१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ असार २७ शुक्रबार ०६:३६:००
Read Time : > 1 मिनेट
समाचार

‘बुटिक एयरपोर्ट’को कन्तबिजोग : पानी पर्दा छाता ओढ्नुपर्ने धाराको पानीमा लेदो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ असार २७ शुक्रबार ०६:३६:००

पर्यटन वर्षलाई लक्षित गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आकर्षक र सुविधानसम्पन्न बनाउन सरकारले २६ करोड रुपैयाँ खर्च गरेर सजाउँदै छ । पर्यटकलाई आकर्षित गर्न विमानस्थललाई बुटिक बनाउने प्रक्रिया अघि बढाइएको छ ।  त्यहीँ ‘बुटिक’ विमानस्थलमा पानी परेपछि यात्रुले छाता ओड्नुपर्ने अवस्था छ । यो विमानस्थलको नयाँ समस्या होइन । ववर्षौंदेखिको समस्या अझै समाधान हुन सकेको छैन । जसकारण यात्रुले समस्या मात्र झेल्नुपरेको छैन, देशकै बेइज्जतसमेत भइरहेको छ । यो वर्ष पनि मनसुन सुरु भएयता हरेक दिनजसो विमानस्थलमा पानी चुहिँदै आएको छ ।

पानी पर्‍यो कि विमानस्थलका कर्मचारी टिनका भाँडो बोकेर पानी चुहिने ठाउँमा थाप्न पुग्ने गरेका छन् । पानी चुहिएर विमानस्थलभित्र ओछ्याइएको नयाँ कार्पेटसमेत कुहिएको छ । जसले गर्दा विमानस्थल गन्हाउने अवस्थामा छ । विगतदेखि नै यस्तो समस्या भए पनि ०७२ को भूकम्पयता विमानस्थलमा पानी चुहिने समस्या बढेको हो । यति सामान्य समस्या समाधानका लागि समेत विमानस्थलले चासो दिएको छैन । अहिले मनसुन सुरु भएपछि हरेक दिनजसो विमानस्थलको कार्पेट पानीले भिज्ने गरेको छ । 

अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्री विमानस्थलमा पानी चुहिने समस्या वर्षाैदेखि रहँदै आएको स्वीकार्छन् । ‘यहाँ पानी चुहिने समस्या वर्षाैं अगाडिदेखिको हो,’ उनले भने, ‘स्थायी रूपमा यो समस्या समाधानका लागि आजै मैले इन्जिनियरलाई निर्देशन दिएको छु ।’ बुटिक एयरपोर्ट बनाउन भनेर मात्र २६ करोड रुपैयाँ छुट्याइएको छ । पानी चुहिने समस्या समाधानका लागि पटक–पटक माग हुँदै आए पनि झारा टार्ने काम हुँदै आएको छ । 

शौचालयको धारोमा लेदो 
विमानस्थलको शौचालय सधैँ फोहोर हुने विमानस्थलको पुरानै समस्या हो । शौचालयको धारामा आउने पानी छुनसमेत नसकिने फोहोर आउने गरेको छ । विमानस्थलको धारामा लेदोसहितको पानी आउँछ । यस्ता समस्याबारे पटक–पटक गुनासो भए पनि विमानस्थल कार्यालयले यसमा चासो दिएको छैन । महाप्रबन्धक क्षत्री भने विगतको तुलनामा शौचालय सधैँ सफा रहेने गरेको र लेदोको समस्या पनि समाधान भइसकेको दाबी गर्छन् । तर, विमानस्थलमा रहेका कुनै शौचालय फोहोर, कुनै धारा टुटी टुटेका तथा कतै फोहोर पानी आउने समस्या अहिले पनि विद्यमान छ ।