१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २३ सोमबार १०:३९:००
Read Time : > 1 मिनेट
नयाँCity

नेपालमा प्राकृतिक सुन्दरता विदेशमा समुद्र र घर मात्र : सरिता लामिछाने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २३ सोमबार १०:३९:००

मलाई घुम्न एकदम रमाइलो लाग्छ । त्यसैले, हामीले घरमा सल्लाह पनि गरेका छौँ । वर्षमा दुईपटक आफ्नै देशका सुन्दर ठाउँहरू घुम्ने, वर्षमा एकपटकचाहिँ विदेश घुम्ने । तर, योजना बनाएअनुसार घुम्न समयले साथ दिइरहेको छैन । काममा अलि बढी व्यस्त भएकाले व्यवस्थापन गर्न गाह्रो भइरहेको छ । यो वर्ष कतै घुम्न जान पाएनौँ । म नगए पनि छोरीलाई गर्मी महिनाको छुट्टीमा पूर्वको सुन्दर ठाउँ इलाम पठाएँ ।

मलाई प्राकृतिक सुन्दरताले मोहित बनाउँछ । जब जहाजमा बस्छु त्यसवेला झ्यालबाट हेरिरहँदा र विदेशको आकाशमा उड्दा धेरै फरक देख्छु । आफैँलाई खुब भाग्यमानी ठान्छु । यति सुन्दर देशमा जन्मिएछु भन्ने लाग्छ । नेपाल हिमाल र तालजस्ता प्राकृतिक सुन्दरताले भरिएको छ । विदेशको आकाशबाट तल हेर्दा कि त समुद्र, कि ठुल्ठूला घर मात्रै देखिन्छ ।

झापा : मेरो जन्मथलो झापा मेरा लागि संसारकै सुन्दर सहर हो । जहाँ म जन्मिएँ, हुर्किएँ । यो तराई भएकाले गर्मी ठाउँ हो । तर, खै मलाई किन हो झापाभन्दा सुन्दर ठाउँ अरू होलाजस्तो लाग्दैन । त्यहाँको हरेक चीज सुन्दर लाग्छ । झापाको जनजीवन मलाई निकै मन पर्छ ।

पोखरा : मेरा लागि दोस्रो सुन्दर सहर हो, पोखरा । मलाई पोखराको सुन्दर प्राकृतिक दृश्यले सधैँ ताजगी बनाइदिन्छ । हरेकपटक हेर्दा फेवाताल शृंगारयुक्त बेहुली बसेझैँ लाग्छ । म एकदम अचम्मित हुन्छु । त्यहाँबाट देखिने हिमाली दृश्य उस्तै सुन्दर छन् । म गइरहने ठाउँ भनेको पोखरा हो । पोखरा कत्ति जानु भन्ने कहिल्यै लाग्दैन । त्यहाँ जानका लागि सधैँ उत्साहित हुन्छु । 

नेपाल हिमाल र तालजस्ता प्राकृतिक सुन्दरताले भरिएको छ । विदेशको आकाशबाट तल हेर्दा कि त समुद्र, कि ठुल्ठूला घर मात्रै देखिन्छ । 

काठमाडौं : मन पर्ने तेस्रो सहर हो, काठमाडौं । यहाँ समस्या धेरै छन् । तर, मलाई कर्म दिने, पहिचान दिने सहर यही हो । त्यसैले, विशेष मन पर्छ । यहाँको समस्या भनेको प्रदूषण नै हो । तर, यहाँको मौसम भने बस्नलायक छ । धेरै गर्मी पनि हुँदैन र धेरै जाडो पनि हुँदैन । प्रदूषण कम हुने हो भने, यहाँको जस्तो उपयुक्त मौसम अरू केही ठाउँ छैन ।

लुम्बिनी : म पछिल्लोपटक घुमेको ठाउँ लुम्बिनी हो । अहिलेसम्म लुम्बिनी तीनपटक घुम्न गएकी छु । लुम्बिनीमा छिर्नासाथ मानसिक शान्ति मिल्छ । त्यहाँका कलायुक्त चैत्यले झनै आनन्दित तुल्याउँछ । हामीले हाम्रै ठाउँको प्रचार गर्न सकिरहेका छैनौँ । किनभने, यो यति सुन्दर ठाउँ हो, जहाँ हजारौँ पर्यटकलाई हामीले भित्र्याउन सक्नुपर्ने हो । हप्तामा त लाखौँले घुम्नुपर्ने सुन्दर ठाउँ हो लुम्बिनी । तर, प्रचार अभावले त्यसो हुन सकेको छैन ।अझै नेपालका थुप्रै सुन्दर ठाउँ र सहर घुम्न बाँकी नै छ । बिस्तारै घुम्दै जान्छु । भ्रमणका लागि पहिलो रोजाइ मेरो आफ्नै देशका ठाउँ रहेको छ ।