मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असार २७ शुक्रबार ११:४४:००
Read Time : < 1 मिनेट
समाचार

प्रहरीलाई प्रदेश सरकारको ३५ मोटरसाइकल

Read Time : < 1 मिनेट
२०७६ असार २७ शुक्रबार ११:४४:००

गण्डकी प्रदेशले प्रदेशभित्रका विभिन्न प्रहरी कार्यालयलाई ३५ वटा मोटरसाइकल दिने भएको छ । प्रदेश प्रहरी कार्यालयले मोटरसाइकल उपलब्ध गराइदिन सरकारलाई गरेको आग्रहअनुसार मोटरसाइकल दिन लागेको हो । दुई जेठ ०७६ मा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी कार्यालयहरूलाई ९२ लाखबराबरको मोटरसाइकल खरिद गर्ने निर्णय गरेको थियो ।

निर्णयसँगै प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सय ५० सिसी क्षमताका ३५ मोटरसाइकल किन्न बिक्रेतासँग कोटेसन आह्वान गरेको थियो । बिक्रेताले कार्यालयमा बुझाएको कोटेसनका आधारमा सबैभन्दा कम मूल्यमा सुन्दर अटो वक्र्स तनहुँले मोटरसाइकल उपलब्ध गराउने जनाएको थियो । सोहीअनुसार यामाहा कम्पनीका एसजेडआर मोटरसाइकल खरिद गरेको मन्त्रालयका सूचना अधिकारी खुबी राम पोख्रेलले बताए । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सुरक्षित मुद्रणालय स्थापनाका लागि विनियोजन गरेको रकम रकमान्तर गरी प्रहरीलाई मोटरसाइकल किन्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो । मुद्रणालय स्थापनाका लागि विनियोजित एक करोडमध्ये जेठसम्म ८ लाख मात्रै खर्च भएकाले बाँकी ९२ लाखको मोटरसाइकल किन्ने निर्णय बैठकले गरेको हो । खरिद गरिएका मोटरसाइकल मन्त्रालयले  आइतबार प्रदेश प्रहरी कार्यालयलाई हस्तान्तरण गर्नेछ । 

बजार मूल्यभन्दा २४ हजार सस्तो 
मन्त्रालयले ती मोटरसाइकल बजार मूल्यभन्दा २३ हजार ९ सय रुपैयाँ कममा खरिद गरेको जनाएको छ । अटो वक्र्सका सञ्चालक सुन्दर श्रेष्ठका अनुसार यी मोटरसाइकलको बजार मूल्य दुई लाख २७ हजार ९ सय रहेकामा २३ हजार ९ सय रुपैयाँ घटाएर दुई लाख ४ हजारमा उपलब्ध गराएको जानकारी दिए ।