१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
२०७६ असार २१ शनिबार ०९:५३:००
Read Time : > 3 मिनेट
पर्यटन

संसार घुम्दा लन्डन र देश चहार्दा तम्घासले लोभ्यायो : शेखर गाेल्छा

Read Time : > 3 मिनेट
२०७६ असार २१ शनिबार ०९:५३:००

कत्तिको घुम्नुहुन्छ ?
घुमफिर धेरै गर्छु । हाइकिङ जान्छु, ट्रेकिङ गर्छु । तराईको फाँटदेखि हिमालसम्म पुगेको छु । विदेश पनि गइरहन्छु । ड्राइभिङ गर्न मन पर्छ । त्यसैले आफैँले गाडी हुइँक्याएर पनि धेरै ठाउँ पुगेको छु । नयाँ ठाउँमा घुमफिर गर्दा ऊर्जा मिल्छ ।

नेपालका कति ठाउँ पुग्नुभयो ? 
देशका ४८ जिल्ला पुगेँ । मुख्य पर्यटकीय गन्तव्यमा पुगिसकेको छु । पूर्वमा ताप्लेजुङ, इलाम, धरान, धनकुटा धुमेको छु । सगरमाथा र अन्नपूर्ण आधार शिविर पनि पुगिसकेँ । तिब्बततर्फबाट पनि सगरमाथा आधार शिविर पुगेको छु । नेपाल र तिब्बतबाट सगरमाथा आधार शिविर पुग्दा अल्टिच्युटबाहेक धेरै विषयमा भिन्नता छ । लुक्लाको फाप्लुमा हामीले आँखा शिविर चलाएका थियौँ । झन्डै १० दिन बसेँ । र, ट्रेकिङ पनि गरेँ ।

काठमाडौंआसपासमा जहाँजहाँ गाडी पुग्छ, ती सबै ठाउँमा पुगेको छु । पोखराआसपासका अधिकांश ठाउँ चहारेको छु । घान्द्रुक, घोरेपानी, मुस्ताङ घुमेको छु । रारा पुगेको छु । पश्चिममा अझै घुम्ने ठाउँ धेरै छन् । अझै धेरै ठाउँ पुग्ने रहर छ । यात्रा पनि जारी नै छ ।

कति मुलुक पुग्नुभयो ? 
मलाई लाग्छ, ५७ मुलुक पुगिसकेँ । 

विदेश घुम्दा हिमाल पनि चढ्नुभयो ?  
मैले अफ्रिकाको सर्वोच्च शिखर किलिमान्जरो चढेँ । पेरु र अर्जेन्टिना पुगेर पनि हिमाल चढेँ । अर्जेन्टिनामा ग्लेसियर चढेको हुँ । 

घुमफिर गर्न कुन देश सिफारिस गर्नुहुन्छ ? 
ट्राभलरअनुसार फरक पर्न सक्छ । सबैको सोच एउटै हुँदैन । कल्चरल एक्सपेरियन्सका लागि युरोप जाँदा ठीक हुन्छ । युरोप संस्कृतिको धनी छ । ठुल्ठूला सडक, गगनचुम्बी भवनलगायत पूर्वाधार र तीव्र विकास हेर्नका लागि चीन र अमेरिका जान सकिन्छ । मान्छे कस्ता हुन्छन्, उनीहरूको जीवनशैली हेर्न जापान जानुपर्छ । नेपालीले छुट्टी मनाउन जाने हो भने राम्रो सपिङ, उच्चतम मनोरञ्जन, सुन्दर सामुद्रिक किनार, राम्रा–राम्रा होटेल–रेस्टुरेन्ट र रिजनेबल प्राइस भएकाले थाइल्यान्ड जान सकिन्छ । अरू मुलुकका पनि आफ्नै बेग्लाबेग्लै विशेषता छन् ।

धेरैपटक पुगेको देश कुन हो ? 
सायद, बेलायत होला । लन्डन कमसेकम २० पटक पुगेँ होला । मेरो मन पर्ने सहर हो, लन्डन । मेरा बच्चाहरू पनि उतै पढ्छन् । म गइरहने सहरमा पर्छ, लन्डन ।

किन लन्डन मन पर्छ ? 
लन्डन विश्वकै ‘सेन्ट्रल प्वाइन्ट’ हो । संस्कृतिको पनि ‘सेन्ट्रल प्वाइन्ट’ हो । लन्डनमा विश्वभरका मान्छे छन् । विश्वकै संस्कृति हेर्न पाइन्छ । अफ्रिकन, अरेबियन, पाकिस्तानी, भारतीय, नेपाली जुनसुकैले लन्डनमा आफ्नो समाज, आफ्नो संस्कृति देख्न पाउँछ । आफ्नोपन पाउँछ । लन्डनमा मात्रै नेपालीका २०–२५ रेस्टुरेन्ट सञ्चालनमा होलान् । अरू व्यवसाय पनि थुप्रै छन् । नेपालीको बस्ती पनि ठूलै छ ।

लन्डन यस्तो सहर हो, जहाँ बाबाजीजस्तो भएर घुम्न निस्किए पनि कसैले चियोचर्चो गर्दैनन् । कुनै ठाउँबाट आयो होला, यो त्यहाँको कल्चर होला भन्ठान्छन् । काठमाडौंमा अफ्रिकन वा बाबाको ड्रेस लगाएर सडकमा निस्किनुपर्छ, सबैभन्दा पहिला कुकुर भुक्न थाल्छ । मान्छेले अनौठो ठानेर फर्की–फर्की हेर्छन्, वरिपरि भिड जम्मा हुन्छ । 

