परीक्षा दिए र नाम पनि निकाले । कोरिया जान जुटाउनुपर्ने कागजातमध्ये चारित्रिक प्रमाणपत्र पनि एक थियो । प्रमाणपत्र बनाउन उनी महाराजगन्जस्थित प्रहरी कार्यालय पुगे । निवेदन दिए, तर प्रमाणपत्र आए । 

उनी सोध्न कार्यालयमै पुगे । त्यहाँ थाहा पाए, उनी प्रहरीको फरार सूचीमा पो रहेछन् । उनको आँखा तिलमिलायो । प्रहरीले उनलाई तत्काल हिरासतमा लियो । उनलाई भोलिपल्ट जिल्ला अदालत इलाम लगियो । त्यहाँ पुगेपछि मात्र उनले थाहा पाए, उनीसँग नाम मिल्ने विक्रम भनिने गणेश लिम्बूविरुद्ध हातहतियार तथा खरखजना मुद्दा लागेको रहेछ । अब अदालतमा विक्रम भनिने गणेश लिम्बू आफू नभएको प्रमाण पेस गर्नुपर्ने भयो । प्रमाण जुटाए । 

भोलिपल्टै अदालतले ३० हजार रुपैयाँ धरौटी लिएर उनलाई तारेखमा छोड्यो । लगत्तै प्रहरीले उनलाई जिल्ला प्रशासन कार्यालय इलाम पु¥यायो । फरार विक्रम भनिने गणेश लिम्बू उनी नै भएको भन्दै जिप्रकाले विक्रमविरुद्ध तोकेको ८० हजार रुपैयाँ तिर्न भन्यो । सुरुमा उनले इन्कार गरे । रकम नतिरे जेल हालिने धम्की दिइयो । उनले परिवार सम्झे । दक्षिण कोरियाको रोजगारी सम्झे । त्यसैले उनी रकम तिरेर उम्किन चाहे । ऋण काढे र जरिवान तिरेर हिरासतमुक्त भए । 

चारित्रिक प्रमाणपत्र लिन उनी फेरि प्रहरी कार्यालय पुगे । तर, प्रहरीले मुद्दा फैसला नभई नदिने बतायो । उनी फैसला कुर्न बाध्य भए । अन्ततः १ पुस ०७५ मा उनी र विक्रम भनिने गणेश लिम्बू एकै व्यक्ति नभएको फैसला अदालतले गर्‍यो । 

फैसला लिएर उनी फेरि चारित्रिक प्रमाणपत्र लिन गए । प्रहरीले पुनः अस्वीकार गर्‍यो । ०७५ भदौबाट लागू भएको फौज्दारी संहिताका आधारमा मुद्दा स्वतः पुनरावेदन भएपछि उच्च अदालत इलामले उनीविरुद्ध नयाँ फैसला सुनुवाइ गर्‍यो । उच्च अदालतले विक्रम भनिने गणेश लिम्बूविरुद्ध तोकेको ८० हजार रुपैयाँ जरिवाना तिरेको अभियोगमा ३१ वैशाख ०७६ मा उनीमाथि ६ वर्ष कैद र ६७ हजार ८ सय ६० रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । योसँगै उनको जीवनको सबै सपना तुहिन पुगेको छ ।

पीडित गणेश लिम्बू भन्छन् मुद्दा लड्दा  १३ लाख सकियो 

काठमाडौंमा जीवन चलाउन मैले ठेलामा पानीपुरी बेचेँ । यसबाट जीवन धान्न सक्ने अवस्था नभएपछि ट्याक्सी चलाउन सिकेँ । दुई वर्षदेखि मैले भाडामा लिएर ट्याक्सी चलाउँदै आएको छु । मेरो बुढानीलकण्ठमा डेरा छ । दुई सन्तान र श्रीमतीसहित त्यहीँ बस्छु । जिल्ला अदालत र पुनरावेदन अदालतमा मुद्दा लड्दा मेरो १३ लाख रुपैयाँभन्दा धेरै रकम सकियो । वकिलका लागि निकै महँगो  शुल्क तिर्नुपर्ने रहेछ । जहान–बच्चा पाल्न पनि उत्तिकै खर्च छ । ट्याक्सी चलाएर मात्रै खर्च धान्न सकिनँ । मुद्दा लड्न सबै ऋण काढेको छु  । अब ऋण कसरी तिर्ने चिन्तामा छु ।

कसरी जुध्यो नाम ? 
इलाम गजुरमुखीस्थित प्रकाश पुलामी मगरको घरमा ७ चैत ०६९ मा डाँका लाग्यो । डाँकामा संलग्न थिए सुसन भनिने राजेश चौधरी, राम लिम्बू, कृष्ण तामाङ र अभिषेक भनिने विक्रम दास । प्रहरीले राम र कृष्णलाई पक्राउ गर्‍यो । स्थानीयसँगको झडपमा विक्रम मारिए । पक्राउ परेकाहरूको बयानमा डाँकाको योजनाकार इलामका विक्रम लिम्बू रहेको खुल्यो । प्रहरीले विक्रमको खोजी गर्‍यो । तर, फेला पार्न सकेन । पक्राउ परेकालाई अदालतले कैद सजाय फैसला गर्‍यो । उनीहरू कैद साजय भुक्तान गरी अहिले जेलमुक्त भइसकेका छन् । 

