मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असार २७ शुक्रबार ११:१२:००
Read Time : > 1 मिनेट
प्रदेश

सिरहा क्याम्पसको छात्रावास निर्माणमा विवाद

Read Time : > 1 मिनेट
२०७६ असार २७ शुक्रबार ११:१२:००

सिरहा सदरमुकाममा रहेको सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसमा दलित छात्रावास निर्माणका क्रममा अनियमितता भएको आरोप सरोकारवालाहरूले लगाएका छन् । ३४ कोठाको छात्रावास प्रयोगविहीन हुँदाहुँदै क्याम्पसमा नयाँ छात्रावास निर्माण थालिएको थियो । 

तर, निर्माणाधीन दलित छात्रावास भवनको काममा पनि ढिलाइ भएको छ । भौतिक पूर्वाधार विकास कार्यालय सिरहाले नेकपा स्थानीय नेता भगलु पासमानको अध्यक्ष रहेको उपभोक्ता समितिलाई नयाँ भवन निर्माणको जिम्मा दिएको थियो । जेठ १५ गते पूर्वाधार कार्यालयसँग भएको सहमतिअनुसार असार २० गतेसम्म छात्रावास निर्माण हुनुपर्ने थियो । तर, अहिलेसम्म छत ढलानको काम पनि सुरु भएको छैन, छात्रावासको १२ कोठ भुइँतल्ला निर्माण भइरहेको छ ।

यस भवन निर्माणका लागि प्रदेश २ सामाजिक विकास मन्त्रालयले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । पूर्वाधार कार्यालयका इन्जिनियर पशुपति यादवका अनुसार ९० लाख रुपैयाँ भवन निर्माण र साढे नौ लाख रुपैयाँ फर्निचरका लागि छुट्टयाइएको छ । 

‘नाम मात्रैको उपभोक्ता समिति’
राजपाका केन्द्रीय सदस्य राजकुमार महराले दलित छात्रावास निर्माण गर्न गठन गरिएको उपभोक्ता समिति नाम मात्रैको रहेको आरोप लगाए । स्थानीय ठेकेदारले छात्रावास निर्माण गरिरहेको उनको दाबी छ । यसअघि महराले आफ्नो नेतृत्वमा उपभोक्ता समिति गठन गरी सम्झौताका लागि पूर्वाधार विकास कार्यालयमा फाइल पेस गरेका थिए । तर, कार्यालयले हतार–हतारमा नयाँ उपभोक्ता समिति खडा गरेर सम्झौता गरेको महराको आरोप छ । महराले भने, ‘मैले सबै प्रक्रिया पूरा गरी सम्झौता गर्न फाइल पेस गरेको थिए । तर, आर्थिक हिनामिना गर्न नयाँ उपभोक्ता समिति गठन गरी पूर्वाधार कार्यायले सम्झौता गर्‍यो । अहिले निर्माणको सबै काम स्थानीय ठेकेदारले गरिरहेको छ ।’ यता, उपभोक्ता समितिका अध्यक्ष नेकपा नेता पासवानले निर्माणको काम आफैँ गरिरहेको र ठेकेदार प्रयोग नभएको दाबी गरे ।

३४ कोठे छात्रावास प्रयोगविहीन
क्याम्पसमा ३४ कोठासहितको छात्रावास प्रयोगविहीन अवस्थामा छ । दुई सय विद्यार्थीको राख्न मिल्नेगरी बनाइएको छात्रावास पछिल्लो ६ वर्षदेखि बन्द भएको हो । स्ववियू निर्वाचनको समय विवाद हुँदा छात्रावास खालि गराइएको थियो । त्यसपछि क्याम्पस प्रशासनले छात्रावास प्रयोगमा ल्याउन पहल गरेन ।‘स्ववियू निर्वाचनताका बन्द भएको छात्रावास पुनः खोलिएन  । तर, नयाँ भवन निर्माण थालिएको छ,’ अनेरास्ववियूका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज अशेष गोइतले भने,‘ विद्यार्थी नभएको क्याम्पसमा दलित छात्रावास बनाउनुको उद्देश्य बजेट खर्च गर्नुबाहेक अरू केही हुनै सक्दैन ।’ गोइतका अनुसार नियमित पठन–पाठन हुन नसक्दा अधिकांश विद्यार्थीहरू क्याम्पस नै आउँदैनन् । निर्माणाधीन दलित छात्रावासमा १२ जनालाई राख्न सकिने क्याम्पस प्रमुख कृष्ण कुमार यादवले बताए । तर, क्याम्पसमा अध्ययनरत दलित विद्यार्थीको विवरण उनले दिएनन् ।