मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असार २६ बिहीबार ०७:०२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

निजीभन्दा स्मार्ट पार्किङको शुल्क महँगो

Read Time : > 1 मिनेट
२०७६ असार २६ बिहीबार ०७:०२:००

काठमाडौं महानगरपालिकाले सुरु गरेको ‘स्मार्ट पाकिङ’ को शुल्क निजीको भन्दा महँगो भएको गुनासो उपभोक्ताले गरेका छन् । निजी कम्पनीसँगको साझेदारीमा महानगरपालिकाले ३२ जेठदेखि काठमाडौंका दरबार मार्ग, विशालबजार, न्युरोड, खिचापोखरी, पाको र  धर्मपथ क्षेत्रमा स्मार्ट पार्किङ सुरु गरेको हो । महानरपालिकाले निजी कम्पनी ह्विल ट्र्युली योर्स र एड ग्रुपको साझेदारीमा स्मार्ट पार्किङ सुरु गरेको हो ।

कम्पनीले उपभोक्तासँग दुईपांग्रे सवारीसाधनको प्रतिघन्टा २५ रुपैयाँ र चारपांग्रे सवारीसाधनको प्रतिघन्टा ८० रुपैयाँ लिँदै आएको छ । तर, निजी कम्पनीले दुईपांग्रेको प्रतिघन्टा २० र चारपांग्रेको प्रतिघन्टा ५० देखि ६० रुपैयाँ मात्रै शुल्क लिन्छन् । महानगरसँगको सम्झौताअनुसार कम्पनीले पाँच वर्षसम्म सोही दरमा शुल्क उठाउन पाउनेछ । 

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले स्मार्ट पार्किङका नाममा स्थानीय सरकारबाटै लुट मच्चाइनु शोभनीय नभएको बताए । उनले भने, ‘निजी कम्पनीसँगको साझेदारीमा काठमाडौंका केही सहरमा स्मार्ट पार्किङ सुरु भएको पाइयो । प्रविधिमैत्री बन्ने काम राम्रै होला । तर, निजी कम्पनीले यसैका नाममा उपभोक्ताबाट महँगो शुल्क असुल्ने गरेको पाइएको छ । यसरी उपभोक्ता लुट्न पाइँदैन ।’

विशेषगरी, उपभोक्तको विरोध पाँच मिनेट र एक घन्टा पार्क गरेको शुल्क बराबर असुलिनेमा छ । दरबारमार्गमा कार पार्किङपछि बिहिरिँदै गरेको अवस्थामा भेटिएका चलचित्रकर्मी करण श्रेष्ठले भने, ‘मैले  २० मिनेट जति गाडी पार्क गरेँ होला । तर, शुल्क ८० रुपैयाँ तिरेँ । यो अति महँगो भयो । मिनेटको हिसाबमा तिर्छुभन्दा नपाइने रहेछ । पार्किङमा प्रविधि प्रयोग गरिनु राम्रो हो । तर, यसैका नाममा उपभोक्ता ठगिनु राम्रो भएन । यसलाई सच्याउनु पर्छ ।’ महानगरपालिकाका अनुसार स्मार्ट पार्किङका लागि उपभोक्ताले १५ मिनेट अघि नै एप्सबाट पार्क गरिने ठाउँ बुक गर्नुपर्छ ।

पार्क गरेपछि कम्पनीका प्रतिनिधि र उपभोक्ताबीच बिल भुक्तानी उपकरणबाटै हुन्छ । पार्क गरिएको सवारीसाधनको समयावधिसमेत जडान गरिएका सिसि टिभीमार्फत कम्पनीले कन्ट्रोल रुममार्फत नियालिरहेको हुन्छ । पार्किङ गरिएका सम्पूर्ण सवारीसाधनको समयावधि प्रविधिमार्फत नै हेरिने भएकाले शुल्क असुली पनि मिनेटकै आधारमा असुल्नुपर्ने उपभोक्ताको भनाइ छ । बानियाँले भने, ‘सम्पूर्ण काम प्रविधिमार्फत हुन्छ । समयको पाइपाइ हिसाब किताब हुन्छ भने शुल्क पनि सोहीअनुसार लिनुपर्छ । पाँच मिनेट र एक घन्टा पार्क गरेका उपभोक्तासँग बराबर शुल्क उठाउने काम कुनै हालतमा न्यायोचित होइन ।’

अन्य मुलुकमा पनि यस्तै हुन्छ 
 धुव्र  काफ्ले, प्रमुख सार्वजनिक साझेदारी एकाइ, महानगरपालिका

स्मार्ट पार्किङको शुल्कका विषयमा उपभोक्ताबाट गुनासो आएका छन् । सडकमा पार्किङ गर्ने कामलाई दुरुत्साहन गर्नकै लागि हामीले शुल्क महँगो लिएका हौँ । यद्यपि, सडक हिँड्नका लागि हो । गाडी पार्क गर्न होइन । यसलाई हामी पूर्ण रूपमा हटाउन चाहन्छौँ । त्यही भएर नै हामीले स्मार्ट पार्किङको शुल्क महँगो राखेको हौँ । अन्य मुलुकमा पनि यस्तै नै हुन्छ ।

उपभोक्ता लुट्न पाइँदैन 
ज्योति बानियाँ अध्यक्ष, उपभोक्ता हित संरक्षण मञ्च

निजी कम्पनीसँगको साझेदारीमा काठमाडौंका केही सहरमा स्मार्ट पार्किङ सुरु भएको पाइयो । प्रविधिमैत्री बन्ने काम राम्रै होला । तर, निजी कम्पनीले यसैका नाममा उपभोक्ताबाट महँगो शुल्क असुल्ने गरेको पाइएको छ । यसरी उपभोक्ता लुट्न पाइँदैन । समयको पाइपाइ हिसाब किताब हुन्छ भने शुल्क पनि सोहीअनुसार लिनुपर्छ । पाँच मिनेट र एक घन्टा पार्क गरेका उपभोक्तासँग बराबर शुल्क उठाउने काम कुनै हालतमा न्यायोचित होइन ।