मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ असार २२ आइतबार ०९:३१:००
Read Time : > 3 मिनेट
सेयर बजार

बिग मर्जरले प्रभावित सेयरबजार 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ असार २२ आइतबार ०९:३१:००

लामो समयदेखि सुस्त गतिमा रहेको सेयरबजारमा गत साता उत्साह छाएको छ । गत साता नेप्सेसंगै कारोबार रकममा पनि सुधार देखिएको छ । गत साताको बजारलाई विशेष गरी बिग मर्जरको विषयले प्रभावित बनायो । 

आगामी आर्थिक वर्षका लागि जारी गरिने मौद्रिक नीतिले बिग मर्जरको नीति ल्याउने भएपछि सेयरबजार प्रभावित भएको छ । मौद्रिक नीति सार्वजनिक हुनुअघि नै बैंकहरूलाई पार्टनर खोज्न राष्ट्र बैंकले निर्देशन दिएसँगै सेयरबजार पनि प्रभावित भएको हो । गत साता विशेष गरी, लगानीकर्ताहरू वाणिज्य बैंकतर्फ आकर्षित भए । सो साता अन्य कम्पनीहरूको तुलनामा वाणिज्य बैंकहरूको कारोबार बढेको छ । 

पाँचै कारोबार दिनका लागि खुला रहेको बजारमा २ दिन नेप्से उकालो लागेको थियो भने बाँकी ३ कारोबार दिन ओरालो लागेको थियो । साताको पहिलो र दोस्रो कारोबार दिन नेप्से ओरालो लागेपनि, मंगलबार र बुधबार नेप्से १० अंकभन्दा बढी बढेर बन्द भएको थियो । लामो समयपछि उच्च अंकले बजार बढ्दा गत साताको अन्तिम कारोबार दिन लगानीकर्ताहरू नाफा सुरक्षित गर्नतर्फ लागेपछि बजारमा करेक्सन भएको हो । नेप्से र कारोबार रकम दुबैमा सुधार भएका कारण आगामी साता बजार बढ्ने अड्कल लगाइए पनि निश्चित रूपमा भन्न नसकिने एक विश्लेषकले बताए । अधिक सेयर आपूर्तिले दबाब परेको सेयरबजारलाई बिग मर्जरले आपूर्ति घटाउन केही टेवा पुग्ने उनको अनुमान रहेको छ ।  

बजार सारांश
गत साता नेप्से परिसूचक ३ दशमलव ३१ अंक बढेर १ हजार २ सय ६० दशमलव ४७ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स सो साता शून्य दशमलव २९ अंक बढेर २ सय ७१ दशमलव ४६ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स शून्य दशमलव ३३ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १७ अंक बढेको छ । सो साता १ सय ८९ कम्पनीको ३४ हजार ६ सय ९२ पटकको कारोबारमा २ अर्ब ६६ करोड ९७ लाख २० हजार रुपैयाँबराबरको १ करोड ६१ लाख ६० कित्ता सेयर खरिदबिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआई गत साताको अन्तिम कारोबार दिन नेप्सेको १४ दिने आरएसआई ४६ दशमलव ४२ स्केलमा रहेको छ । न्यूट्रल जोनमा रहेको आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो गत साता १ दशमलव ५४ रहेको छ । यसले बजार बुलिस प्रवृत्तिमा रहेको संकेत गर्छ । सो साता कारोबारमा आएका १ सय ८९ कम्पनीमध्ये ९९ कम्पनीको सेयरमूल्य बढेको छ भने ६४ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २६ कम्पनीको सेयरमूल्य सो साता स्थिर रहेको छ । 

गत साताको पिभट विश्लेषण गर्दा, नेप्सेको पिभट बिन्दु १ हजार २ सय ५६ दशमलव ८८ रहेको छ । आगामी साता नेप्से ओरालो लागे १ हजार २ सय ४० दशमलव ९८ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने १ हजार २ सय २१ दशमलव ४९ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, बजार उकालो लागे १ हजार २ सय ७६ दशमलव ३७ बिन्दुमा पहिलो प्रतिरोध र १ हजार २ सय ९२ दशमलव २७ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । 

