मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असार २४ मंगलबार ०७:४५:००
Read Time : > 4 मिनेट
सेयर बजार

८.७० अंक घट्यो नेप्से

Read Time : > 4 मिनेट
२०७६ असार २४ मंगलबार ०७:४५:००

साताको दोस्रो कारोबार दिन पनि नेप्से ओरालो लागेको छ । नेप्से परिसूचक घटे पनि यस दिन कारोबार रकममा भने केही सुधार देखिएको छ । यस दिन प्रभु बैंकको संस्थापक सेयर अधिक कारोबार भएका कारण कारोबार रकममा सुधार देखिएको हो । लगानीकर्ता मौद्रिक नीतिको पर्खाइमा रहेका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक हुनुअघि नै वाणिज्य बैंक तथा विकास बैंकहरूलाई मर्जर तथा एक्विजिसनको लिखित प्रतिबद्धता पेस गर्न निर्देशन दिएसँगै वित्तीय क्षेत्रमा हलचल मच्चिएको छ । 

अधिकांश बैंकहरूले मर्जर तथा एक्विजिसनको स्पष्ट निर्णय सार्वजनिक नगरेका कारण केही लगानीकर्ता अन्योलमा परेका छन् । यद्यपि, पछिल्लो समयमा वाणिज्य बैंकहरूको सेयर कारोबार भने बढेको छ । वाणिज्य बैंकहरूमध्ये पनि सस्तो सेयरमूल्य भएका बैंकतर्फ लगानीकर्ता आकर्षित भइरहेका छन् ।

बजार सारांश
सोमबार नेप्से परिसूचक ८ दशमलव ७० अंक घटेर १ हजार २ सय ४७ दशमलव ३५ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव ५६ अंक घटेर २ सय ६८ दशमलव ७९ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ६७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ५३ अंक घटेको छ । यस दिन १ सय ७१ कम्पनीको ७ हजार २ सय ४४ पटकको कारोबारमा ५९ करोड १० लाख ५३ हजार ८ सय १२ रुपैयाँबराबरको २९ लाख १० हजार १ सय ५३ कित्ता सेयर खरिद–बिक्री भएको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन ४० दशमलव शून्य ८ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चापको सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ४० रहेको छ । यसले नेप्से बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ७१ कम्पनीमध्ये ४२ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने १ सय ५ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २३ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

सोमबार नेप्सेको पिभट बिन्दु १ हजार २ सय ५० दशमलव १७ रहेको छ । यस दिनको पिभट विश्लेषण गर्दा, मंगलबार नेप्से ओरालो लागे १ हजार २ सय ४२ दशमलव ७५ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार २ सय ३८ दशमलव १६ बिन्दुमा टेवा पाउने देखिन्छ । त्यसैगरी, भोलि बजार उकालो लागे नेप्सेले १ हजार २ सय ५४ दशमलव ७६ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार २ सय ६२ दशमलव १८ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

२ कम्पनीको सेयरमूल्यमा सर्किट
यस दिन २ कम्पनीहरूको सेयरमूल्यमा सर्किट ब्रेक लागेको छ । कारोबरामा आएका इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य यस दिन १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको हो भने जनउत्थानको १० प्रतिशत घटेर नकारात्मक सर्किट लागेको हो । कारोबार सुरु भएको पहिलो दिन नै इन्फिनिटीको सेयरमूल्यमा १० प्रतिशत बढेको हो । सो कम्पनीले पहिलो कारोबारका लागि १ सय ३ दशमलव ८१ रुपैयाँदेखि ३ सय ११ दशमलव ४३ रुपैयाँसम्ममा मूल्य रेन्ज पाएको थियो । त्यसैगरी, आँखुखोला जलविद्युत् कम्पनीको सेयरमूल्य यस दिन ७ दशमलव शून्य ४ प्रतिशत बढेर ७६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । अन्य कम्पनीको सेयरमूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ । असार १२ गतेदेखि १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन खुला गरेको जनउत्थानको सेयरमूल्य यस दिन १ सय ५ रुपैयाँ घटेर ९ सय ५४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

