१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ असार २६ बिहीबार ०६:४७:००
Read Time : > 6 मिनेट
मुख्य समाचार

विद्यार्थी सिट संख्या ३०० : भर्ना १०,८६८

नेपाल ल क्याम्पस : प्राध्यापक, कक्षाकोठा, डेस्क, बेन्च र अन्य सुविधा उस्तै, तर एक विद्यार्थीको ठाउँमा ३६ विद्यार्थी भर्ना 

Read Time : > 6 मिनेट
२०७६ असार २६ बिहीबार ०६:४७:००

नयाँ पत्रिका विश्वविद्यालय फलोअप : विद्यार्थी भर्ना र पठनपाठन भद्रगोल

कानुनमा अवकाशप्राप्त कर्मचारीदेखि जनप्रतिनिधिसम्मको आकर्षण 

त्रिभुवन विश्वविद्यालयमा स्नातक तहको कानुन शिक्षा अध्ययन गर्नेहरूको संख्या अध्यधिक बढेको छ । एलएलबीमा अधिकतम तीन सय क्षमता रहेको नेपाल ल क्याम्पसमा प्रथम वर्षमा १० हजार आठ सय ६८ भर्ना भएका छन् । एलएलबी प्रथम वर्षका करिब ११ हजारले परीक्षा दिएर दोस्रो वर्षमा प्रवेश गर्दै छन् । तर, अब कति भर्ना लिने भन्ने अन्योल थपिएको छ । 

क्षमताभन्दा अध्यधिक बढी भर्ना लिएको र गुणस्तर नभएको भन्दै सर्वोच्च अदालतमा रिट परेपछि कति संख्यामा नयाँ भर्ना गर्ने भन्ने अन्योल छ । नयाँ भर्नाका लागि प्रवेश परीक्षाको फारम भर्दै गर्दा सर्वोच्चमा मुद्दा परेको थियो । सर्वोच्चले भर्ना क्षमता यकिन गरी सीमित संख्यामा भर्ना गर्न आदेश दिएको थियो । 

सर्वोच्चको आदेशपछि ल क्याम्पसले अध्ययन कमिटी बनाएको थियो । सो कमिटीले समावेशी कोटासहित एलएलबीमा तीन सय भर्ना गर्न उचित हुने सिफारिस गरेको थियो । क्याम्पस प्रमुख डा. डिएन पराजुलीले कति संख्यामा भर्ना गर्ने र अब प्रवेश परीक्षाको आवेदन खुलाउने वा नखुलाउने भन्ने विषयमा कार्यकारी परिषद्को निर्णय पर्खेको बताए । यसअघि खुलाएको प्रदेश परीक्षामा करिब २६ सयले आवेदन फारम भरेका छन् । नेपाल ल क्याम्पसका प्रमुख पराजुलीका अनुसार एलएलबीमा पूर्वश्रममन्त्री सरिता गिरी तथा अन्य नेताहरूसमेत भर्ना भएका छन् । कानुनतर्फ स्नातक तहमा बिएएलएलबी र एलएलबी गरी दुईथरी कार्यक्रम छन् । स्थानीय तहका उपाध्यक्ष तथा उपमेयरलाई न्यायिक समितिको संयोजकको जिम्मेवारी तोकेपछि जनप्रतिनिधि कानुन शिक्षा लिन भर्ना हुने संख्या धेरै छ । गाउँपालिका, नगरपालिकामा न्यायिक समिति छन् । स्थानीय तहका उपाध्यक्षहरूलाई कानुनी ज्ञान हुनु अनिवार्यजस्तै भएको छ । नेपाल ल क्याम्पसमा झन्डै दुई सय स्थानीय तहका उपाध्यक्षले एलएलबी पढ्न आएको क्याम्पस प्रमुख पराजुलीले बताए । 

भर्ना हुने संख्या धेरै भए पनि नियमित पढ्न आउने र परीक्षा दिनेको संख्या एकदमै न्यून छ । विद्यार्थी नियमित रूपमा पढ्न आउने हो भने तीन सयलाई पनि सेवा दिन मुस्किल हुने बताए । धेरै विद्यार्थीले जाँचसमेत नदिएको उनले बताए । सुरुमा केही विद्यार्थी अध्ययन गर्न आए पनि पछिल्ला दिनमा कम हुँदै गएको बताए । 

