मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सुमन पाण्डे सञ्चालक
२०७६ असार २७ शुक्रबार ०९:१७:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

इटालियन परिकारको हब मार्कोपोलो

रेस्टुरेन्ट

Read Time : > 1 मिनेट
२०७६ असार २७ शुक्रबार ०९:१७:००

सन् १९८८ तिर । इटालियन नागरिक रोबी रुबिओलोले ठमेलमा इटालियन रेस्टुरेन्ट ‘मार्कोपोलो’ चलाइरहेका थिए । आधिकारिक इटालियन स्वाद पस्किने मार्कोपोलो गज्जबै चलिरहेको थियो । चल्दाचल्दैको रेस्टुरेन्ट ५–७ वर्षपछि बन्द भयो । वर्षौंपछि पर्यटन व्यवसायी सुमन पाण्डेले पुरानो मार्कोपोलो रेस्टुरेन्टलाई पुनर्जीवन दिएका छन् । ठमेलस्थित छाया सेन्टरमा मार्कोपोलो रेस्टुरेन्ट पुनः सञ्चालनमा आएको छ । रेस्टुरेन्टमा आधिकारिक इटालियन र मेडिटेरियन खाना पाइन्छ । रेस्टुरेन्टको इन्टेरियर डिजाइन रफ टाइपको छ, रस्टिक डिजाइन । रेस्टुरेन्ट छिर्नेबित्तिकै एडभेन्चर फिल हुन्छ । रेस्टुरेन्टमा खुला किचन छ । किचनको माथिपट्टि सगरमाथा र अन्नपूर्ण हिमालको जानकारीमूलक तस्बिर राखिएको छ । 

अहिले रेस्टुरेन्ट आंशिक रूपमा सञ्चालनमा आएको छ । नेपालीले डिजाइन गरेको रेस्टुरेन्टमा आउनेहरू रमाउँदै फर्किन्छन् । रेस्टुरेन्ट पूर्ण रूपमा सञ्चालनमा आइसक्दा ग्राहकले फरकपन महसुस गर्ने पाण्डे बताउँछन् । उनी भन्छन्, ‘नेपालमा जति पनि पदयात्री, पर्वतारोही, स्काई डाइभर्स आउँछन्, उनीहरूको जमघट हुने थलो बनोस् भन्ने चाहेको छु ।’  एक–डेढ वर्षको अध्ययनपछि पाण्डेले रेस्टुरेन्ट खोलेका हुन् । रेस्टुरेन्टमा ७० भन्दा बढी सिट छन् । इटालियन र मेडिटेरियन परिकारको स्वाद लिन चाहनेका लागि मार्कोपोलो उपयुक्त रेस्टुरेन्ट हो । रेस्टुरेन्टमा मौलिक इटालियन स्वादसँगै स्पेनिस र ग्रिकका परिकारसमेत खान पाइन्छ ।

रेस्टुरेन्टको मेनुमा रहेका मेडिटेरियन परिकारभित्र लेवनान, इरान र इराकलगायत देशका मौलिक परिकार पर्छन् । अहिले नेपाली खाना बिक्री गर्ने योजना नभएको, तर रेस्टुरेन्ट स्थापित भइसकेपछि नेपाली मौलिक खाना पनि बिक्री गर्ने पाण्डेको योजना छ ।रेस्टुरेन्टमा आउने ग्राहक विदेशीभन्दा नेपाली बढी छन् । मल, होटेल र फिल्म हेर्न आउनेहरू नै रेस्टुरेन्टका मुख्य ग्राहक हुन् । पाण्डे भन्छन्, ‘इटालियन र मेडिटेरियन स्वाद चाख्न परिवार र साथीभाइसँग आउने पनि छन् ।’ पछिल्लो समय बर्थ डे र एनिभर्सरी पार्टी रेस्टुरेन्टमा मनाउन थालिएको छ । मेनु पनि नेपाली उपभोक्तासुहाउँदो रहेको पाण्डे बताउँछन् । दाउरामा पकाएको इटालियन पिज्जा र पास्ता विभिन्न स्वादमा उपलब्ध छन् । ‘सुरुवाती चरणमा रेस्टुरेन्टमा १५–२० खाना उपलब्ध छन्, भविष्यमा ५०–६० किसिमका खाना उपलब्ध गराउनेछौँ,’ पाण्डे भन्छन् । रेस्टुरेन्टमा २५–२६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । 

रेस्टुरेन्टको मेनुमा अरेबिक स्टाइलको मेडिटेरियन सुप सोर्वा एन्ड लेन्टिल सर्भ गरिन्छ । सेफ दीपेन्द्र थापा भन्छन्, ‘इटालीको प्रख्यात मौलिक परिकारमा पास्ता पर्छ ।’ मार्कोपोलोमा पास्ताका लागि क्रिम, बेकन, अन्डा, चिज मिसाएको ‘कार्बोनारा’, स्पाइसी टोमाटो ससको ‘अरेबित्ता’, बफ र पोर्कमा टोमाटो सस मिसाएको ‘बोलोङनेजे’, लसुन, खुर्सानी, मरिच, वलिभ तेललगायत मिसावट गरिएको ‘आग्लिओ ई ओलियो’ र ‘ला पोमोरोला’ उपलब्ध छन् । सेफ थापा भन्छन्, ‘आफूलाई मन पर्ने फ्लेबरको सस, विभिन्न भेराइटीका पास्ता क्यापलेनी, स्पागेट्टी, रिगाटोनी, लिङगुइनी वा पेन्नेमा राखेर खान सकिन्छ ।’रेस्टुरेन्टको उद्देश्य छ, इटालीमा परम्परागत तरिकाले पकाइने स्वाद काठमाडौंमै चाख्न पाइयोस् । त्यसैले, मेनुमा इटालीको चार्चित पिज्जा ‘मार्गरिता’ छ । रेस्टुरेन्टमा डियाभोला, नेपोली, मार्कोपोलोलगायत पिज्जा सर्भ गरिन्छ । मार्कोपोलो यही रेस्टुरेन्टको सिग्नेचर पिज्जा हो । रेस्टुरेन्टमा इटालियन र मेडिटेरियन स्वादका सलाद सर्भ हुन्छ ।