तर, योजनाकार भनिएका विक्रम भने फरार नै थिए । प्रहरीले मुद्दाको मिसिल बुझाउँदा विक्रम भनिने गणेश लिम्बू भनी उल्लेख ग¥यो । त्यसैको आधारमा प्रहरीले फरारको सूचीमा विक्रम भनिने गणेश लिम्बूको नाम चढायो । सोही सूचीका आधारमा महाराजगन्जस्थित प्रहरी कार्यलयमा चारित्रिक प्रमाणपत्र लिन गएका गणेश हाङगाम लिम्बू १९ भदौ ०७५ मा पक्राउ परे । 

के भन्छन् सजाय भुक्तान गरेका व्यक्ति ? 
 

कृष्ण तामाङ, घटनाका तत्कालीन अभियुक्त 

मसहित राजेश चौधरी, राम लिम्बू र अभिषेक भनिने विक्रम दास दमकमा थियौँ । बास बस्न इलामको गजुरमुखीस्थित प्रकाश पुलामीको घरमा पुग्यौँ । हामीमध्ये विक्रम दासले चोरी गरेछ । होहल्ला भएपछि हामी त्यहाँबाट भाग्यौं । लुकेको ठाउँबाट प्रहरीले समात्यो । दासलाई भने स्थानीय समातेछन् । कुटपिट भएको छ । सोही कुटपिटकै कारण  उसको मृत्यू भयो । पक्राउ परेको राजेश, राम मलाई डाँका मुद्दामा अदालतले ६–६ वर्षको कैद सजाय सनुवाई गर्यो । म सजाय भुक्तान गरेर जेलबाट छुटिसकेँ । अहिले रामेछापमा ठेक्कापट्टाको काम गर्छु । हामीले बयानमा भनेको विक्रम लिम्बू र अदालतले फैसला गरेको गणेश हाङगाम लिम्बू एउटै व्यक्ति होइनन् । उहाँ कसरी यो मुद्यामा जोडिएर आउनु भयो  म अचम्ममा परको छु । म त उहाँलाई चिन्दा पनि चिन्दिनँ । उहाँ कसरी पक्राउ पर्नुभयो र अदालतले के आधारमा फैसला गर्‍यो म छक्क परेको छु । 

जिल्ला अदालतको फैसला : अभियुक्त र गणेश हाङनाम लिम्बू एकै व्यक्ति होइनन्
जिल्ला अदालत इलामले १ पुस ०७५ मा गरेको फैसला अनुसार गणेश हाङगाम लिम्बु निर्दोष देखिन्छन् । ‘माथि गरिएको विवेचना तथा सर्बोच्च अदालतबाट भएको व्याख्या एवम् मिसिलसंलग्न प्रमाण कगजातहरूका आधारमा यी प्रतिवादी बिक्रम भनिने गणेश लिम्बू गणेश कुमार हाङगाम लिम्बू हुन् भनी किटान गर्न मिलेन,’ फैसलाको बुँदा नं. १२ मा उल्लेख छ, ‘अतः गणेश कुमार हाङनाम  लिम्बू नै निज गणेश लिम्बू हो भनी अभियोग माग दावी बमोजिम सजाय गर्न मिलेन । प्रतिवादी बिक्रम भन्ने गणेश लिम्बू भनी विपक्षी बनाइएका गणेशकुमार  हाङनाम लिम्बूले अभियोग माग दाबीबाट सफाइ पाउने ठहर्छ ।’

यस्तो छ उच्च अदालत इलामको फैसला 
उच्च अदालत इलामले ३१ वैशाख ०७६ मा भने गणेशलाई दोषी ठहर गरेको छ । ‘प्रतिवादी बिक्रम भनिने गणेश लिम्बू उपर किटानी जोहरी परेको मौकामा दसीका सामान सहित पक्राउ परेका सुसन, राजेश भनिने नारायण माझी, अनित भनिने राम लिम्बू र कृष्ण तामाङले अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा किटानी साथ पेस गरेको र एउटै कागजबाट उठान भएको हातहतियार खरखजना मुद्दामा प्रतिवादीले सुरु म्याद नै गुजारी उपरोक्त मुद्दामा हातहतियार खरखजनाको वारदात कामय भई प्रतिवादीलाई सजाय भई निज स्वयंले जरिवाना बुझाइसकेको अवस्थामा सोही नै एउटै कागजबाट उठेको प्रस्तुत मुद्दामा आरोपित कसुरबाट सफाइ दिने गरी सुरु इलाम जिल्ला अदालतबाट १ पुस ०७५ मा भएको फैसला मिलेको नदेखिँदा उल्टी भई प्रतिवादी विक्रम भनिने गणेश लिम्बू भनिएका गणेशकुमार हाङनाम लिम्बूलाई चोरीको महलको १ र ६ नं. को कसुरमा ऐ. महलको १४(४) नं. बमोजिम ६ वर्ष कैद र बरामदी धनमाल बिगो रु. ४५,२४० को डेडो रु. ६७,८६० जरिवाना ठहर्छ,’  फैसलामा भनिएको छ ।