मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असार २१ शनिबार ०८:५०:००
Read Time : > 4 मिनेट
मुख्य समाचार

प्रतिव्यक्ति दैनिक १३५ लिटर पानी आवश्यक, पाउँछन् २० लिटर मात्रै

Read Time : > 4 मिनेट
२०७६ असार २१ शनिबार ०८:५०:००

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार काठमाडौंमा एक व्यक्तिलाई प्रतिदिन १३५ लिटर पानी आवश्यक पर्छ । यो आधारमा उपत्यकाका ३० लाख जनसंख्यालाई दैनिक ४२ करोड लिटर पानी आवश्यक पर्छ । तर, केयुकेएलसँग अहिले प्रतिदिन १० करोड लिटर मात्रै उपलब्ध छ । योमध्ये ३५ देखि ४० प्रतिशत पानी त चुहिएरै सकिन्छ । त्यसैले उपभोक्ताको घरमा ५ देखि ६ करोड लिटर मात्रै पुग्छ । यस आधारमा दैनिक एक व्यक्तिको भागमा २० लिटर मात्रै पर्छ । तर, उपभोक्ताले यही पानी पनि दैनिक नपाउने भएकाले जटिल समस्या छ । ‘उपत्यकाभित्रका सर्फेसमा रहेका पानीका स्रोत अधिकतम प्रयोग गरिएको छ । जमिनमुनिको पानी पनि ८० ठाउँबाट उत्पादन हुँदै छन् । यी सबैबाट दैनिक १० करोड लिटर पानी मात्रै उत्पादन हुन्छ । तर, माग ४२ लाख लिटरको छ । यति ठूलो मागलाई १० करोड लिटरले कसरी धान्न सक्छ,’ केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले भने ।

बालुवाटार र शीतल निवास क्षेत्रमै पानीको चरम अभाव
राष्ट्रपति र प्रधानमन्त्रीको सरकारी निवास रहेको क्षेत्रमै खानेपानीको हाहाकार छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार काठमाडौंमा शीतलनिवास, बालुवाटार, वसुन्धरा, नयाँबजार, गोंगबु, महाराजगन्ज, ठमेल, नक्साल, हाँडीगाउँ, सामखुसीलगायत क्षेत्रमा खानेपानीको चरम अभाव छ । शीतलनिवास र बालुवाटार क्षेत्रका घरहरूमा २० दिनमा बिराएर बढीमा तीन घन्टा खानेपानी वितरण गरिँदै आएको छ । 

दक्षिणी सामाखुसी क्षेत्रमा १९ दिनमा, बाँसबारी र कपन क्षेत्रमा १८ दिनमा र बसुन्धरा पश्चिम क्षेत्रमा १७ दिनमा एकपटक खानेपानी वितरण हुँदै आएको छ । बानेश्वर आसपासका क्षेत्रमा पनि खानीपानीको अभाव छ । उक्त क्षेत्रका घरका धारामा आठ दिनमा दुई घन्टा मात्रै खानेपानी आउँछ । क्षेत्रपाटी आसपासमा नौ दिन बिराएर आउँछ । बौद्ध, महांकाल, चुच्चेपाटी, चाबहिल क्षेत्रमा पनि नौ दिनमा एकपटक खानेपानी वितरण हुन्छ । त्यस्तै, त्रिपुरेश्वर, कालिमाटी, डल्लु आसपासका क्षेत्रका घरमा सातामा एकपटक सरकारी पानी आउँछ । ललितपुरको कुपन्डोल, जावलाखेल क्षेत्रमा पनि समस्या उस्तै छ । यहाँ एक सातामा पानी वितरण हुन्छ । 

ट्यांकरबाट वितरण हुने पानीको माग बढ्दै
केयुकेएलबाट वितरण हुने पानीको परिमाण घटेपछि ट्यांकरबाट वितरण हुने पानीको माग बढेको छ । उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अनुसार उपत्यकाभित्र दैनिक सात सय ट्यांकरले पाँच करोड लिटर पानी वितरण गर्छन् । सुक्खा मौसममा यो माग १० करोड लिटर पुग्छ । तर, ट्यांकरको पानी खरिद गर्दा पनि उपभोक्तालाई पर्याप्त हुँदैन । 
उपत्यकामा भक्तपुरको झौखेल, सातदोबाटो, गोदावरी, चाल्नाखेलदेखि हिमाल सिमेन्ट कारखाना रहेको स्थानसम्म, मातातीर्थ, स्वयम्भू, बालाजु, जोरपाटी, सानेपाको बागमती नदीलगायतका क्षेत्रमा आधुनिक मेसिन राखेर जमिनमुनिको पानी तानिन्छ र ट्यांकरमा भरेर उपभोक्ताकहाँ लगिन्छ । 

जारको पानीको खपत पनि बढ्यो 
केयुकेएलले मागबमोजिमको पानी नधान्ने भएपछि जारको पानीको माग  बढ्दो दरमा छ । बोटल वाटर उद्योग संघका अनुसार सामान्य अवस्थामा २० लिटर पानी अटाउने जार दैनिक ४५ हजारदेखि ५० हजार गोटासम्म खपत हुने गर्छ । सुक्खा याममा भने ७० हजारवटासम्म जारको पानी खपत हुने गर्छ । त्यस्तै, एकदेखि डेढ लिटर अटाउने बोतलको पानी सामान्य अवस्थामा दैनिक २० देखि २५ हजार केस (एक केसमा १२ वटा बोतल हुन्छ) खपत हुन्छ । सुक्खा याममा भने ४० हजार केससम्म खपत हुन्छ । जाडोको तुलनामा गर्मीमा पानीको माग ४० प्रतिशत बढ्ने गरेको संघको दाबी छ । यो आधारमा हिसाब गर्दा साना र ठूला जारबाट मात्रै सुक्खा याममा दैनिक १६ लाख ८० हजार लिटर पानी वितरण हुने गर्छ ।

