२०७५ पौष १८ बुधबार १३:२९:००
रासस

दशरथ रङ्गशाला समयमै नबन्दा १३ औँ ‘साग’ प्रतियोगिता प्रभावित हुने

देशकै एकमात्र अन्तर्राष्ट्रिय दशरथ रङ्गशालामा खेलकुद गतिविधि नभएको चार वर्ष हुन लाग्यो । विसं २०७२ को विनाशकारी ‘भूकम्प’का कारण क्षतिग्रस्त बनेपछि त्रिपुरेश्वरस्थित रङ्गशालामा कुनै पनि खेलकुदका गतिविधि हुन सकेका छैनन् । 

भूकम्प गएको चार वर्ष हुन लाग्दा पनि रङ्गशाला पुनःनिर्माणको काम ७० प्रतिशत हाराहारीमा मात्र भएको छ । भूकम्प गएको करिब दुई वर्षसम्म रङ्गशाला पुनःनिर्माणको काम सुरुनै हुन सकेन । गत जेठदेखि मात्र पुनःनिर्माणले गति लिए पनि तोकिएको समयसीमा आगामी फागुन पहिलो सातासम्म पुनःनिर्माण नसकिने भएको छ । 

आगामी फागुन पहिलो सातासम्म रङ्गशाला निर्माण सम्पन्न गर्ने र फागुन अन्तिम साता हुने तय भएको १३ औँ दक्षिण एसियाली खेलकूद (साग) सोही रङ्गशालामा उद्घाटन गर्ने तयारी भए पनि लक्ष्यअनुसार काम नभएपछि अहिले समस्या उत्पन्न भएको छ । 

रङ्गशालालगायत अन्य भौतिक पूर्वाधार नबन्दा गत मङ्सिरमा तय भएको आठौँ राष्ट्रिय खेलकूद पनि तेस्रो पटक सरिसकेको छ भने १३ औँ दक्षिण एशियाली खेलकूद पनि समयमा नहुने निश्चित भएको छ । 

सन् २०१९ मा नेपालले १३ औँ दक्षिण एसियाली खेलकूद आयोजना गर्ने जिम्मा लिएको छ । तर, दशरथ रङ्गशालाको पुनःनिर्माण सन्तोषजनक नहुँदा १३ औँ दक्षिण एशियाली खेलकूदसमेत अन्योलमा परेको छ । 

राष्ट्रिय खेलकूद परिषद् (राखेप) सदस्य सचिव केशवकुमार विष्टले तोकिएको समयमा भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न नभएपछि नेपालले आयोजना गर्ने १३ औँ दक्षिण एशियाली खेलकूद ६ महिनाका लागि सार्ने प्रस्ताव गरिएको बताए । उनले भने, 'असार मसान्तसम्म पुनःनिर्माण सम्पन्न हुन्छ, रङ्गशालामा भव्य कार्यक्रम गरेर खेलकुदको स्वर्ण युग घोषणा गरेरमात्र म राखेपबाट बिदा हुन्छु ।' 

अठार हजार दर्शक क्षमताको दशरथ रङ्गशालाकोे पुनःनिर्माणको काम नेपालको भौतिक पूर्वाधार तथा अन्य प्राविधिक पक्ष चीन सरकारको सहयोगमा निर्माण हुनेछ । नेपालले निर्माण गर्नुपर्ने काममध्ये ७० प्रतिशत काम पूरा भएको छ । त्यसपछि चीन सरकारले बनाइदिने सम्झौता भएको एथलेटिक्स ट्र्याक, ‘साउन्ड सिस्टम’, ‘फ्लड लाइट’ र ‘स्कोर बोर्ड’को काम सुरु हुनै बाँकी छ । यद्यपि चिनियाँ कम्पनीले स्कोर बोर्ड निर्माणको काम केही साताअघिदेखि सुरु गरेको छ । 

रङ्गशाला पुनःनिर्माणको मुख्य कामको स्वरूपमा रहेको ‘भिआइपी प्यारापिट’ (अति विशिष्ट व्यक्ति बस्ने स्थान) र साधारण प्यारापिट (दर्शक बस्ने स्थान) को तल्लो चार तहको काम पिएल प्रतिष्ठान किराँतेश्वर जेभीले गरिरहेको छ । २०७३ सालमा यो कम्पनीले ठेक्का पारेको थियो । राखेपका पूर्वाधार तथा निर्माण विभागका प्रमुख इञ्जिनीयर अरुण उपाध्यायले भने,  ‘अहिले पनि एक सयदेखि एक सय ५० मजदुरले दैनिक काम गरिरहेका छन् । सबै काम सम्पन्न हुन असार मसान्तसम्म त लाग्छ ।' 

एक महिनाभित्र बाहिरी निर्माणको काम सम्पन्न हुने उल्लेख गर्दै उनले साधारण प्यारापिटको उत्तरतर्फ करिब ३० मिटर प्यारापिटको ढलान र भिआइपी प्यारापिटको ३३ पिलरमध्ये ११ पिलरको रेट्रोफिटको काम बाँकी नै छ । भिआइपी प्यारापिटको छानो हाल्ने र प्यारापिटका सबैतिर कुर्सी राख्न टेन्डर प्रक्रिया सुरु भएकै छैन । 

रङ्गशालाको अहिलेको स्वरूप भने २०५५ सालमा तयार भएको थियो । नेपालले आठौं साफ आयोजना गर्ने निर्णय लगत्तै चीनले आधुनिक रंगशाला निर्माण गर्न सहयोग गरेको थियो । 

रङ्गशालाको सुरुआती चरण 
पहिले खाली मैदान रहेको यो स्थानमा २०१३ सालमा रङ्गशाला बनाइएको हो । त्यतिबेला फुटबल खेल्ने उक्त सार्वजनिक मैदान सानो टुँडिखेलको नामले प्रसिद्ध थियो । तत्कालीन राजा महेन्द्रको राज्याभिषेकको अवसर पारेर २०१३ सालमा फुटबल, टेबुलटेनिस, कुस्ती, एथलेटिक्स र ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने योजना राखियो । त्यसका लागि खेल मैदानको खाँचो महसुस गरी किरण शम्शेरलाई रङ्गशाला बनाउने कामको जिम्मा दिइएको थियो । 

त्यतिबेला रङ्गशालाको पूर्वपट्टि सेनाको ब्यारेक थियो । उत्तरतर्फ बाँसको झ्याङ थियो भने दक्षिणतर्फ खुला थियो । पश्चिमतर्फ राष्ट्रका केही विशिष्ट व्यक्ति आउँदा बसेर खेल हेर्ने घर बनाइयो । रङ्गशालाको पहिलो संरचना त्यहीबेला बनेको हो । राखेप सदस्यसचिवका रूपमा २०३४ सालमा शरदचन्द्र शाह नियुक्त भएपछि यसलाई स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाउने निर्णय भयो । २०३५ मा सुरु गरिएको निर्माण कार्य २०३७ मा सम्पन्न भएको थियो ।