साइन्स : ल्याबका उपकरण किनिन्छन्, विद्यार्थीले देख्न नपाई खिइन्छन्, मानविकीभन्दा साइन्समा कमजोर नतिजा

नौ सय ६० विद्यार्थी पढाउन सक्ने त्रिचन्द्र क्याम्पसमा ३५ सय भर्ना 

नेपालमा साइन्सका कतिपय विद्यार्थीले प्रयोगात्मक कक्षामा हुनुपर्ने उपकरण नै नदेखी पढाइ सक्ने गरेका छन् । साइन्सका कार्यक्रम सञ्चालन गरेका त्रिविलगायत विश्वविद्यालयका केही आंगिक क्याम्पसमा आवश्यकताअनुसार प्रयोगात्मक कक्षा छैन । क्याम्पसमा क्षमताभन्दा तेब्बर विद्यार्थी भर्ना हुने भएकाले अधिकांशले प्रयोगशालामा अभ्यास गर्न पाउँदैनन् । त्यसैले लगानी र मिहिनेत बढी हुने साइन्सको नतिजा पछिल्लो समय बिएकोभन्दा कमजोर छ । विश्वविद्यालय अनुदान आयोगले गरेको अनुसन्धानमा यस्तो बेथिति भेटिएको हो ।  

बिएस्सी र एमएस्सी कक्षा सञ्चालन गरिरहेका आंगिक क्याम्पसहरूको अवस्था अध्ययन गर्न आयोगद्वारा गठित प्रा.डा. राजु खनाल नेतृत्वको समितिले साइन्सको अवस्था नाजुक रहेको प्रतिवेदन बुझाएको छ । समितिले ०७५ मा गरेको अध्ययनअनुसार पछिल्ला वर्षहरूमा मानविकीतर्फको बिएभन्दा बिएस्सीको नतिजा कमजोर छ । ०७४ मा बिएस्सीका विद्यार्थीको उत्तीर्ण प्रतिशत ४०.५८ रहेकामा बिएमा ४४.५५ प्रतिशत उत्तीर्ण भएका थिए । त्यस्तै, ०७३ मा बिएस्सीमा औसत ३५.९९ प्रतिशत उत्तीर्ण भएकामा बिएमा ३९.५५ प्रतिशत पास भएका थिए । 

समितिले बुझाएको ‘बिएस्सी र एमएस्सी कक्षा सञ्चालन गरिरहेका आंगिक क्याम्पसहरूको अवस्था प्रतिवेदन, २०७५’मा कतिपय क्याम्पस साइन्सका कार्यक्रम सञ्चालन गर्न भौतिक र जनशक्तिका हिसाबले उपयुक्त नभएको सिफारिस गरेको छ । समितिले त्रिविका २४ र मध्यपश्चिम तथा सुदूरपश्चिम विश्वविद्यालयको अवस्था अध्ययन गरेको थियो । समितिमा प्रा.डा. निरञ्जन पराजुली, डा. गीताञ्जली त्रिपाठी र दिनेश प्रजापति सदस्य थिए । 

त्रिभुवन विश्वविद्यालयका ६० आंगिक क्याम्पसमध्ये २४ मा साइन्स कार्यक्रम सञ्चालन भइरहेको छ । त्रिविअन्तर्गत साइन्सको कुल क्षमताको ४० प्रतिशत त्रिचन्द्रमा छ । त्रिचन्द्रमा साइन्सका सबै विषयमा स्नातक तहमा एक हजार पाँच सय विद्यार्थी कोटा रहेकोमा तीन हजार पाँच सयसम्म भर्ना हुने गरेको समितिको प्रतिवेदनमा उल्लेख छ । प्रयोगशालाको अवस्थाका आधारमा त ९ सय ६९ कोटा मात्रै तोक्न सिफारिस गरेको छ । यही प्रयोगशाला पनि पुनर्निर्माण गर्नुपर्ने जनाएको छ ।

