१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ असार २७ शुक्रबार ०९:२५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

र्‍याफ्टिङ : नेपालीमा बढ्दो क्रेज विदेशीमा घट्दो

Read Time : > 1 मिनेट
२०७६ असार २७ शुक्रबार ०९:२५:००

गर्मी मौसममा पानीसँग लुकामारी गर्न रुचाउनेहरूको घुइँचो स्विमिङ, र्‍याफ्टिङ, क्यानोइङलगायत पानीसँग सम्बन्धित खेलमा देख्न सकिन्छ । विशेषगरी, पछिल्लो समय र्‍याफ्टिङ सहरियाबीच चर्चित छ । काठमाडौं उपत्यकावासीका लागि त्रिशूली र भोटेकोसी र्‍याफ्टिङ गन्तव्य बन्ने गरेको छ । र्‍याफ्टिङ खेलाउने रिसोर्ट भोटेकोसीमा मात्रै आधा दर्जनको हाराहारीमा छन् । ती रिसोर्टमा उपत्यकाबाट हरेक हप्ता १२ देखि १५ सयको हाराहारीमा मानिस  र्‍याफ्टिङ खेल्न आउने गरेको र्‍याफ्टिङ स्टारका सञ्चालक दीपककुमार राई बताउँछन् । नेपालमा अधिकांश कलेज तथा कार्यालय शनिबार बिदा हुने कारण शुक्रबार र्‍याफ्टिङका लागि मानिसको भिड लाग्ने गरेको छ । र्‍याफ्टिङ गर्न सबै उमेर समूहका सहरिया आउने गरेका छन् ।

पछिल्लो समय आन्तरिक पर्यटकको चाप अत्यधिक बढेको सञ्चालक राईको भनाइ छ । उनी भन्छन्, ‘अहिले पहिलाको तुलनामा आन्तरिक पर्यटकको चाप  बढ्दो छ, तर बाह्य पर्यटक कम हुँदै गएका छन् ।’ आन्तरिक पर्यटक बढ्नुमा सामाजिक सञ्जालको हात रहेको उनले बताए । उनका अनुसार र्‍याफ्टिङ गरेर फर्केकाले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्ने गरेका कारण स्वतः प्रचार–प्रसार हुने गरेको छ । त्यस्तै, विदेशी पर्यटकको संख्या घट्नुको कारणचाहिँ भिडभाड र कोलाहल रहेको उनको बुझाइ छ । उनले भने, ‘विदेशीहरू सहरिया जीवनबाट वाक्क भएर शान्त ठाउँमा रमाउन भनेर यहाँ आउने हो, अहिले त्यो वातावरण छैन ।

यस्तै कारणले बर्सेनि उनीहरूको संख्या कम हुँदै गइरहेको छ ।’ यस्तो समस्या बुझेर अहिले र्‍याफ्टिङ स्टारलगायत केही ट्राभल एजेन्सीले शुक्रबार, शनिबार र आइतबारबाहेकका दिन विदेशी पर्यटकलाई लैजान थालेका छन् । अच्युत गौतम विगत ३५ वर्षदेखि र्‍याफ्टिङ गाइड गर्दै आइरहेका छन् । साढे तीन दशकको अवधिमा एड्भेन्चर्स क्षेत्रमा आन्तरिक पर्यटक चार गुणाले बढेको उनी बताउँछन् । यद्यपि, मानिसको संख्या बढ्नुलाई ठूलो कुरा मान्दैनन्, उनी । उनी भन्छन् ‘आएकामध्ये अधिकांशले एड्भेन्चर र आउडोर बुझेका हुँदैनन्, कतिपय लहैलहैमा आएका हुन्छन् । त्यसैले, यसलाई म धेरै सकारात्मक मान्दिनँ ।’ उनले थपे, ‘विदेशी पर्यटकको संख्या घट्दो छ । यो भने चिन्ताको विषय हो ।’ 

विदेशी पर्यटक घट्नुको प्रमुख कारण अत्यधिक कोलाहल र स्थानीय मौलिकपना हराउँदै जानु रहेको गौतमको बुझाइ छ । उनी भन्छन्, ‘विदेशीहरू शान्त र नेपाली मौलिकपना खोज्छन्, तर रमाइलो गर्ने नाममा रातभर हल्ला गर्ने तथा चर्को आवाजमा विदेशी गाना बजाउने गर्दा झर्को लागेर उनीहरू आउन छोडेका छन् ।’ विदेशी मुद्रा भित्र्याउन र रोजगारी निर्माणका लागि र्‍याफ्टिङ गतिलो माध्यम रहेको यस क्षेत्रमा कार्यरतहरूको भनाइ छ । तर, मौलिकता नासिँदै गएर पछिल्लो समय विदेशी पर्यटक कम हुनु चिन्ताको विषय रहेको उनीहरूले बताए ।