२०७६ असार २२ आइतबार ०७:३४:००
चन्द्र भण्डारी काठमाडाैं

इतिहासको पुस्तक बन्ने वा फुटनोट ?

चन्द्र भण्डारी काठमाडाैं
२०७६ असार २२ आइतबार ०७:३४:००

सिंहदरबारको घुम्ने कुर्सीमा बस्ने र कुर्सीका लागि सौदाबाजी गर्नेले इतिहास बिर्सेर राष्ट्रिय स्वाभिमानको निरन्तर अपमान गरिरहेका छन्

सभ्यता विकासको इतिहासलाई विभिन्न कोणबाट अध्ययन गर्न सकिन्छ । इतिहास यस्तो ऐना हो, जसलाई पट्टी बाँधेर राख्न सकिँदैन, जुन सुन्न र देख्न सकिन्छ । माहाभारतमा भगवान् कृष्णले पाण्डवलाई इन्द्रप्रस्थ नभए पनि विकल्पमा पाँच गाउँ माग्दासमेत धृतराष्ट्रले दिएनन् । त्यसको परिणाम कौरवको विनाश भयो । महाभारत युद्धको विनाशको समीक्षा गर्दा विद्वान् विदुरले पुत्रमोहमा रहेका धृतराष्ट्रलाई जिम्मेवार ठहराएका छन् । इतिहासबाट के प्रमाणित भएको छ भने जब मानवीय मूल्य मान्यतामा गिरावट आउँछ, तब विवेकहीन महत्वाकांक्षी मानिसको उदय हुन्छ । त्यसैले महान् विनाशको सुरुवात गर्छ, जुन विभिन्न कालखण्डको इतिहासले सिद्ध गर्दै आएको छ ।

महाभारत युद्ध मात्र नभई सम्पूर्ण ब्रह्माण्डका निम्ति अत्यावश्यक दर्शन हो । यसका हरेक पात्र भीष्म, द्रोणाचार्य, कृपाचार्य, युधिष्ठिर, कर्ण, अर्जुन, भीम, दुर्योधन, शकुनीलगायत यथार्थपरक र कालजयी छन् । तिनको भूमिकाले वर्तमान विश्वलाई धेरै सिकाएको छ— आशीर्वाद र अभिशाप, विधि र विधान, भाग्य र कर्म, न्याय र अन्याय, सानो र ठूलो, आज्ञाकारिता र उदण्डता, असहिष्णुता र सहनशीलता, मर्यादा र मानमर्दन, विनयशीलता र घमण्ड, नियति र समय । युद्धमैदानमा जाने समयमा गान्धारीले आफ्ना छोरा दुर्योधनलाई विजयको आशीर्वाद दिइनन् । कुन्ती र गान्धारी एउटै छतमुनि बसे, कौरवहरू सबै मारिँदा पनि पारिवारिक सम्बन्ध र व्यवहारमा कुनै विचलन आएन । नेपालजस्तो बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक सुन्दर राष्ट्रलाई जात, भात, नाक, धोती, टोपी, पहाड, मधेसका नाममा समाजलाई विभाजन गरी जनताबीचको सम्बन्ध बिगार्ने नेताहरूले विगतका यी र यस्ता इतिहासबाट केही सिक्न सकेनन् ।

वर्तमानमा गरिएको एउटा सानो भूलले कालान्तरमा ठूलो प्रभाव पार्छ । निहत्था अर्जुनपुत्र अभिमन्युको हत्यामा कौरव महारथिले युद्धको नियम नतोडेको भए पूर्वीय दर्शन फरक तरिकाले लेखिएको हुने थियो । शान्तनुको सत्यवतीमोहलाई साकार रूप दिन पितामोहमा बाँधिएका देवव्रतको प्रतिज्ञाका कारण धृतराष्ट्र हस्तिनापुरका राजा हुन पुगे । उनको पुत्रमोहले गर्दा महाभारतको युद्ध भयो, जुन छोटो समयको महाविनाश थियो । तसर्थ, भीष्मले आफ्नो इच्छामृत्युमा विलय हुन हस्तिनापुरको जमिन पाएनन् । वर्तमानमा हामीले इतिहासबाट सिक्ने के हो भने देश सबैभन्दा आदरणीय माता हुन् । उनीभन्दा ठूलो कोही हुँदैन । त्यही देशको नागरिक हुने, ठूलो पदमा पुग्ने, आफ्नो पहिचान बनाउने तर त्यही देश अतिक्रमित हुँदासमेत एक शब्द नबोल्ने ? केवल कुर्सीको सुरक्षाका लागि देशलाई कमजोर बनाउने सौदाबाजी गर्नेहरूले जनताले वास्तविकता बुझेको दिन मृत्युवरण गर्ने भूमि पनि पाउनेछैनन् । 