समितिले प्रयोगात्मक पढाइको अवस्था झन् नाजुक भएको जनाएको छ । भौतिकशास्त्रमा एउटा प्रयोगात्मक कक्षामा १२० जनासम्म राखेर पढाइने र परीक्षा लिनमात्र ४५ दिन लाग्ने गरेको जनाएको छ । त्यस्तै, माइक्रोबायोलोजीमा करिव एक हजार दुई सय विद्यार्थी हुने  र ६०–७० जनाको समुहमा प्रयोगात्मक हुने गरेको छ । रशायनशास्त्र अध्ययन गर्ने विद्यार्थीलाई केमिकलको अभाव छ । वायोरसायनशास्त्रलगायतका नयाँ कोर्ष पढाउने शिक्षकसमेत नभएको विद्यार्थीको गुनासो छ । 

भक्तपुर क्याम्पस  : तीन विद्यार्थीलाई एक शिक्षक, तर उपकरण प्रयोगबिहिन
भक्तपुर बहुमुखी क्याम्पसमा विज्ञान कार्यक्रममा कुल विद्यार्थी संख्या एक सय ३८ छ । यी विद्यार्थीका लागि २५ पुर्णकालीन र १८ आंशिक शिक्षक छन् । यो आधारमा तीन विद्यार्थीबराबर एक शिक्षक छन् । तर, क्याम्पसमा साइन्सका प्रयोगशाला र उपकरण प्रयोगविहीन छन् । 

बिज्ञान तथा प्रबिधि अध्ययन संस्थानको डीन कार्यालयले क्याम्पसको वनस्पतिशास्त्र बिभागलाई दिएको अटोक्लेव, ओभन, इन्कुभेटर अनुसन्धानका लागि प्रयोगमै आएका छैनन् । प्राणीशास्त्र र वनस्पतिशास्त्र विषयमा टिस्युकल्चर र मलिक्युलर बायोलोजीको पाठ्यक्रम रहेपनि प्रयोगशाला र पढाउने शिक्षक छैनन् । केही उपकरणको ‘शिपिङ बक्स’ नै नखोलिएको अनुदान आयोगको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । कतिपय प्रयोगशाला भए पनि उपयोग नगरेको जनाएको छ । 

पद्मकन्या क्याम्पस : प्रयोगशाला छन, प्रयोग छैन
पद्मकन्या क्याम्पसमा पाठ्यक्रममा भएका विषयको समेत प्रयोगात्मक हुने गरेको छैन । प्राणीशास्त्र, वनस्पतिशास्त्र र माइक्रोवायोलोजीमा प्रयोगात्मक काम हुन नसकेको पाइएको छ । रशायनशास्त्र विभागमा स्पेक्टोफोटोम्टर भए पनि सञ्चालनमा छैन । सो उपकरण शिक्षकलाई समेत चलाउन नआएको विद्यार्थीहरूले गुनासो गरेको प्रतिबेदनमा उल्लेख छ । फिजिकल केमेस्ट्रीको प्रयोगशाला नै छैन । वनस्पति बिभागमा टिस्यु कल्चर सम्बन्धी प्रयोगात्मक कक्षा हुँदैन भने माइक्रोवायोलोजीमा पनि कोर्ष अनुसार २० प्रतिशत पनि प्रयोगात्मक हुँदैन । 

अमृत साइन्समा उपकरण र सामाग्रि अभाव
लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा प्रयोगशालामा उपकरण र सामाग्रीको अभाव रहेको पाइएको छ । कप्म्पुटेशनल ल्याबका लागि शिक्षकको ब्यवस्था नै छैन । रसायनशास्त्रतर्फको अनुसन्धान प्रयोगशाला निकै सानो छ । 

वीरेन्द्र बहुमुखी क्याम्पस : चाहिने भन्दा नचाहिने केमिकल बढी
भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसको प्रयोगशालाको अवस्था दयनिय छ । प्रयोगशालामा गुणस्तरहिन सामाग्रि आउने र पाठ्यक्रम अनुसारको प्रयोगात्मक हुन सकेको छैन । क्याम्पसको वनस्पिति बिभागमा सामान भएर पनि विषयगत शिक्ष्ँकको अभावमा टिस्यु कल्चरको प्रयोगात्मक कक्षा हुन सकेको छैन । रसायनशास्त्रका शिक्षकका अनुसार क्याम्पसमा चाहिने भन्दा नचाहिने केमिकल आउने गरेको छ । सो कलेजका शिक्षक निजी कलेजमा धाउँदा पठनपाठन नै प्रभावित भएको छ । 

