१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सम्पादकीय
२०७५ पौष १८ बुधबार ०७:३६:००
Read Time : > 1 मिनेट
सम्पादकीय

चोलेन्द्र श्रीमान्का अवसर

Read Time : > 1 मिनेट
सम्पादकीय
२०७५ पौष १८ बुधबार ०७:३६:००

नेपालका प्रधानन्यायाधीशमा नियुक्तिका लागि संसद्को सुनुवाइ समितिले वरिष्ठ न्यायाधीशमध्येका चोलेन्द्रशमशेर जबरालाई सर्वसम्मतिले सिफारिस गरेको छ । यसअघि न्यायपरिषद्ले सिफारिस गरेका दीपकराज जोशी र चोलेन्द्रशमशेरमध्ये चोलेन्द्रलाई संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गरेको थियो । जोशी यसअघि संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत भइसकेका वरिष्ठ न्यायाधीश हुन् । त्यसैले, अबका चार वर्षसम्म चोलेन्द्रले सर्वोच्चका प्रधानन्यायाधीशका रूपमा नेपालको न्यायालय र न्यायपरिषद्को समेत नेृतृत्व गर्नेछन् ।

यससँगै केही सयमयता छिटोछिटो परिवर्तन भइरहेको सर्वोच्च अदालतले पनि अपेक्षाकृत स्थिर नेतृत्व पाउनेछ । सम्भवतः आजैदेखि प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्न लागेका श्रीमान् चोलेन्द्रशमशेरसामु नेपालको न्यायालयमा रहेका विकृति र विसंगति, न्यायाधीश नियुक्ति प्रक्रियामा रहेका समस्यालाई हल गर्दै न्यायालयप्रतिको जनविश्वास बढाउन र न्याय–प्रक्रियालाई स्वच्छ बनाउन गतिलो अवसर छ ।

चोलेन्द्रशमशेर प्रधानन्यायाधीशमा आउनुपूर्व ओमप्रकाश मिश्रले अल्पकालका लागि सर्वोच्चको नेतृत्व सम्हालेका थिए । त्यसअघिका प्रधानन्यायाधीश गोपाल पराजुलीको समय विवादमै बित्यो  । खासगरी उनको योग्यता र उमेरका विवाद, उनले गरेका फैसलाको अभिलेख र उनको छवि नै विवादास्पद देखियो । उनको एकप्रकारले अपमानजनक बहिर्गमन भएको थियो । त्यसअघि प्रधानन्यायाधीशका रूपमा सुशीला कार्कीको कार्यकाल पनि न्याय निरूपणका क्षेत्रमा कतिपय सकारात्मक हस्तक्षेप र कतिपय विवादास्पद सक्रियताका कारण सम्झिइनेछ ।

उनलाई त संसद्मा महाभियोग प्रस्तावसमेत दर्ता भएको थियो, जसलाई संसद् र अदालतबीच संघर्ष नबढाउन एउटा सम्झौताका माध्यमबाट फिर्ता लिइएको अनुमान गरिन्छ । त्यस सम्बन्धमा परेको रिटमा स्वयं चोलेन्द्रशमशेरको एकल इजलासले दिएको फैसला पनि कोरा भावुकताका आधारमा संसद्माथि गरिएको हस्तक्षेपका रूपमा चित्रित छ । वास्तवमा सर्वोच्च अदालतमा पछिल्लोपटकका विवादका शृंखला तत्कालीन नेतृत्वले गोपाल पराजुली, दीपकराज जोशी र चोलेन्द्रशमशेरको नियुक्तिका समयमा खेलेको भूमिकाका कारण भएको मानिन्छ । त्यतिवेलाका कानुन तथा न्यायमन्त्री नरहरि आचार्य र न्यायपरिषद्का सदस्य ख्यामनारायण ढुंगाना त्यतिवेला निकै विवादमा परेका थिए । यसरी न्यायालयभित्र राजनीति र बिचौलियाको नग्न प्रवेश भएको बिन्दु मानिन्छ, त्यस समयलाई  ।

प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्न लागेका श्रीमान् चोलेन्द्रशमशेरसामु नेपालको न्यायालयमा रहेका विकृति र विसंगति हटाई न्यायालयप्रतिको जनविश्वास बढाउन र न्याय–प्रक्रियालाई स्वच्छ बनाउन गतिलो अवसर छ

जे पृष्ठभूमिबाट आएको भए पनि अब श्रीमान् चोलेन्द्रशमशेरलाई न्यायालयलाई समग्र रूपमा सुधार गरेर लैजाने अवसर प्राप्त छन् । न्यायिक प्रक्रियाका सबै सरोकारवाला अंगको न्याय निरूपणमा निःस्वार्थ सहभागिता र सक्रियता निश्चित गर्नु, न्यायालयलाई बिचौलियाबाट मुक्त राख्नु, वकिलले न्याय सम्पादनलाई प्रभावित गर्न चाल्ने पेसी छल्ने चाललाई निस्तेज पार्नु, न्यायाधीशबीच बेन्च तोक्दा हुने चलखेलको परम्परालाई रोक्नु र सर्वोच्चका सबै न्यायाधीशलाई अवसर प्रदान गर्नु, फैसला मूलतः प्रमाणमा आधारित हुने र प्रमाण शक्ति तथा पैसाबाट प्रभावित हुन सक्ने भएकाले न्याय निरूपणमा न्यायिक सिद्धान्तलाई पनि आधार बनाउने परिपाटीको विकास गर्नु र न्यायपरिषद्को नेतृत्वलाई राजनीतिका तत्कालीन लाभ–हानिको प्रभावबाट मुक्त राखेर न्यायालयलाई स्वतन्त्र बनाइराख्नु अहिलेको कुनै पनि प्रधानन्यायाधीशको दायित्व र चुनौती हो । चोलेन्द्र श्रीमान्लाई यिनै चुनौतीबीचबाट राम्रो नतिजा निकाल्ने अवसर प्राप्त छ ।