मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असार २७ शुक्रबार ११:२५:००
Read Time : > 1 मिनेट
प्रदेश

बाढीको त्रासले निदाउन सक्दैनन् राप्ती नदी आसपासका बासिन्दा

Read Time : > 1 मिनेट
२०७६ असार २७ शुक्रबार ११:२५:००

लगातारको वर्षात्पछि राप्ती नदी आसपासका बासिन्दा त्रसित भएका छन् । उत्तर–पूर्वतर्फ कालो बादल मडारिन थालेपछि राप्ती नदीमा बाढी आएर घरखेत लैजाने चिन्ताले सताउने गरेको राप्तीसोनारी गाउँपालिका–७, पहाडीपुरकी शान्तिदेवी अधिकारीले बताइन् । अघिल्ला वर्षजस्तै यस वर्षको वर्षात् सुरु हुनासाथ त्रसित भएको बताइन् । उनले लगातारको वर्षात्ले राप्ती नदीमा बाढी आउन सक्ने खतरा बढेकाले रातमा निदाउन नसकेको गुनासो गरिन् । ‘यस वर्ष जनताको तटबन्धले पक्की बाँध निर्माण गरेको छ । यसले केही राहत मिल्ने आशा गरे पनि त्रास हटेको छैन,’ उनले भनिन् । 

राप्तीसोनारी गाउँपालिका–७ अन्तर्गतका खल्ला झगडिया, बसन्तापुर, भवानियापुर, पहाडीपुर, देउपुरा, पिप्रहवा, गेन्दवा, भर्ठा, सोनपुर, मैलोहरनिया, कोरी सैयापुर, लालपुर, ननकौपुर, सर्रा, सिसलघारीलगायतका गाउँ बर्सेनि डुबानमा पर्दै आएका छन् । सरकारले बाढीबाट जोगाउन पक्की तटबन्ध निर्माण गरेपछि केही राहत मिले पनि बाढी आउने सम्भावना नहटेको खल्ला झगडियाका रामवरण बर्माले बताए । उनले उत्तरतर्फ पानी पर्न थालेपछि बाढीको डर उत्पन्न हुने गरेको बताए । ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्केपछि त्रसिन्छ भनेझैँ हामी पनि बाढी देख्नासाथ डराउँछौँ,’ उनले भने । 

राप्ती नदीमा आउने बाढीले डुबान हुने डरले डुडुवा गाउँपलिका–१, होलियाका राजकुमार शुक्लाले तीनदेखि घर छोड्न नसकेको बताए । गाउँबाहिर गएको वेला बाढी आएर अन्नपात, पशुचौपाया बगाउने डरले घर छोड्न नसकेको उनले बताए । ‘कतिखेर बाढी आउँछ भन्ने निश्चित हुँदैन, त्यसैले तीन दिनदेखि बाहिर जान पाएको छैन,’ उनले भने ।  राप्तीसोनारी गाउँपालिका–३, साइपुरकी भागरथी चौधरीले पनि पानी पर्न थालेपछि डर उत्पन्न भएको बताइन् । अघिल्ला वर्ष राप्ती नदीमा आएको बाढीले घर, अन्नबाली, पशुचौपाया बगाएर लगेको बताउँदै उनले जाग्राम गरेर रात बिताउने गरेको बताइन् । ‘दिउँसोको समयमा बाढी आयो भने त देखेर भागौँला, रातको समयमा आए बगाउला भन्ने पिरले जाग्राम गरेर रात बिताउँछौँ,’ उनले भनिन् ।

उद्धारका लागि कुन–कुन सामग्री तयारी अवस्थामा छन् ?
जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले उद्धार तथा सुरक्षित बासस्थानका लागि तयारी पूरा भएको जनाएको छ । केन्द्रका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले उद्धार तथा उद्धारपछि राख्ने सुरक्षित ठाउँको व्यवस्था मिलाइएको बताए । उनले उद्धारकर्ताका लागि लाइफ ज्याकेट, स्ट्रेचर, रबरको डुंगा, काठको डुंगा, ट्युब, डोरी, बेल्चा, फरुवा, हेल्मेट, साइरन, रेनकोट, त्रिपाल, टर्चलगायत सामग्री तयारी अवस्थामा राखिएको बताए । उनले सुरक्षित ठाउँको व्यवस्थासँगै बाढीबाट प्रभावितका लागि खाने कुराको पनि पूर्वतयारी गरिएको बताए । ‘बाढीको जोखिमलाई मूल्यांकन गरेर दक्ष जनशक्ति, उद्धार सामग्री र सुरक्षित बासस्थानको व्यवस्था मिलाइएको छ,’ उनले भने । 

कुन उद्धार सामग्री कति परिमाणमा ?
बाँकेका आटवटै स्थानीय तहलाई मध्यनजर गरी उद्धार सामग्रीको व्यवस्था गरिएको छ । प्रमुख जिल्ला अधिकारी भुजेलका अनुसार चार सय ८८ थान लाइफ ज्याकेट, ५३ थान स्ट्रेचर, ९ थान रबर बोट, चार सय ३३ थान बेल्चा र गइँटी तथा ६ थान कोठको डुंगा तयारी अवस्थामा राखिएको छ ।  त्यसैगरी, रबरको ट्युब ४८ थान, दुई सय ६२ थान सेफ्टी हेलमेट, ५ थान साइरन, ६५ थान मेगा फोन, रबर बुट ३० थान र १० थान रेनकोटको व्यवस्था गरिएको छ । ‘उद्धारका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री तयारी अवस्थामा राखिएको छ,’ उनले भने, ‘सूचना पाएको २०–३० मिनेटमा उद्धार सामग्रीसहित उद्धारकर्ता घटनास्थल पुग्ने गरी तयारी गरिएको छ,’ उनले भने ।