१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ असार २६ बिहीबार ०९:०८:००
Read Time : > 1 मिनेट
खेलकुद

हतारमा राष्ट्रपति रनिङसिल्ड

Read Time : > 1 मिनेट
२०७६ असार २६ बिहीबार ०९:०८:००

राष्ट्रिय खेलकुद परिषद्ले अचानक निर्देशन दिएपछि विभिन्न जिल्लामा राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता हतारमा सञ्चालन भइरहेको छ । झापामा पनि जिल्लास्तरीय ११औँ राष्ट्रपति रनिङसिल्ड शनिबारदेखि सुरु भएको हो । परिषद्ले गत साता झापा जिल्ला खेलकुद विकास समितिलाई प्रतियोगिता गर्न निर्देशन दिएको थियो । त्यसपछि समितिको आकस्मिक बैठकले प्रतियोगिता शनिबारदेखि सुरु गर्ने गर्‍योे । ‘खेलकुद मन्त्रालयले असारभित्रै नगरे यसपछि प्रतियोगिता गर्न सकिँदैन भनेर राखेपलाई जानकारी गराएको रहेछ,’ समितिका अध्यक्ष शंकर थापाले भने, ‘मन्त्रालयको दबाबमा राखेपले हामीलाई निर्देशन दियो ।’ रनिङसिल्ड गत फागुनमै हुनुपर्ने थियो । तर, आठौँ राष्ट्रिय खेलकुद फागुनमै हुने भनिएपछि रनिङसिल्डसमेत ओझेलमा परेको थापाले बताए । ‘आठौँ राष्ट्रियले खेलकुद प्रतियोगिताले गर्दा राष्ट्रपति रनिङसिल्डसमेत ओझेलमा पर्‍यो, सबै जनशक्ति र पैसा पनि त्यतै गयो,’ निराश हुँदै थापाले भने । 

 असारमा मात्र बजेट निकास
राखेपले प्रतियोगिता गर्न मन्त्रालयसँग पटक–पटक बजेट निकासा गर्न ताकेता गर्‍यो । मन्त्रालयले असारभित्रै जिल्ला, प्रदेश र केन्द्रको प्रतियोगिता सम्पन्न गर्ने निर्देशनसहित बजेट निकासा गरेको छ । मन्त्रालयले राखेपलाई २४ असारसम्म सबै जिल्लाको प्रतियोगिता सकाउन दबाब दिएको थियो । ‘२५ देखि २७ असारसम्म प्रदेशको र २८–३० असारसम्म केन्द्रमा प्रतियोगिता सकाउनु भनी मन्त्रालयले परिषद्लाई दबाब दिएको छ,’ राखेपका एक सदस्यले नयाँ पत्रिकासँग भने । यता राखेपको निर्देशनअनुरूप नै समिति पनि हतारमै प्रतियोगिता गर्न बाध्य भएको अध्यक्ष थापाले बताए । यद्यपि, छोटो समयमा थापाले राखेपका पदाधिकारीलाई प्रतियोगिता सञ्चालन गर्न नसकिने अवगत गराएका थिए । तर, मन्त्रालयकै दबाबमा जसरी पनि प्रतियोगिता असारभित्रै गर्नुपर्ने बताएपछि झापाले शनिबारदेखि नै रनिङसिल्ड गर्न बाध्य भएको थापाले जनाए । 

खेलकुद मन्त्रालयद्वारा असारभित्रै जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड सकाउनुपर्ने राखेपलाई दबाब, राखेपकै निर्देशनमा विभिन्न जिल्लामा विनातयारी प्रतियोगिता सञ्चालन

 धेरै जोखिम
प्राविधिकले समेत प्रतियोगिता गर्न नमिल्ने जनाए पनि खेलाडी छनोट गर्नका लागि प्रतियोगिता गरेको थापाले बताए । ‘प्राविधिक प्रतियोगिता गर्न तयार छैनन्, तर हामीले हतारमा र जोखिम उठाएर खेलायौँ,’ अध्यक्ष थापा भने । उनका अनुसार प्रतियोगिताका लागि केन्द्रबाट रकम निकास भएको छैन । यसअघि स्थानीय तहमा खेलाडी छनोट गर्न मन्त्रालयले हरेक पालिकामा जनही एक लाख रुपैयाँ निकासा भएको थियो । जिल्लास्तरीय प्रतियोगिता सम्पन्न गर्न १० लाख खर्च लाग्ने उनको भनाइ छ । ‘माथिल्लो निकायसँग कुराकानी गर्दा बजेट निकासा हुने आश्वासन दिएका छन्, तर त्यो पनि नयाँ सदस्यसचिव नियुक्ति भएपछि चेक आउँछ होला,’ उनले भने । 

सलामी विवाद
प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले गरेका थिए । उद्घाटनमा प्रमुख अतिथि पोर्तेललाई रातो कपडा बिछ्याइएको एउटा टेबलमा चढाएर सलामी दिइएको छ । सालमी लिएपछि पोर्तेल सामाजिक सञ्जालमा विवादित बनेका छन् । ‘पिर्के सलामी’ विवादित भइरहँदा प्रमुख अतिथि पोर्तेलले सलामी लिन मानेनन् । तर, समितिका अध्यक्ष थापाले सरकारले नै आयोजना गरेको प्रतियोगिता र पहिलेदेखि नै चल्दै आएको सलामीको प्रचलनलाई निरन्तरता दिन सलामी लिनुपर्ने पोर्तेललाई जानकारी दिए । त्यसपछि मात्र पार्टेल टेबलमा उक्लिएका थिए । समितिले सलामीकै लागि ६ इन्चको एउटा टेबलको व्यवस्था गरेको थियो ।