विगतले पढ, सिक, हेर, सुन र व्यवहारमा उतार, यही कुरा सिकाउँछ । वर्तमान विश्व सत्ता तथा शक्तिको अहंकारबाट बाहिर निस्कन सकेको छैन । गरिब र धनी राष्ट्रबीचको असमानता, मुस्लिम र अन्य समुदायबीचको द्वन्द्व, सिया र सुन्नीबीचको द्वन्द्व, विकसित देशहरूले प्रकृतिको क्षमतालाई आकलन नगरी गरिएको विकासले वातावरणीय प्रतिकूलताले पारेको असरले समाजमा नकारात्मक प्रभाव पारेको छ । धनी राष्ट्रबाट शक्तिको आकांक्षालाई जीवित राख्न निर्माण गरिएका हतियार महाप्रलयका साधन बनेर बसिरहेका छन् ।

त्रेता र द्वापर युगले राम, सीता, कृष्ण, कुन्ती, गान्धारी, विदुरजस्ता महान् व्यक्तिको जन्म गरायो । द्वापर युगमा स्वयंमा भगवान्रूपी कृष्णले शिवभक्त गान्धारीको यदुवंशको विनाशको श्रापलाई स्विकारे । पूर्वीय दर्शनमा कर्मका आधारमा पुरस्कार र दण्डको व्यवस्था गरिएको छ । युधिष्ठिरदेखि द्रौपदीसम्म कर्मअनुसार दण्डको भागिदार बनेका छन् । वेद, पुराण, रामायण, महाभारत सबैको ज्ञान हिमाली र पहाडी भूमिलाई तपोभूमिका रूपमा ग्रहण गरी कठोर साधनाबाट प्राप्त भएको हो । यसरी नै बुद्ध, चाणक्य, क्राइस्ट, मोहम्मदहरू जन्मिएका हुन् । विगतमा धर्मका नाममा राज्य सञ्चालन भए । अनौपचारिक शिक्षा, गुरु–चेलाको सम्बन्ध, राजा र प्रजाको प्रेम । रामको वनवास र पाण्डवको एकान्तवास राजा बन्नुअघि जनता, समाज र संस्कृति बुझ्न पठाइएको थियो । राजाहरू आदर्शवादी थिए । कृष्ण र सुदामाको सम्बन्ध अध्ययन नगरी साथीको महत्व बुझ्न सकिन्न । निष्ठाको सबैभन्दा ठूलो उदाहरण कर्णभन्दा को हुन सक्ला ? विगतमा सुरु गरिएको सत्य र असत्यको युद्धले आदर्शवादी जनता, समाज, राष्ट्र र राजा दियो । मानवलाई घृणाबाट प्रेममा परिणत गरिदियो । विगत त समस्या र समाधान आफैँ थियो । विगत वर्तमानका लागि पाठशाला हो, मानिसको दिमागी लोटाको आकारअनुसार कति र कसरी उभ्याउने भन्ने मात्र हो ।

बारम्बारको परीक्षामा असफल भइसकेका असत्यको वकालत गरेर इतिहासको किताब बन्न सकिन्न । अब नयाँ पिँढीले निर्णय गर्नुपर्छ, इतिहासको किताब बन्ने वा फुटनोट ?
 