पृथ्वीनारायण क्याम्पस : प्रयोगात्मकमा क्षमताभन्दा दुई गुणा विद्यार्थी
पोखरास्थित पृथ्वीनारायण क्याम्पस पनि केहि विषयमा प्रयोगात्मक कक्षामा समस्या छ । भौतिकशास्त्रमा प्रयोगशालाको क्षमता भन्दा दुई गुणा बढी विद्यार्थी सहभागि हुने गरेका छन् । रसायनशास्त्रमा केमिकलको अभाव छ । प्राणाीशास्त्र विभागमा माइस्कोसकोप र काइक्रमेस्लाइडको अभाव छ । पुराना शिक्षकले नोट दिने तर राम्रो संग नपढाउने समस्या छ । शिक्षक निजी कलेज धाउँदा पढाइ प्रभावित भएको गुनासो छ ।  

ठाकुरराम बहुमुखी : अयोग्य प्रयोगशाला
वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका कुनै पनि प्रयोगशाला विद्यार्थीका लागि प्रयोग योग्य नभएको अध्ययन प्रतिबेदनमा उल्लेख छ । प्राणीशास्त्र बिभागमा मलिक्युलर बायोलोजीको प्राक्टिकल नभएको पाइएको छ । पाठ्यक्रम अनुसार प्रयोगात्मक नहुने र केहि विषयमा उपकरणको अभाव हुने गरेको छ । गणित र तथ्याङकशास्त्रको लागि कम्प्युटर प्रयोगशाला छैन । 

रामस्वरुप रामसागर : २० वर्षदेखि उस्तै
जनकपुरस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका प्रयोगशाला समेत प्रयोग योग्य नभएको अध्ययन समितिको ठहर छ । सो क्याम्पसमा २० वर्षदेखि बिज्ञानको सामान आएका छैनन । कतिपय शिक्षक पढाउन समेत योग्य नभएको विद्यार्थीहरूले गुनासो गरेका छन् । सो क्याम्पसमा वनस्पतिशास्त्र वाहेकका विषयमा प्रयोगात्मक कक्षा हुँदैन । 

सूर्यनारायण सत्यनारायण : बिएससी बन्द गर्न सुझाव
सिराहाको सूर्यनारायण सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पसमा बिएससी कार्यक्रम अत्यन्तै कमजोर रहेको पाइएको छ । पहिले आइएससी हुँदा सञ्चालनमा आएको प्रयोगशाला अहिलेसम्म सुधार र स्तरोन्नती गरिएको छैन । प्राणीशास्त्र र रसायनशास्त्रमा कुनै प्रयोगात्मक हुने गरेको छैन । विद्यार्थी संख्या पनि थोरै छ । अध्ययन समितिले सो क्याम्पसको बिएससी कार्याक्रम बन्द गर्न सुझाव दिएको छ । 

महेन्द्र बिन्देश्वरी : प्रयोगात्मक उपकरणमा खिया
राजविराजस्थित कहेन्द्र विन्देश्वरी क्याम्पसको साइन्सको कार्यक्रम नाजुक छ । साइन्सको पढाईमात्र होइन प्रयोगात्मक कार्यसमेत नहुँदा उपकरणमा खिया लागेका छन् । प्रविणता प्रमाणपत्र तहहुँदा जे अवस्थामा सञ्चालन थियो अहिले सोही अवस्थामै छ । उपकरणहरू पुराना र लामो समय प्रयोगमा नल्याउँदा काम नलाग्ने भएका छन् । ग्लास बोतलमा रहेका केमिकल सुकेका र प्रयोगशालामा डिस्टिल वाटर बनाउने मेसिन खिया लागेर बिग्रिएका छन् । प्रयोगशालामा सुक्ष्मजीव कल्चरको ब्यवस्था छैन । त्यसैगरी पाठ्यक्रम अनुसार मलिक्युलर बायोलोजी, बायोरशायनशास्त्रको प्रयोगशाला नै स्थापना भएको छैन । 