सर्वाधिक कारोबार हुनेमा प्रभुको संस्थापक सेयर अगाडि
यस दिन कारोबार संख्या र सेयर संख्याका आधारमा प्रभु बैंकको संस्थापक सेयर अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन ११ करोड ४५ लाख ७० हजार रुपैयाँबराबरको ६ लाख ७० हजार कित्ता सेयर खरिद–बिक्री भएको छ । त्यसैगरी, सिभिल बैंकको यस दिन ५ सय १४ पटकको कारोबारमा ३ करोड ८० लाख २० हजार रुपैयाँबराबरको २ लाख ३९ हजार ७ सय ४२ कित्ता सेयर किनबेच भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको कारोबार रकम यस दिन ३ करोड नाघेको छ भने प्रभु बैंक र नेपाल बैंकको २ करोड नाघेको छ । कारोबार संख्याका आधारमा भने यस दिन स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड अगाडि रहेको छ । 

८.७० अंक घट्यो नेप्से ९ समूहको परिसूचक रातो
यस दिन कारोबारमा आएका ११ वटा समूहमध्ये ९ समूहको परिसूचक घटेर रातो भएको छ भने २ समूहको परिसूचक बढेर हरियो भएको छ । यस दिन म्युचुअल फन्ड समूहको परिसूचक शून्य दशमलव ५१ प्रतिशत र जलविद्युत् समूहको शून्य दशमलव २ प्रतिशत बढेको छ । निर्जीवन बिमा समूहको परिसूचक यस दिन सर्वाधिक १ दशमलव २२ प्रतिशत घटेको छ । त्यसैगरी, जीवन बिमा समूहको परिसूचक यस दिन १ दशमलव शून्य ६ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव ८४ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ४५ प्रतिशत, अन्य समूहको शून्य दशमलव ४४ प्रतिशत, वित्त समूहको शून्य दशमलव ४३ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ४२ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव ३ प्रतिशत र होटेल समूहको शून्य दशमलव शून्य ४ प्रतिशत घटेको छ ।

सबैकोको आइपिओ
सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ५ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । आइपिओ निष्कासन छिटोमा साउन ५ गते बन्द हुनेछ भने ढिलोमा साउन ३० गते बन्द हुनेछ । निष्कासन गरिने कुल सेयरमध्ये ८ हजार २ सय ५० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ भने २६ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी ४ लाख ९५ हजार २ सय ५० कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम २ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । सो आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीले निष्कासन गर्न लागेको आइपिओलाई इक्रा नेपालले इक्रा एनपी आइपिओ ग्रेड ४ रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था औसतभन्दा कम रहेको संकेत गर्छ ।

मल्टिपर्पोजको १ः८.६५ हकप्रद निष्कासन खुला
मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेडले असार २३ गतेदेखि १ बराबर ८ दशमलव ६५ अनुपातमा हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ३५ लाख ८५ हजार २ सय ६४ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । सो हकप्रद सेयरमा असार ११ गतेभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम साबिक सेयरधनीले आवेदन दिन सक्नेछन् । निष्कासन बन्द साउन २६ गते हुनेछ । 

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । सेयरधनीले सिभिल क्यापिटल, मल्टिपर्पोज कम्पनीको केन्द्रीय कार्यालय, सिभिल बैंकको विराटनगर, नारायणघाट, बुटवल, पोखरा, नेपालगन्ज, धनगढी तथा वीरेन्द्रनगर शाखा कार्यालय र सि–आस्बा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरूबाट सि–आस्बा प्रणालीमार्फत सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्ता पुँजी ४ करोड १४ लाख ७३ हजार ६ सय रहेको छ । हकप्रद सेयर निष्कासन तथा बाँडफाँडपश्चात् कम्पनीको चुक्ता पुँजी ४० करोड पुग्नेछ । कम्पनीले निष्कासन गर्न लागेको हकप्रद सेयरलाई इक्रा नेपालले इक्राएनपी ग्रेड ५ रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था कमजोर रहेको संकेत गर्छ ।