पहिलो र दोस्रो विश्वयुद्ध, जसले करोडौँ मानिसको ज्यान लियो, अंगभंग गरायो । रासायनिक हतियार प्रयोगले मानव विनाश मात्र होइन, नयाँ रोगको सामना अहिले पनि मानिसले सहन गर्नुपरेको छ । यी सबै युद्ध मेसिनबाट बनाएका सामान बेच्न, कच्चा पदार्थमाथि आधिपत्य जमाई विश्वको सर्वश्रेष्ठ राष्ट्र बन्नका लागि लडिएका थिए । यी युद्धले बेलायत र फ्रान्सको शक्तिलाई कमजोर बनायो । बेलायतनियन्त्रित उपनिवेश स्वतन्त्र भए । यसैले गर्दा भारतलगायत देश स्वतन्त्र भए । यसले अमेरिका र रुसलाई शक्तिशाली बनायो । मानव र प्रकृति विनाश त्यस युद्धका उपलब्धि थिए । नेपाल कहिल्यै कसैको उपनिवेश नभए पनि सिंहदरबारको घुम्ने कुर्सीमा बस्ने र कुर्सीका लागि सौदाबाजी गर्नेहरूले इतिहास बिर्सेर राष्ट्रिय स्वाभिमानको निरन्तर अपमान गरिरहेका छन् ।

विभिन्न कालखण्डमा विभिन्न महापुरुषको जन्म भएजस्तै उपनिवेशको अन्त्य, विधिको शासन र प्रजातान्त्रिक मूल्यमान्यताका लागि ठूला आन्दोलन भए, जसले मार्टिन लुथरकिङ, महात्मा गान्धी, नेल्सन मन्डेलाजस्ता महापुरुष जन्मायो । जो इतिहासका राम्रा किताब बने । यसरी नै मानवको भौतिक विकासको चरमचुलीमा पुग्दा कला, साहित्य, प्रविधि, स्वास्थ्य र सञ्चार क्षेत्रमा महत्वपूर्ण उपलब्धि मानिसले उपयोग गरिरहेका छन् ।

विभिन्न देशको विकास हेर्ने भने भूगोल र जनसंख्याले ठूला देश अमेरिका, चीन, भारत र रसियालाई हेर्दा अमेरिका अहिलेसम्म सबैभन्दा शक्तिशाली देशमा पर्छ । समयमा सही व्यक्तिको नेतृत्वले ठूलो महत्व राख्छ भन्ने अमेरिकाको विकासले पुष्टि गर्छ । फ्र्यांकलिन डी रुजवेल्ट ग्रेट डिप्रेसनमा, लिंकन सिभिल वारमा, थियोडर रुजवेल्ट बिसौँ शताब्दीको सुरुवातको विस्तारवादको नेतृत्वमा हुनुले अमेरिकाले समृद्धि हासिल गरेको हो । अमेरिकामा जनताबाट निर्वाचित हरेक राष्ट्रपति देश र जनताप्रति उतरदायी र इमानदार थिए । माओको राजनीतिक अभिष्ट पूरा गर्दा चीनले ठूलो क्षति व्यहोर्नुपर्‍यो । तथापि, देङ सियाओ पिङको खुला अर्थ नीतिको इमानदार कार्यान्वयन, भ्रष्टाचारीलाई कडा कारबाही तथा कानुन र आदेशको पालनाले वर्तमानमा राष्ट्रपति सी जिनपिङका समयमा चीन विकासको चरम चुलीमा पुग्दै छ । रसियामा कम्युनिस्ट सर्वहारा वर्गको ७० वर्षको अधिनायकवादी कार्यकालमा जनताले लाइन लगाएर पर्खंदा पनि पाउरोटी खान नपाउने अवस्थामा पुर्‍याएका थिए । यही पृष्ठभूमिमा मिखाइल गोर्वाचेभले आर्थिक अराजकता सुधार्न ल्याएको ग्लासनोस्त (खुलापन) र पेरेस्त्रोइका (पुनर्निर्माण)को नीतिले काम गर्न सकेन ।