लन्डन विश्वकै ‘सेन्ट्रल प्वाइन्ट’ हो । संस्कृतिको पनि ‘सेन्ट्रल प्वाइन्ट’ हो । लन्डनमा विश्वभरका मान्छे छन् । विश्वकै संस्कृति हेर्न पाइन्छ । अफ्रिकन, अरेबियन, पाकिस्तानी, भारतीय, नेपाली जुनसुकैले लन्डनमा आफ्नो समाज, आफ्नो संस्कृति देख्न पाउँछ । आफ्नोपन पाउँछ ।

विश्वकै फाइनान्सियल क्यापिटल पनि हो । विश्वभरका व्यवसायीको लन्डनमा जमघट हुन्छ । विश्वकै हिस्ट्री अध्ययन गर्न सकिन्छ । युनिक आर्ट छ । आफ्नौ मौलिक संस्कृति संरक्षण गरेका छन् । रातो बस र कालो ट्याक्सी लन्डन चिनाउने युनिक विषय हुन् । 

लन्डनको थिएटर संस्कृति बिर्सन सक्दिनँ । म लन्डन गएपछि थिएटरमा नाटक हेर्न जान्छु । नेपालमा पनि पहिला खुबै नाटक प्रहसन हुन्थ्यो, तर पछि हराएर गयो । पछिल्लो समय बिस्तारै थिएटर ब्युँतिँदै छ । हामीले पनि थिएटर संस्कृति संरक्षण गर्नुपर्छ । लन्डनमा थिएटर क्रेज गज्जबै देखिन्छ । 

पूरै लन्डन ट्रेनबाट घुम्न सकिन्छ । जुनसुकै ठाउँबाट पनि सेन्ट्रल लन्डनमा पाँच मिनेटभन्दा बढी हिँड्नुपर्दैन । सही ट्रेन समात्नुपर्छ, ट्रेनले जहाँ पनि पुर्‍याइदिन्छ । सपिङका लागि युनिक ठाउँ हो । तर, म त्यति सपिङ गर्दिनँ ।

नेपालको कुन ठाउँ मन पर्छ ?
गुल्मीको सदरमुकाम तम्घास । साँघुरो सडक हुनाले तम्घास पुग्न गाह्रो रहेछ, तर पुगेपछि खुबै राम्रो लाग्यो । हालै तम्घास पुगेको थिएँ । एक रात बसेँ पनि । तम्घास युनिक लाग्यो । मौसम पनि ठण्डा । त्यहाँको बजार पनि युनिक रहेछ । शान्त र सफा पनि । सबैभन्दा बढी मन परेको त्यहाँका मान्छेको मुहारमा ‘हेप्पिनेस’ हो । 

गुल्मी सदरमुकाम तम्घास युनिक लाग्यो । मौसम पनि ठण्डा । त्यहाँको बजार पनि युनिक रहेछ । शान्त र सफा पनि । सबैभन्दा बढी मन परेको त्यहाँका मान्छेको मुहारमा ‘हेप्पिनेस’ हो । 

मान्छेको ड्रेसअप पनि राम्रो लाग्यो । नेपालका शिक्षित जिल्लामध्ये एक होला, गुल्मी । धेरै गुल्मेली ब्युरोक्र्याटमा छन् । तम्घास बजार अग्लो रेसुंगा डाँडाको काखमा छ । रेसुंगा जहिल्यै हरियाली रहन्छ रे ! हामी जाँदा लालीगुराँस फुलेर डाँडै राताम्य भएका थिए । मेरो फेबरेट सिटीमा तम्घास पर्छ । संसार घुम्दा लन्डन र देश चहार्दा तम्घासले लोभ्यायो । 

अन्त्यमा, किन घुमफिर गर्नुपर्छ ? 
ट्राभल गर्दा मान्छेले धेरै कुरा देख्छ, सिक्छ पनि । जो मान्छेले विश्वभर भ्रमण गरेको छ । धेरै देशहरू देखेको छ । विभिन्न कार्यक्रममा सहभागी भएको छ । धेरै किसिमको एक्सपोजर पाएको मान्छेको आउटलुक नै फरक हुन्छ । मान्छेले एक्सपोजर खोजिरहेको हुन्छ, जुन इच्छा यात्राले पूरा गरिदिन्छ । 

कुनै पनि मुलुकमा जाँदा त्यहाँको संस्कृति, जीवनशैली, खानपिन, प्रगति देखेपछि हाम्रो सोचमा पनि परिवर्तन हुन्छ । एकै ठाउँमा बसेपछि न्यारो माइन्डेड हुन्छौँ । जति बढी घुम्न सक्यौँ, ब्रोड माइन्डेड हुन्छौँ । घुमफिर गर्दा अरू मान्छेको दृष्टिकोण पनि बुझ्न सक्छौँ । अरूको दृष्टिकोण ग्रहण गर्न सकिन्छ । धारणा बनाउन सक्छौँ । घुमफिर गर्दा ऊर्जा पनि मिल्छ । रिफ्रेस भइन्छ । दिमाग पनि क्रिएटिभ हुन्छ ।