१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ असार २७ शुक्रबार ११:२९:००
Read Time : > 1 मिनेट
प्रदेश

बेँसीसहर–चामे सडकमा सधैँ सास्ती

Read Time : > 1 मिनेट
२०७६ असार २७ शुक्रबार ११:२९:००

सदरमुकाम बेँसीसहर र मनाङ सदरमुकाम चामे जोड्ने सडक निर्माण भएको २४ वर्ष पुग्दा पनि यात्रुले सधैँ सास्ती व्यहोरिरहेका छन् । मनाङ जाने एक मात्रै यो (बेँसीसहर–चामे) सडकमा वर्षाभर बाढीपहिरोले दुःख दिन्छ भने हिउँदभर सडक मर्मत र स्तरोन्नतिको बहानामा यात्रुले सास्ती पाउँछन् । यस वर्ष पनि वर्षा सुरु भएसँगै सडकको धेरै ठाउँमा पहिरो खस्नुका साथै केही ठाउँ भासिएका छन् । सवारीसाधान र पैदल यात्रु जोखिम मोल्दै यात्रा गरिरहेका छन् ।

‘पानी परेपछि हिँड्न डर हुन्छ,’ खुदीका सन्तोष थापाले भने, ‘पानी पर्नेबित्तिकै कति वेला पहिरो खसेर पुर्ने पो हो कि भनेर डराइडराई हिँड्नुपर्छ ।’ सडक निर्माण भएको २४ वर्ष पुग्दा पनि हिमालपारिको जिल्ला मनाङ सदरमुकाम चामे जोड्ने सडकको स्तरवृद्धि हुन नसक्दा यात्रुले सधैँ सास्ती खेप्नुपरेको हो । ‘सडक बनेको २४ वर्ष भयो कहिल्यै राम्रोसँग हिँड्न पाइएन,’ लमजुङ उद्योग वाणिज्य संघ खुदी एकाइका अध्यक्ष वीरेन्द्र भण्डारीले भने, ‘कालोपत्रे भइसक्नुपर्ने सडक अझै उस्तै छ । सवारीसाधनमा यात्रा गर्न सधँै डराउनुपर्छ ।’ 

 मर्मतमा ध्यान नदिएको गुनासो
बेँसीसहरबाट चामे नपुगुन्जेल दर्जनौँ स्थानमा बाटो अवरुद्ध हुँदा यात्रुले सास्ती खेपिरहेका छन् । उत्तरी क्षेत्रको मर्स्याङ्दी गाउँपालिका जाने एक मात्र बाटो पनि यही हो । ‘सधैँको पहिरो जाने समस्याले यात्रा गर्न गाह्रो भयो । कहिलेकाहीँ त बगाउला भन्ने डर’मर्स्याङ्दी गाउँपालिकाकी लामागाउँकी सरला भण्डारीले भनिन्, ‘डराइ–डराई कति दिन यात्रा गर्ने, फुस्रो ढुंगामाटो, कमलो ठाउँ, कतिवेला पहिरो झर्छ, थाहै हुँदैन’ सडक विभाग मातहातको यो सडक डिभिजन सडक कार्यालय दमौलीले हेर्दै आएको छ । सडक मर्मतमा ध्यान नदिएको स्थानीयको गुनासो छ । 

सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बेँसीसहर चामे सडकमा दैनिकजसो बाढीपहिरो र बाटो खुलाउन तत्काल डोजर र प्रहरी परिचालन गर्ने गरिएको बताए । उनले भने, ‘बाटोमा पहिरो गएको खबर आएसँगै डिभिजन सडक कार्यालय दमौलीको सहयोगमा बाटो खुलाउँदै आएका छाैं ।’  

बेँसीसहर–चामे सडकअन्तर्गत पर्ने बेँसीसहर नगरपालिका–६ बेलौतिबिसौना नजिकैको खरखरे भिर, मस्र्याङ्दी गाउँपालिकाको अर्खलेबेँसी, घोप्टेभिर, काप्रेभिर, रामबजार, स्याँगे, शिरचौर, च्याम्चेलगायत ठाउँमा पहिरो चलेपछि उत्तरी क्षेत्रका स्थानीय र मनाङका स्थानीयलाई सास्ती भएको स्थानीयको गुनासो छ । नेपाली सेनाले १९ वर्ष लगाएर चार वर्षअघि ट्र्याक सम्पन्न गरी सडक विभागलाई जिम्मा लगाएको थियो ।

 ६५ किलोमिटर पार गर्न ८ घन्टा
बेँसीसहरबाट मनाङको चामेसम्म ६५ किलोमिटर छ । तर, यो सडक पार गर्न सवारीसाधानलाई ८ घन्टा लाग्छ । बर्खा सुरु भएसँगै ठाउँठाउँमा गएको पहिरोका कारण पूर्णरूपमा यातायात सञ्चालन हुन सकेका छैनन् । यात्रु मात्र होइन, यात्रु बोक्ने सवारीचालकसमेत सडकको हालत देखर चिन्तित छन् । जोखिमपूर्ण यात्रा गराउन आफूहरूको रहर नभएर बाध्यता भएको सवारीचालक सोमबहादुर मगरातीले बताए ।

सडक विभागले आर्थिक वर्ष ०५१/०५२ मा बेँसीसहर–चामे सडक निर्माण थालेको थियो । द्वन्द्वका कारण सडक निर्माणमा कठिनाइ भएपछि ०५७ मा तत्कालीन शाही नेपाली सेनालाई जिम्मा लगाएको थियो । निर्माण सुरु भएको १९ वर्षपछि तीन वर्षअघि मात्र सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएको हो । यो सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ ।