मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
तीर्थराज बस्नेत काठमाडौं
२०७६ असार २४ मंगलबार ०६:१९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

मेलम्चीसँग भेन्डर र मजदुरले मागे पौने दुई अर्ब भुक्तानी

Read Time : > 1 मिनेट
तीर्थराज बस्नेत काठमाडौं
२०७६ असार २४ मंगलबार ०६:१९:००

मेलम्ची खानेपानी आयोजनासँग ८८ भेन्डर (सामान आपूर्तिकर्ता) र आठ सय मजुदरले भुक्तानी माग गरेका छन् । २९ मंसिरमा ठेक्का छाडेको इटालियन कम्पनी सिएमसीसँग काम गरेका मजदुर र भेन्डरले आयोजना बोर्डसँग एक अर्ब ६७ करोड चार लाख भुक्तानी पाउनुपर्ने माग गरेका हुन् ।  सिएमसीले आयोजनाको काम छाडेपछि आफूहरू समस्यामा परेको उनीहरूको भनाइ छ । उनीहरूले सिएमसीले काम छाडेलगत्तै भुक्तानी माग गर्दै आए पनि आयोजनाले अधिकार नभएको भन्दै पन्छिँदै आएको थियो । 

सिएमसीले छाडेको ६ महिनापछि गत जेठमा मन्त्रिपरिषद् बैठकले आयोजनाको ठेक्का टुक्राएर सीधै काममा लगाउन सक्ने निर्णय गरेको थियो । जसअनुसार आयोजना बोर्डले दुइटा प्याकेजमा टेन्डर आह्वान गरेको थियो । आठवटामा सिएसमीसँगै काम गरेको सहायक ठेकेदारलाई कामको जिम्मा दिइएको छ । सरकारको निर्णयअनुसार सीधै ठेक्का पाएका ठेकेदार आयोजनास्थलमा पुग्दा भुक्तानी लिन बाँकी रहेका भेन्डरले अवरोध गरेका थिए । 

 बुझायो प्रतिवेदन 

भुक्तानी नगरी काम गर्न नदिने चेतावनी दिएपछि अध्ययन गर्न अयोजनाले जिल्ला समन्वय समितिका प्रमुख गोपाल तामाङको नेतृत्वमा कार्यदल बनाएको थियो । तामाङ नेतृत्वको कार्यदलले आयोजना बोर्डलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा सिएमसीसँग काम गरेका ८८ भेन्डर र आठ सय मजदुरले भुक्तानी दाबी गरेको जनाएको छ । ‘सिएसमसीसँग काम गरेका, तर भुक्तानी नपाएका मजदुर र भेन्डरको माग र उनीहरूका प्रमाण हेरेर प्रतिवेदन तयार पारेर बुझाएका छौँ,’ तामाङले भने, ‘उहाँहरूले सिएससीसँग गरेको सम्झौता र भुक्तानी पाउन बाँकी भनेर भनेर लेखिदिएको कागजात पेस गर्नुभएको छ ।’ उनका अनुसार आयोजना बोर्डले आफूहरूले सीधै भुक्तानी दिन नमिल्ने र सरकारको निर्णय आवश्यक पर्ने बताएको छ । तामाङले पीडितको माग सम्बोधनका लागि सरकारलाई दबाब दिन जनप्रतिनिधिको भेला बोलाउने तयारी गरेको बताए । 

 हामीसँग अधिकार छैन : बोर्ड 

आयोजना बोर्डले भुक्तानी दिने नीतिगत अधिकार नरहेको बताएको छ । कार्यदलले पेस गरेको प्रतिवेदन अध्ययन गर्ने र बोर्ड बैठकले खानेपानी मन्त्रालयमार्फत प्रधानमन्त्री कार्यालयमा पठाउने तयारी गरेको छ । ‘हामीसँग उनीहरूलाई भुक्तानी गर्ने अधिकार छैन । प्रतिवेदन खानेपानी मन्त्रालयमार्फत प्रधानमन्त्री कार्यालयमा पठाउँछौँ,’ सूचना अधिकारी राजेन्द्र पन्तले भने, ‘मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णय गरेमा मात्रै भुक्तानी दिन सकिन्छ ।’

हेड बक्स र सुरुङको काम गर्न चार कम्पनीको ठेक्का
आयोजनाले हेड बक्स निर्माण र सुरुङ फिनिसिङको काम गर्न टेन्डर आह्वान गरेको थियो । आयोजना स्रोतका अनुसार हेड बक्सको कामका लागि दुई र सुरुङ फिनिसिङका लागि एक चाइनिज कम्पनीसहित दुई कम्पनीको टेन्डर हालेका छन् ।  आयोजनाले हेड बक्स निर्माणका १५ महिना र सुरुङ निर्माणका लागि १२ महिनाको समयसीमा तोकेर बोलपत्र आह्वान गरेको थियो । अहिले कम्पनीको प्रस्ताव मूल्यांकन गर्ने काम भइरहेको आयोजनाले जनाएको छ । ‘अहिले मूल्यांकनको काम भइरहेको छ । एक महिनाभित्र कम्पनी छनोट गरिसक्छौँ,’ आयोजनाका एक अधिकारीले भने, ‘ढिलोमा पनि अबको दुई महिनापछि द्रुत गतिमा काम अघि बढ्छ ।’ 

सुरुङमार्गको ठेक्का पाउने कम्पनीले सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ, अडिट सुरुङको लाइनिङलगायतका काम गर्नुपर्नेछ । त्यसका लागि भेन्टिलेसन बनाउने काम गरिरहेका, पाइप आपूर्ति र जडानको काम गरिरहेका ठेकदारसँग समन्वय गर्नुपर्ने आयोजनाले जनाएको छ । हेड बक्सतर्फको ठेक्का पाउनेले पानी थुन्ने इन्टेकको संरचना, पहुँचमार्ग स्तरोन्नति कफर ड्यामको डिजाइन र निर्माण, क्याम्प साइटको मर्मतलगायतका काम गर्नुपर्नेछ । 

आयोजनाका अनुसार हेड बक्सको ठेक्का पाउनेले सोझै हाइड्रोमेकानिकल गेट, एसएस पाइपको आपूर्ति जडानको ठेक्का पाउने ठेकेदारसँग समन्वय गर्नुपर्नेछ । बाँकी काम सम्पन्न गर्न करिब दुई अर्ब ६० करोड रुपैयाँ लाग्ने आयोजनाले जनाएको छ । अहिले भने निर्माणाधीन हेड बक्स सुरक्षाका लागि नदी नित्रयन्त्रण, सुन्दरीजलमा खनिएको सडक मर्मत, भेन्टिलेसन पाइपबाट चुहिएको पानी टाल्नेलगायतका काम भइरहेको आयोजनाले जनाएको छ ।