स्नातकोत्तर क्याम्पस : शिक्षकले बाड्छन किर्तिपुरको फोटोकपी
बिराटनगरस्थित स्नातकोत्तर क्याम्पसमा उपकरण र प्रयोगशालाको अवस्था राम्रो छैन । उपकरणहरू नचल्ले  अवस्थामा छन् । प्रयोगशाला कक्षाहरू धुलाम्मे र फोहर अवस्थामा छन् । फिजियोलोजी, प्यागोलोजी, जेनेटिक्स, साइटोलोजी जस्ता विषयमा प्रयोगात्मक कक्षा हुन सकेका छैनन । प्रतिबेदनमा भनिएको छ, ‘किर्तिपुरबाट फोटोकपी गरेर ल्याइएका कपिहरू विद्यार्थीलाई उपलब्ध गराइन्छ, प्रयोगशालामा पुस्तक छैनन । शिक्षकको अभाव छ ।’ डीन कार्यालयबाट आएका उपकरणसबै कम गुणस्तर र नचल्ने किसिमका छन् । 

केन्द्रीय प्रबिधि क्याम्पस : विद्यार्थीबाट नयाँ उत्पादन
धरानस्थित केन्द्रीय प्रबिधि क्याम्पसको अवस्था राम्रो रहेको पाइएको छ । शिक्षक र विद्यार्थीको सहकार्यमा नयाँ नयाँ उत्पादन गर्न समेत सफल भएको पाइएको छ । केहि विषयबाहेकमा उपकरणको पनि ब्यवस्था छ । खाद्य प्रबिधिको पाठ्यक्रम अनुसार करिव ८० प्रतिशत प्रयोगात्मक कक्षा सञ्चालन भएका छन् । विद्यार्थीहरूले रियो जुस, सिस्नो पाउडर समेत उत्पादन गरेका छन् । प्रयोगात्मक कक्षा राम्रो भएका कारणले पनि खाद्य प्रबिधिमा विद्यार्थीको आकर्षण बढेको प्रतिबेदनमा उल्लेख छ । 

सेमेस्टर प्रमाणलीमा कतै ३२ जना कतै ६०
त्रिविको स्नातकोत्तर तहमा सबै कार्यक्रम सेमेस्टर प्राणलीमा सञ्चालन भएको छ । त्रिविमा ब्यवस्थानका कायृक्रम सञ्चालन गर्ने केहि आंगिक क्याम्पसमा अध्यनधिक चापा छ । ब्यवस्थापन संकायको एमबिएस सेमेस्टर प्राणलीमा सुरु भए पनि विद्यार्थी संख्या धेरै छ । त्रिविकै सेमेस्टर प्रणालीमा सञ्चालन हुने कार्यक्रममा विद्यार्थी संख्या फरक छ । त्रिविले एमबिएमा ३५ र एमबिएममा ४४ जना राख्ने ब्यवस्था गरेको छ । तर ब्यवस्थापन संकायकै एमबिएस कार्यक्रममा एउटा कम्तिमा ६० जना राखेर पढाउने गरेका छन् । शंकरदेव क्याम्पसले एउटा सेमेस्टरमा बिबिए र बिबिएममा ३२ जना राखेर पढाउँछ । तर एमबिएसमा एउटा सेमेस्टरमा ६० जना राख्ने गरेको छ । स्पेसलाइजेसन विषयमा त्यो भन्दा पनि बढी विद्यार्थी एउटा सेमेस्टरमा पढ्छन् । शंकरदेवले एक सेमेस्टरमा एमबिएसमा १५ सय विद्यार्थी भर्ना गरेको छ । क्षमता अनुसार सो संख्या धेरै रहेको एक प्राध्यापकले बताए । 

त्रिविको आंगिक नेपाल कमर्श क्याम्पसमा समेत विद्यार्थीको चाप धेरै छ । सो क्याम्पसले प्रत्येक वर्ष सबै सिफ्टमा गरी एक हजारको हारहारीमा भर्ना गर्दछ । क्याम्पस प्रमुख प्रा.डा. जीवन भट्टराईले सेमेस्टरको मर्म अनुसार पठनपाठनका लागि एउटा सेमेस्टरमा ६० जना धेरै हुुने बताए । उनले भने, ‘हामीले केन्द्रको नर्मस् मानेका हौं, विद्यार्थीको सहि मुल्याङकनका लागि त्यो संख्या धेरै हो ।’दिउँसो र बेलुकीमा पुर्वाधार प्रसस्त भए पनि बिहान पढ्न चाहने विद्यार्थीको चाप धेरै छ ।