मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असार २५ बुधबार १०:३७:००
Read Time : > 1 मिनेट
प्रदेश

बजेटमा सत्तापक्षकै असन्तुष्टि

Read Time : > 1 मिनेट
२०७६ असार २५ बुधबार १०:३७:००

सुदूरपश्चिम प्रदेश सभामा बजेटमाथिको छलफलका क्रममा सत्तापक्षकै सांसदहरूले बजेटप्रति तीव्र असन्तुष्टि जनाएका छन् । बजेटमा असहमति जनाउँदै यसअघि हस्ताक्षर संकलन गरेर मुख्यमन्त्रीलाई बुझाएका सत्ता पक्षका सांसदहरूले संसद्मा बजेट र सरकारको चर्को आलोचना गरे । क्षेत्रगत रूपमा बजेट असन्तुलित रहेको, पहुँचका आधारमा विनियोजन गरिएको र बजेट अपारदर्शी भएको भन्दै सांसदहरूले आपत्ति जनाएका हुन् । 

नेकपाका सांसद महेशदत्त जोशीले आफ्नो क्षेत्रबाट सिफारिस गरिएका एउटा पनि योजना बजेटमा नपरेका र गत वर्षका योजनाले पनि निरन्तरता नपाएको गुनासो गरे । ‘मेरो क्षेत्रमा जनताले माग गरेका एउटा पनि योजना बजेटमा परेका छैनन् । जनताले माग गरेका योजना मैले सम्बन्धित मन्त्रालयहरूमा बुझाएको थिएँ,’ जोशीले भने, ‘तर कुनै मन्त्रालयको बजेटमा पनि योजनाहरू परेनन् ।’ योजना कार्यान्वयन गर्न जनताबाट आफूलाई बारम्बार दबाब आउने गरेको उनले सुनाए । ‘त्यहाँका जनताले सरकार र मन्त्री चिन्दैनौँ, तँलाई जिताएर पठाएका छौँ, तैँले गर, गर्नुपर्छ भन्छन्,’ जोशीले भने, ‘तर एउटा पनि योजना परेनन् । मन्त्रीले बजेट दिएनन् भनेर उम्कन  सक्ने अवस्था पनि छैन, म के गरुँ ?’

संसद् सञ्चालन गर्न प्रतिपक्षी दलहरूसँग भएको भनिएको सहमतिबारे संसद्लाई जानकारी नगराएकोप्रति पनि सांसदले आपत्ति जनाए । बजेटप्रति असन्तुष्टि जनाउँदै सत्तारुढ नेकपाका २५ जना सांसदले हस्ताक्षर संकलन गरी मुख्यमन्त्री त्रिलोचन भट्टलाई बुझाएका थिए । 

सरकार नटिक्ने चेतावनी
सरकारप्रति निकै आक्रामक रूपमा प्रस्तुत भएका सांसद महेशदत्त जोशीले पार्टीभित्रै मिलाउन नसके सरकार धेरै दिन नटिक्ने चेतावनी दिए  । आफ्नो भाइ विभिषण साथमा नहुँदा रावणको अन्त्य भएको पौराणिक प्रसंग सुनाउँदै उनले सरकारलाई लक्षित गरेर भने, ‘आफ्ना भाइहरूलाई विभिषण नबनाउनोस्, भाइहरू विभिषण भए सरकार टिक्दैन ।’ सरकारले पहिले आफ्नो घर बलियो बनाएरमात्र बाहिर जान उनले सुझाए । 

नेकपाकै सांसद सुशीला बुढाथोकीले बजेट सन्तुलित नभएको धारणा राखिन् । योजनाको शीर्षक नखुलाएर राखिएको डल्लो बजेट सबै सांसदको समान हैसियत हुने गरी ‘ब्रेक डाउन’ गर्न उनले माग गरिन् ।‘बजेट असन्तुलित छ । समानुपातिक र न्यायोचित रूपमा वितरण हुन सकेको छैन,’ सत्तापक्षकै सांसद पूर्णा जोशीले भनिन्, ‘बजेटलाई सन्तुलित बनाउनुप-यो । ठाउँठेगान नभएका योजना पनि राखिएका छन् । ती योजनाहरू स्पष्ट हुनुपर्छ ।’ नेकपाका सचेतक अक्कलबहादुर रावलले पहुँचका आधारमा बजेट बाँडफाँड गर्ने  प्रवृति हावी भएको बताए ।

 ‘मन्त्रीका पिए शक्तिशाली’
राष्ट्रिय जनता पार्टीका सांसद मालामती रानाले सांसदको अपमान हुने गरी सरकारले बजेट ल्याएको आरोप लगाइन् । सांसदभन्दा मन्त्रीका पिए र कार्यकर्ता बजेटमा हावी भएको उनको दाबी थियो । ‘मन्त्रीका पिए र कार्यकर्ताले आफ्नो ठाउँमा करोडौँका योजना हालेका छन्, तर सांसदले भनेका योजनामा बजेट परेन,’ रानाले भनिन् ।
कांग्रेस सांसद भरतबहादुर खड्काले विकासमा कुनै प्रतिफल प्राप्त नहुने र नीतिगत रूपमा भ्रष्टाचार हुने बजेट सरकारले ल्याएको आरोप लगाए । प्रदेशको विकासका सम्भावनालाई बजेटले बुझ्न नसकेको उनले जनाए । ‘सांसदले दिएका योजना समावेश हुँदैनन् । स्थानीय तहले सिफारिस गरेका योजना परेनन्,’ कांग्रेस सांसद डिल्लीराज पन्तले प्रश्न गरे, ‘कुन आधारमा योजना छनोट भए, कहाँबाट ल्याइएका योजना बजेटमा राखियो ?’