मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका जुम्ला
२०७६ असार २६ बिहीबार ११:२९:००
Read Time : < 1 मिनेट
प्रदेश

गाउँगाउँमा हेलिप्याड बनाउँदै  जुम्लाका स्थानीय सरकार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका जुम्ला
२०७६ असार २६ बिहीबार ११:२९:००

अभियानकै रूपमा जुम्लाका गाउँगाउँमा हेलिप्याड निर्माण गरिने भएको छ । जिल्लाका ६० स्थानमा हेलिप्याड निर्माण गर्न लागिएको हो । जुम्लामा एक नगरपालिका र सात गाउँपालिका छन् । सबै स्थानीय तहका ६० वडामा हेलिप्याड निर्माण गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठले बताए । त्यसका लागि स्थानीय तहसँग समन्वय भइरहेको उनको भनाइ छ । 

गाउँमा स्थापित प्रहरीचौकी, स्थानीय तहका पदाधिकारी र स्थानीयको सहमतिमा हेलिप्याडस्थल छनोट भइरहेको छ । दुर्गम क्षेत्रमा कुनै पनि विपद् आउन सक्ने र महामारी फैलन सक्ने सम्भावना मध्यनजर गर्दै उद्धार कार्यलाई सहज बनाउन प्रत्येक वडामा हेलिप्याडको अवधारणा अघि बढाएको हो । हेलिकोप्टर अवतरण गर्न सहज हुनेगरी हेलिप्याडस्थल छनोट गरिनेछ । त्यस्तै, बिरामीलाई हेलिप्याडस्थलसम्म ल्याउन पनि सहज हुनेगरी पनि स्थान चयन गर्नुपर्नेछ । तत्कालका लागि सुत्केरी आमालाई सहज रूपमा उद्धार गर्न सकिने गरी हेलिप्याड निर्माण गरिन लागेको जनाएको छ । 

तिला गाउँपालिका–२ का वडाध्यक्ष कालिबहादुर रावतले तिलाका प्रत्येक वडामा हेलिप्याड निर्माण भइरहेको बताए । ‘हेलिप्याड निर्माण भएपछि बिरामीलाई सुविधा सम्पन्न अस्पतालसम्म लैजान सजिलो हुनेछ,’ उनले भने । प्रत्येक वडावासीको अनुकुलताका आधारमा हेलिप्याड बनाउन थालिएको उनले बताए । यहाँका अधिकांश वडामा सडक पुग्न सकेको छैन ।