सन १९९० मा सर्वहाराको सरकार ढल्यो । भौतिकशास्त्री एवं नोवेल विजेता आन्द्रेई साखारोभको नेतृत्वमा बोरिस यल्तसिनलगायतले सफल बनाए र यल्तसिन प्रजातान्त्रिक सरकारको राष्ट्रपति बने । यसैक्रममा यल्तसिनको उतराधिकारी भ्लादिमिर पुटिन बने । निकै ठूला विखण्डनका चुनौती सामना गर्दै पुटिनले देशलाई विस्तारै अगाडि बढाएका छन् । सर्वहाराको नाममा कम्युनिस्टले सबैभन्दा बढी आर्थिक दोहन गरेको देशमध्ये रसिया पनि पर्छ । यसरी नै भारतजस्तो बहुभाषिक, सांस्कृतिक तथा धार्मिक विश्वास भएको मुलुकलाई नमुना प्रजातान्त्रिक मुलुकमा विकास गर्न कठिन थियो । अफगानिस्तान र पाकिस्तानको सीमा जोडिएको देशमा सुरक्षा चुनौतीको घन्टी बजिरहेको हुन्छ । पिबी नरसिंह राव प्रधानमन्त्री बन्दा भारतको विदेशी मुद्रा भण्डार चिन्ताजनक थियो । देशको सुनसमेत धरौटी राख्नुपरेको थियो । उनले भारतीय रिजर्भ बैंकका अनुभवी गभर्नर डा. मनमोहन सिंहलाई अर्थमन्त्री बनाएर देशलाई संकटबाट बाहिर निकालेका थिए ।

विकासको गति यति छिटो अगाडि बढेको छ कि चीन चन्द्रमामा रुई र आलुको खेती गर्ने योजनामा छ । विश्वका राष्ट्रहरू जुन देश हिउँ नै हिउँमा रहेका छन्, तिनले त्यहीअनुसार विकास गरी उन्नत पारेका छन् । उच्च तापक्रम भएको भूमिमा बस्नेहरूले पनि सोहीअनुसार विकास गरेका छन् । एकथरी देश यस्ता देखिए, जनताका आवश्यकता चाहना पूरा गरेर नयाँ अनुसन्धानमा लागेका छन् । 

वर्तमान विश्वले के देखाउँछ भने जुनसुकै युग वा कालखण्डमा होस्, विकासका लागि धेरै त्याग भएका छन् । पूर्वीय दर्शन र ज्ञान, जसका आधारमा विकास भएका संस्कृति र सभ्यता कुनै पुस्तकालयमा बसेर, कसैका पुस्तक पढेर, साभार गरेर या अनुसन्धान गरेर आएको होइन । ती ज्ञान र दर्शन त परिवार र समाज त्यागेर वर्षौं जंगलमा प्रकृतिको साथमा विलय भएर निकालिएको हो ।

इतिहासमा मूल्यवान् ज्ञान र दर्शनका पुस्तक बनेर रहेका महापुरुषको ज्ञानभूमि नेपालकै पेरिफेरीभित्र पर्छ । नेपाल विभिन्न संस्कृति र परम्पराले सम्पन्न देश हो । जुन मानवको जीवन पद्धतिसँग एकाकार भएर रहेका छन् । पतञ्जली योगको सुरुवात अर्घाखाँचीको पाडणीबाट सुरु भएको मानिन्छ । एसियामै पहिलोपटक १०१ वर्ष पहिले कर्नेल इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा सुरुङमार्ग सुरुवात गरिएको थियो । नेपालको भूबनोटलाई हेरेर सुरुङमार्ग सुरु गरिएको भए पनि पछिका उत्तरधिकारीले सुरु नै गरेनन् । केवल मानिस मार्ने घुमाउरा सडक बनाइयो । आदर्शवादी दानवीर नेता सुर्वणशमशेर राणाले १६ हजार बिघा जमिन सरकारलाई दिएर भूमिसुधार लागू गरेका थिए । यसरी नै बबरशमशेर राणाले हजार बिघा जमिन सरकारलाई दिएका थिए । आज स्वयं नेताहरू भूमाफिया बन्न क्रियाशील छन् । सरकारी जमिन पनि सुरक्षित छैन । संस्कृति र परम्पराका रक्षक बनेका गुठीहरू अधिग्रहण हुँदै किनबेच भएका छन् भने बचेखुचेको जमिन हडप्न सरकार स्वयं लागेको छ ।

