१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
अजित अधिकारी
२०७५ पौष १८ बुधबार ०८:४०:००
Read Time : > 1 मिनेट
अर्थ

भारतमा इन्धनको मूल्य वर्षकै न्यून

कच्चा तेलको मूल्यमा निरन्तर गिरावट

Read Time : > 1 मिनेट
अजित अधिकारी
२०७५ पौष १८ बुधबार ०८:४०:००

-आज नेपालमा इन्धनमा प्रतिलिटर २ देखि ३ रुपैयाँ मूल्य घट्न सक्ने

-नेपालले तेल किन्दै आएको आइओसीले अढाई महिनामा २२ रुपैयाँ घटायो


कच्चा तेलको भाउ निरन्तर ओरालो लागेको छ । जसकारण नेपालले तेल खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पछिल्लो एक वर्षमा सबैभन्दा कम मूल्य निर्धारण गरी भारतमा पेट्रोल, डिजेल बिक्री गरिरहेको छ । आइओसीले सोमबार पेट्रोलमा २८ पैसा र डिजेलमा २३ पैसा मूल्य घटाएर  दिल्लीमा प्रतिलिटर पेट्रोल ६८.८४ भारु र डिजेल ६२.८६ भारु निर्धारण गरेको छ । यो सन् २०१८ को सबैभन्दा कम मूल्य हो । भारतमा मूल्य घटेसँगै अब नेपाल र भारतको इन्धन मूल्य पनि बराबरी भएको छ । यसअघि भारतीय बजारमा इन्धनको भाउ सस्तो हुँदा तराईका सीमावर्ती क्षेत्रमा रहेका पेट्रोलपम्पबाट इन्धन तस्करी हुने र भारतीय गाडी नेपालतर्फ आएर तेल भरेर जाने गरेका थिए । दुवै देशको मूल्य करिब समान भएपछि अब तस्करीको समस्या हट्नेछ ।

 भारतमा २२.०४ रुपैयाँ घट्यो
कच्चा तेलको भाउमा गिरावट आएकाले भारतीय उपभोक्ताले पनि ठूलो राहत पाएका छन् । १८ अक्टोबर (१ कात्तिक) यता भारतमा पेट्रोलको मूल्य १३.७८ भारु अर्थात् २२.०४ रुपैयाँ घटेको छ । डिजेलको भाउ १२.०६ भारु अर्थात् १९.२९ रुपैयाँ घटेको छ । भारतको सत्ता साझेदार दल एनडिएद्वारा सासित १२ राज्यमा ४ अक्टोबर (१८ असोज)मा पेट्रोल र डिजेलमा प्रतिलिटर २.५ भारु कर कटौती गरिएको थियो । त्यतिखेर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर भारतमा समेत इन्धनको मूल्य अकासिएको थियो ।

४ अक्टोबर (१८ असोज)मा पेट्रोलको मूल्य सबैभन्दा बढी ८४ र डिजेलको मूल्य ७५.४५ भारु प्रतिलिटर थियो । तर, सरकारले कर कटौती गरेपछि तत्काल प्रतिलिटर मूल्य ५ भारु घटाइएको थियो । सरकारले अनुदान दिन थालेलगत्तै १८ अक्टोबर (१ कात्तिक) देखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर घटिरहेको छ । कच्चा तेलको भाउ घट्न थालेपछि तेल कम्पनीहरूले पनि भारतमा मूल्य घटाइरहेका हुन् ।

 नेपालमा ४ रुपैयाँ घट्यो
भारतमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर गिरावट आए पनि अन्तर्राष्ट्रिय बजारको लाभ नेपाली उपभोक्ताले पाएका छैनन् । पछिल्लो अढाई महिनामा आइओसीबाट निगमले पेट्रोल २० रुपैयाँ र डिजेल १५ रुपैयाँ सस्तोमा किनेको छ । तर, यो अवधिमा पेट्रोल र डिजेलमा समान ४ रुपैयाँ प्रतिलिटर मात्र घटेको छ । अढाई महिना अवधिमा आइओसीले ६२ पटक मूल्य घटाएको छ । तर, निगमले दुईपटक मात्र घटाएको छ । 

 नेपालमा मूल्य घट्न सक्ने
आइओसीले अंग्रेजी महिनाको प्रत्येक १ र १५ तारिखमा निगमलाई नयाँ खरिद मूल्य पठाउने गर्छ । आइओसीले मंगलबार (१ जनवरी) साँझसम्म नयाँ मूल्य पठाएको थिएन । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले नयाँ वर्षमा आइओसीको कार्यालय बन्द भएको हुन सक्ने भएकाले मूल्यसूची पाउन नसकेको बताए । बुधबार नयाँ मूल्यसूची आएपछि बिहीबारबाट लागू हुने गरी मूल्य समायोजन गर्ने निगमको तयारी छ । तर, यसपटक पनि प्रतिलिटर २ देखि ३ रुपैयाँ मात्र मूल्य घटाउने निगमको आन्तरिक तयारी छ ।