रौतहट जिल्लाका अधिकांश सडकमा हिलोका कारण सवारी चलाउन पनि मुस्किल छ । दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन् । जिल्लाको झाझ पुलदेखि कटहरियासम्मको सडक जीर्ण अवस्थामा छ । चार किलोमिटर सडक निर्माणका लागि ठेक्का लागेको भए पनि ठेकेदारले समयमा काम नगर्दा समस्या देखिएको स्थानीय बताउँछन् । रौतहटका अधिकांश सडक वर्षामा हिलाम्ये र हिउँदमा धुलाम्ये हुने गरेकाले सडक छेउका बासिन्दामा विभिन्न रोगको प्रकोप देखिने गरेको गरुडाका स्थानीय व्यापारी विनोद चौधरीले बताए ।
गरुडा–समनपुर जाने बाटो ठाउँ–ठाउँमा भत्किएको छ । खाल्डामा पानी भरिएका कारण सवारी दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन् । धरहरी देवाही सडकको काम समयमा सम्पन्न हुन नसक्दा सडकखण्ड अस्तव्यस्त छ । त्यस्तै, कटहरिया बजारबाट फतुवा–विजयपुर नगरपालिका जाने बाटोमा पनि गाडी गुडाउन सक्ने अवस्था छैन । ‘हिलोका कारण सवारी साधन गुडाउन सक्ने अवस्था छैन,’ स्थानीय आरके मैनालीले भने । जिल्लाको चन्द्रनिगाहपुर गौर रोडबाट दायाँबायाँ जाने अधिकांश सडकको हालत पनि नाजुक रहेको करुनियाका स्थानीय नेता शेख फूलबाबुले बताए । ‘सडक राम्रो अवस्था छैन,’ उनले भने, ‘स्थानीयलाई समितिमार्फत काम गर्न दिने र राजनीतिक प्रतिशोध नहुने हो भने सडक निर्माण छिटो र गुणस्तरीय हुने थियो ।’
स्थानीय सरकारको प्राथमिकतामा सडक
जिल्लाका १६ नगरपालिका र २ गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा सडक निर्माणलाई प्राथमिकतामा राखेका छन् । निर्माणकार्य धमाधम भइरहेको छ । तर, गुणस्तरका विषयमा कमैले चासो दिएका छन् । जिल्लाका अधिकांश सडक प्राविधिक इस्टिमेटविना नै निर्माण गर्ने होडबाजी चलेकाले यस्तो अवस्था सिर्जना भएको स्थानीय बताउँछन् ।