६ लाखभन्दा बढी कित्ता सेयर सूचीकृत
गत साता २ कम्पनीहरूले ६ लाख ३८ हजार ६ सय ७० कित्ता सेयर सूचीकृत गरेको छ । सो साता महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख २० हजार कित्ता र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ लाख १८ हजार ६ सय ७० कित्ता बोनस सेयर सूचीकृत गरेको छ ।     

सर्वाधिक कमाउने स्वाभिमान
गत साता स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सर्वाधिक २९ दशमलव ८ प्रतिशत बढेको छ । ३ सय २४ रुपैयाँबाट सुरु भएको सो कम्पनीको कारोबार गत साता ४ सय १६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । एनआइबिएल प्रगति फन्ड, स्वरोजगार लघुवित्त विकास बैंक, ग्लोबल आईएमई समुन्नत स्किम–१, लक्ष्मी इक्विटी फन्ड, सूर्योदय लघुवित्त वित्तीय संस्था र सिद्धार्थ इक्विटी फन्डको सेयरमूल्य १० प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएका रिलायन्स फाइनान्स र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य सो साता ६ प्रतिशतभन्दा बढी घटेको छ भने लाभांश वितरणका लागि मूल्य समायोजन भएको प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य ५ दशमलव ६ प्रतिशत घटेको छ ।  

६ समूहको परिसूचक बढ्यो
गत साता कारोबारमा आएका १२ समूहमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको छ । सो साता निर्जीवन बिमा समूहको परिसूचक सर्वाधिक ७५ दशमलव ९ अंक बढेको छ । त्यसैगरी, जीवन बिमा समूहको परिसूचक ७३ दशमलव शून्य ६ अंक, लघुवित्त समूहको १७ दशमलव ३९ अंक, विकास बैंक समूहको ८ दशमलव ५८ अंक, वाणिज्य बैंक समूहको ३ दशमलव १९ अंक र म्युचुअल फन्ड समूहको शून्य दशमलव शून्य १ अंक बढेको छ । 
होटेल समूहको परिसूचक गत साता सर्वाधिक ३२ दशमलव ५६ अंक घटेको छ । उत्पादनमूलक समूहको परिसूचक १७ दशमलव शून्य ८ अंक, अन्य समूहको ६ दशमलव शून्य ३ अंक, वित्त समूहको ४ दशमलव ६ अंक, जलविद्युत् समूहको २ दशमलव ९१ अंक र व्यापार समूहको २ दशमलव ६२ अंक घटेको छ । 

नेपाल बैंकको सर्वाधिक कारोबार
गत साता कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड अगाडि रह्यो । सो वाणिज्य बैंकको गत साता १ हजार २ सय ९० पटकको कारोबारमा २० करोड ७३ लाख २६ हजार रुपैयाँबराबरको चार लाख ५८ हजार ८ सय २५ कित्ता सेयर खरिदबिक्री भएका छन् । त्यसैगरी, सेयर संख्याका आधारमा गत साता ग्लोबल आइएमई बैंकको संस्थापक सेयर अगाडि रहेको छ भने कारोबार संख्याका आधारमा मेगा बैंक नेपाल लिमिटेड अगाडि छ । ग्लोबल आइएमईको गत साता  तीनपटकको कारोबारमा १० करोड ३८ लाख रुपैयाँबराबरको ६ लाख कित्ता संस्थापक सेयर खरिदबिक्री भएको छ । मेगा बैंकको गत साता एक हजार सात सय ३१ पटकको कारोबारमा १३ करोड ३ लाख ९० हजार रुपैयाँबराबरको तीन लाख ९० हजार ९ सय ३४ कित्ता सेयर किनबेच भएको छ ।