मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असार २७ शुक्रबार ०९:१७:००
Read Time : > 1 मिनेट
अर्थ

तेस्रो मुलुकको कार्गोमा भारतको अवरोध

Read Time : > 1 मिनेट
२०७६ असार २७ शुक्रबार ०९:१७:००

जोगबनी नाकामा रहेको भारतीय भन्सारले सडक जाम नियन्त्रण गर्ने बहानामा नेपाल आउँदै गरेका १०–१० सवारीसाधनलाई पटके लट बनाई पठाउन थाल्यो

सडक जामको कारण देखाउँदै भारतीय पक्षले तेस्रो मुलुकबाट आयात भएका मालवस्तु बोकेका मालबाहक गाडी नेपाल पठाउन नियन्त्रण गर्दा उद्योगी व्यवसायीहरूले मार खेप्नुपरेको छ । तेस्रो मुलुकबाट आयात गरिएका मालवस्तु विनारोकतोक नेपाल पठाउनुपर्ने अन्तर्राष्ट्रिय नियम भए पनि भारतीय पक्षले जोगबनी नाकामा जाम नियन्त्रण गर्ने बहानामा रोक लगाउने र चेकजाँचका लागि संयुक्त भन्सार चौकीमा समेत पठाउने गरेकाले नेपाली उद्योगी व्यवसायीहरूले मार खेप्नु परिरहेको हो ।

विराटनगर भन्सारका प्रवक्ता मणिराम पौडेलले तेस्र्रो मुलुकबाट आयात गरिएका मालवस्तु बोकेका सवारीसाधन आइसिपी वा सडकमा रोकेर राख्न नपाइने अन्तर्राष्ट्रिय नियम भएको प्रस्ट पारे । ‘जाम नियन्त्रण गर्ने वा आइसिपी चेकजाँच सक्रिय बनाउने बहानामा तेस्रो मुलुकका कार्गो बोकेका सवारी रोक्नु गलत हो,’ प्रवक्ता मणिरामले भने । 

भारतको बिहार राज्यस्थित अररिया जिल्लाको जोगबनी नाकामा रहेको भन्सारले सडक जाम नियन्त्रण गर्ने बहानामा नेपाल आउँदै गरेका मालवस्तुहरू १०–१० सवारीको पटके लट बनाएर आइसिपीमा चेकजाँच गराई नेपाल पठाउने गरेको छ । सोझै नेपाल पठाउनुपर्ने तेस्रो मुलुकबाट आयात गरिएका कार्गो बोकेका ट्रक र कन्टेनरहरूलाई समेत भारतीयले छुट दिइरहेका छैनन् ।  

यसले गर्दा तेस्रो मुलुकबाट आयात भएका मालवस्तु बोकेका मालबाहक ट्रकहरू हप्तौँसम्म नाकाको जाममा बस्न बाध्य भइरहेका छन् । भारततर्फ दर्जनौँ तेस्रो मुलुकको कार्गो बोकेका ट्रक कन्टेनरहरू हप्तौँसम्म पालो पर्खेर जाममा बसिरहेका छन् । यसरी  पालो पर्खेर बस्नुपर्दा ट्रान्सपोर्ट र अन्य शुल्क बढ्दा नेपाली उद्योगी व्यवसायीले मार सहन बाध्य भएको विराटनगर भन्सार एजेन्ट संघका उपाध्यक्ष नवलप्रसाद उपाध्यायले बताए ।  

भारतबाट आउने र नेपालबाट जाने मालबाहक सवारीसाधानहरूले गर्दा सडक भत्केर सास्ती पाएको भन्दै जोगबनी नगरका बासिन्दाले जीर्ण सडक मर्मतको माग गर्दै १० देखि १२ असारसम्म सडकमै धर्ना दिएर राजमार्गमा आवगमन अवरुद्ध पारेका थिए । त्यसपछि भारतीय प्रशासनले ६ महिनाभित्र सडक बनाउने प्रतिबद्धता जनाउँदै जाम घटाउन नवनिर्मित आइसिपी (संयुक्त भन्सार जाँच चौकी)को मार्ग भएर मालबाहक सवारी खटाएर नेपाल पठाउन थालेको हो । तेस्रो मुलुकको मालवस्तु बोकेका सवारी रोक्नु नियमविपरीत भएको जान्दाजान्दै पनि भारतीय पक्षले अटेर गर्नु दादागिरीसरह भएको उद्योगी व्यापारीहरू बताउँछन् । उनीहरूले तेस्रो मुलुकबाट आएको कार्गो विनारोकतोक नेपाल पठाइदिन भारतीय पक्षसँग अनुरोध गर्दै आएका छन् । 

नेपालतर्फ पनि काममा निकै ढिलासुस्ती 
नेपालतर्फ रहेको विराटनगर भन्सारमा जाँचपास ढिलाइ हुँदा पनि कतिपय अवस्थामा भारतले पठाएका सवारीसाधन दिनहुँ रोकिन बाध्य भएका छन् । विराटनगर भन्सारका प्रवक्ता मणिराम पौडेलले एजेन्टहरूले जाँचपासमा ढिलाइ गर्दा यार्डमा खाली हुन नपाउँदा आपेक्षाअनुसार सवारी यार्डमा आउन नसकेको बताए । प्रवक्ता पौडेलले भने, ‘पहिलेजस्तो असहज छैन सर्वत्र अनुरोध भएपछि चाँडो–चाँडो गाडी पठाइँदै छ तर यार्ड खाली नहुँदा निकै समस्या भइरहेको छ ।’