आर्थिक वर्ष ४५–५० सम्म निजी क्षेत्रले ८९ हजार तीय सय ५१ हजार रोजगारीको अवसर सिर्जना गरेको थियो । आज निजी कम्युनिस्टको आगजनी, चन्दा आतंक र ट्रेड युनियनका नाममा हुने बन्दका कारण लगानी पलायन भयो । पहिलोपटक तेन्जिङ नोर्गेले सगरमाथा चढे । नेपाली हिम्मती, साहसी छैनन् भन्न मिल्दैन । विश्वयुद्धमा सहभागी भएर वीर गोर्खालीको पहिचान बनाउन सक्षम नेपालीलाई कम आँक्न मिल्दैन । पशुपति, मुक्तिनाथ, लुम्बिनी र जानकीलाई सडक र सुरुङ सञ्जालबाट जोडिदिने हो भने हाम्रा युवा बिदेसिनुपर्दैन । तर, अहिलेसम्म सरकारमा आउनेहरू धेरैसँग असल सोच नै पलाएन । वातवरणीय र जडीबुटीका हिसाबले नेपाल आफैँमा निर्मल अस्पलाल हो । तर, यसलाई समयअनुसार साधनस्रोतसम्पन्न बनाउन छोडी राज्यको ढुकुटीको प्रयोग गरी विदेशमा औषधि उपचार गर्न जानेको कमी छैन, यहाँ ।

विज्ञानको पाठशाला पनि यिनै दर्शन भए पनि नेपालका नेतृत्वकर्ता नैतिकता, जवाफदेहिता र इमानदारीको जगमा अगाडि बढ्न सकेका छैनन्, जुन नेतामा हुनुपर्ने सबैभन्दा ठूलो पुँजी हो । यसैकारण सन्त, ऋषि, वैज्ञानिक र साहित्यकार बन्ने भूमि नेपालका सन्तान अरबमा बोरा बोक्दै छन् । विश्वमा धेरै सम्पन्न र विकसित राष्ट्रको इतिहास सय वर्ष हाराहारीको छ । तर, नेपाल प्राचीन देशमा पर्छ । पृथ्वीनारायण शाह नेपाल एकीकरणका पिता हुन् । उनका दिव्योपदेश राज्य सञ्चालनका पुँजी हुन् । नेपालको इतिहासमा योगमाया, राज्यलक्ष्मी, जंगबहादुर राणा, कृष्णप्रसाद कोइराला, गणेशमान सिंहलगायतलाई फरक पुस्तकका रूपमा पढ्न सकिन्छ । पुर्खाले सञ्चित जे जति नेपालसँग छ, त्यसको सदुपयोग नेपालीले गर्न पाएनन् । त्यसको जिम्मेवारी राज्य सञ्चालनमा सहभागी र गलत कामको वकालत गर्नेहरूले लिनुपर्छ । ह्विस्कीमा धर्म र संस्कृति भुल्ने एकथरी र पद र पैसाको लोभमा राष्ट्र भुल्ने अर्काथरीबाट देशले निकास पाउनुपर्छ ।

वर्तमानका नेताहरूसँग न धर्म, न संस्कृति, न कर्म, न देशभक्ति, न संस्कार, न मूल्यमान्यता, न नैतिकता, न उत्तरदायित्व, न इतिहास र न त पुर्खाप्रति गौरव नै छ । जसले इतिहास बुझेको छैन र आफैँले आफैँलाई चिनेको छैन, त्यसले अरूलाई कसरी चिन्छ ? नेपाललाई अगाडि बढाउन अहिले र अबको पुस्ताले आफ्नो देश, समाज, संस्कृति र धर्मसँग गौरव गर्दै पुरानो पुस्ताले बोकेको आफू बन्न देश लुट्ने पासालाई महाभारतका षड्यन्त्रकारी राजा शकुनीका पुत्रले गहिरो समुद्रमा फ्याँकेजस्तै आफ्नो व्यक्तिगत स्वार्थलाई फ्याँक्नुपर्छ । विदेशीको गुलामी गर्ने र देश लुट्नेहरूको रक्षाकवच बनेर असल मानिसको दर्जामा परिँदैन । भीष्म, द्रोणाचार्य, कृपाचार्य र कर्ण सबैभन्दा राम्रा उदाहरण हुन् । अबका दिनमा थोमस जेफर्सनको भनाइअनुसार शान्ति, समृद्धि र खुसीसहितको उत्कृष्ट मानव जीवन कसरी बनाउन सकिन्छ भन्नेतर्फ केन्द्रित हुन जरुरी देखिन्छ । बारम्बारको परीक्षामा असफल भइसकेका असत्यको वकालत गरेर इतिहासको किताब बन्न सकिन्न । अब नयाँ पिँढीले निर्णय गर्नुपर्छ, इतिहासको किताब बन्ने वा फुटनोट ? 
@Chandra97394225