मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी
२०७५ पौष १८ बुधबार ०८:४३:००
Read Time : > 1 मिनेट
विश्व

पर्खालका लागि ट्रम्पले छुट्याउने बजेट सिनेटले पुनः अस्वीकार गर्ने

Read Time : > 1 मिनेट
एजेन्सी
२०७५ पौष १८ बुधबार ०८:४३:००

डेमोक्र्याटिक पार्टीले माथिल्लो सदन सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमामा पर्खाल निर्माणका लागि प्रस्ताव गर्ने बजेट पुनः अस्वीकार गर्ने भएको छ । सिनेटले पर्खालका लागि ट्रम्पले छुट्याएको बजेट पारित नगरी अन्य शीर्षकको बजेट मात्र पारित गर्ने प्रस्ताव पुनः अगाडि सारेको छ । सिनेटले डेढ साताअघि पर्खालका लागि ट्रम्पले पेस गरेको बजेट अस्वीकार गरी बाँकी बजेट पारित गरेको थियो । ट्रम्पले सो बजेटमा हस्ताक्षर नगर्दा संघीय कार्यालय डेढ सातादेखि खर्चविहीन छन् । सिनेट र ट्रम्पको आ–आफ्ना अडानका कारण सरकारी कार्यालय सञ्चालनमा गतिरोध उत्पन्न भएको छ ।


 
 ट्रम्पको अडान यथावत्
राष्ट्रपति ट्रम्पले अवैध आप्रवासी रोक्न मेक्सिकोसँगको सीमामा पर्खाल निर्माण गर्न सिनेटले बजेट छुट्याउनुपर्नेमा जोड दिँदै आएका छन् । ट्रम्पका लागि ‘प्रतिष्ठाको विषय’ बनेको सीमा पर्खालको बजेट पारित नभए के होला ? ट्रम्प भन्छन्, ‘बरु सरकारी कार्यालयहरू बन्द हुन्, पर्खाल निर्माणका लागि बजेट छुट्याउनुको विकल्प छैन । राष्ट्रिय सुरक्षा नै मेरो पहिलो प्राथमिकता हो ।’ राष्ट्रपति ट्रम्पले एक अन्तर्वार्तामा भनेका छन्, ‘म डेमोक्र्याट्ससँग मध्यस्थता गर्न तयार छु । तर, मेक्सिकोसँगको सीमामा कुनै हालतमा पर्खाल ठड्याइनुपर्छ र रकम जुटाउनुपर्छ । हामीसँग बलियो सीमा सुरक्षा चाहिन्छ र सीमा सुरक्षामा पर्खालको ठूलो महत्व छ ।’ ट्रम्पले डेमोक्र्याटहरू वार्तामा आउनुको विकल्प नरहेको बताएका छन् । ट्रम्पले भनेका छन्, ‘सिमेन्ट र गिटीको पर्खाल बनाउनुको 
विकल्प छैन ।’ 

 बहुमत गुमाएपछि  ट्रम्पलाई कठिन
अमेरिकी कंग्रेसका दुवै सदनमा केही वर्षदेखि बहुमत कायम गरेको रिपब्लिकन पार्टीको प्रभाव खस्केको छ । अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा गत नोभेम्बरमा भएको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले बहुमत गुमाएपछि राष्ट्रपति ट्रम्पका कैयौँ महत्वाकांक्षी योजना र कार्यक्रम ओझेलमा पर्ने निश्चित छ । विपक्षीको साथ नपाउँदा ट्रम्पका आगामी दिन झन् कठिन हुने विज्ञहरूले बताउँदै आएका छन् ।

सन् २०२० को निर्वाचनमा वारेनले उम्मेदवारी दिने


वासिङ्टन/  अमेरिकामा डेमोक्र्याटिक पार्टीकी प्रभावशाली नेतृ एवं सिनेटर एलिजाबेथ वारेनले अमेरिकी राष्ट्रपतिको सन् २०२० मा हुने चुनावका लागि उम्मेदवार हुने इच्छा व्यक्त गरेकी छिन् । उनी राष्ट्रपति डोनाल्ड ट्रम्पका कटु आलोचक मानिन्छिन् । वारेनले अमेरिकी राष्ट्रपतिका लागि प्रारम्भिक तयारी समिति गठनको घोषणा गरेको बताएकी छिन् । 

डेमोक्र्याटिक पार्टीभित्र अति लोकप्रिय र खरो स्वभावकी वारेनले प्रारम्भिक चरणमा उम्मेदवारीका लागि पार्टीभित्रको अवस्था बुझ्नेछिन् । डेमोक्र्याटिक पार्टीभित्र राष्ट्रपतिका अन्य प्रभावशाली नेताहरूमध्ये उनी अग्रस्थानमा छिन् । ‘अमेरिकाका मध्यम वर्गीय जनता चौतर्फी आक्रमणको सिकार भएका छन्,’ वारेनले सार्वजनिक गरेको भडियो सन्देशमा भनिएको छ । उनी म्यासाच्युसेट्स राज्यबाट सन् २०१३ देखि नै सिनेट सदस्यमा निर्वाचित हुँदै आएकी छिन् । उनी अमेरिकी आर्थिक रूपान्तरणका लागि निकै लोकप्रिय नेतृ मानिन्छिन् । भ्रष्टाचारले अमेरिकी लोकतन्त्र जोखिममा पारेको उनको भनाइ छ । 

सरकारी स्कुलकी पूर्वशिक्षिका एवं हार्वर्ड विश्वविद्यालयकी कानुन विषयकी प्राध्यापक वारेन उपभोक्ता र श्रमिक अधिकारकी प्रखर अधिवक्ता पनि हुन् । अमेरिकी राष्ट्रपति ट्रम्पले वारेनको पछिल्लो घोषणाको खिल्ली उडाएका छन् । राष्ट्रपति ट्रम्पले वारेन निर्वाचनमा उठ्नेबारेमा व्यंग्यात्मक शैलीमा भने, ‘तपाईंले वारेनका मनोरोग चिकित्सकलाई सोध्नुपर्छ ।’ सन् २०२० मा राष्ट्रपति ट्रम्प नै रिपब्लिकन पार्टीका तर्फबाट दोस्रो कार्यकालका लागि उम्मेदवार हुने सम्भावना छ । डेमोक्र्याटिक पार्टीबाट सन् २०२० को राष्ट्रपति चुनावमा जुलियन क्यास्ट्रो, जोन डिलानी र रिचार्ड ओजेडासमेत तीन दर्जन उम्मेदवार हुने सम्भावना छ ।