उपत्यकाभित्रका सर्फेसमा रहेका पानीका स्रोत अधिकतम प्रयोग गरिएको छ । जमिनमुनिको पानी पनि ८० ठाउँबाट उत्पादन हुँदै छन् । यी सबैबाट दैनिक १० करोड लिटर पानी मात्रै उत्पादन हुन्छ । तर, माग ४२ कराेड लिटरको छ । यति ठूलो मागलाई १० करोड लिटरले कसैगरी पनि धान्न सक्दैन -प्रकाशकुमार राई प्रवक्ता, केयुकेएल

दैनिक तीन करोड ३१ लाखको पानी खपत 
उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अनुसार ट्यांकरको पानी प्रतिलिटर ४० पैसाको दरले बिक्री हुन्छ । सुक्खा याममा दैनिक ५ करोड लिटर पानी आपूर्ति हुने भएकाले यस याममा ट्यांकरको पानी मात्रै दैनिक दुई करोड रुपैयाँको बिक्री हुन्छ । त्यस्तै, २० लिटर अटाउने जारको पानी दैनिक ७० हजारवटा खपत हुन्छ । एउटा जारको मूल्य ५० रुपैयाँ पर्छ । यो आधारमा २० लिटर जाने जारको पानी मात्रै दैनिक ३५ लाख रुपैयाँको बिक्री हुन्छ । त्यस्तै, एक लिटर पानी अटाउने सानो बोटल दैनिक ४ लाख ८० हजार वटा बिक्री हुन्छ । एउटा बोतलको मूल्य २० रुपैयाँ पर्छ । यस आधारमा सानो बोटलको पानी मात्रै दैनिक ९६ लाखको बिक्री हुन्छ । यसरी समग्रमा सुक्खायाममा उपत्यकामा दैनिक तीन करोड ३१ लाख रुपैयाँको पानी माग हुन्छ । 

 खोलाको पानी पिउनुपर्ने बाध्यता

 तेजराज भट्ट

कैलालीको अत्तरिया नगरपालिका–११ र १२ स्थित गोदावरी ओलानी क्षेत्रका बासिन्दाले खोलाको पानी पिउने गरेका छन् । तीन सय परिवार खोलाको पानीमा आश्रित रहेको वडा नम्बर ११ का अध्यक्ष शिवबहादुर विकले बताए । बर्खामा धमिलो पानी आउने गरेको स्थानीय सावित्री खड्काले बताइन् । पहिले गाउँमा बोरिङबाट पानी तानेर वितरण गरिएको भए पनि अहिले बिग्रिएपछि धारामा पानी आउँदैन । ‘आयोजना बिग्रिएपछि धारामा पानी आउन छाड्यो, खोलाको पानी पिउनुको विकल्प छैन,’ खड्काले भनिन्, ‘अहिले खोलाको पानी धमिलो छ ।’ 

मछली खोलाको पानी सिँचाइका लागि नहरमार्फत गाउँमा पु-याइएको छ । कतिपयले त्यही पानी प्रयोग गर्छन् । वडा नम्बर १२ मा पर्ने ओलानीको माथिल्लो भेगमा भने खोलाको पानी पाइपबाट ल्याएर वितरण गरिएको छ ।  हाल ६ सय परिवारलाई पु-याउन रोटरी क्लब धनगढीले दुई करोड रुपैयाँको लागतमा ओलानीमा खानेपानी आयोजना निर्माण गरिरहेको छ । त्यस्तै, संघीय सरकारको लगानीमा पनि एक हजारभन्दा बढी घरधुरीलाई खानेपानी पु¥याउने लक्ष्यसहित ओलानी क्षेत्रमै अर्को आयोजना बनिरहेको वडा नम्बर १२ का अध्यक्ष भीमबहादुर खड्काले बताए ।

 बुटवलमा खानेपानीको हाहाकार
विष्णु घिमिरे

बुटवलमा अहिले साढे तीन करोड लिटर खानेपानीको माग छ, तर खानेपानी संस्थानले दुई करोड ७५ लाख लिटर मात्रै वितरण गर्दै आएको छ । एक करोड लिटर पानी अभाव हुँदा संस्थाले सुरु गरेको १० वर्ष पुरानो खानेपानी आयोजना भने अलपत्र छ ।  बुटवलमा खानेपानीको दूरगामी माग पूर्ति गर्न चार करोड लगानीमा ०५३/५४ मै पाल्पाको सिस्नेबाट पानी ल्याउने योजना बनेको थियो । ०५३ मै पाइपसमेत खरिद गरिएको थियो । तर, विभिन्न अवरोध र ढिलासुस्ती भएपछि सिस्ने योजना अलपत्र छाडेर खानेपानी संस्थानले ०६६ मा पाल्पाकै झुम्साबाट खानेपानी ल्याउने योजना सुरु ग-यो । तर, तोकिएको निर्माण अवधि तीन वर्ष धकेलिँदा र २२ करोड खर्च भइसक्दा झुम्साको पानी बुटवल झर्ने सम्भावना अन्योलमै छ । 

पाल्पाको झुम्सा पुलबाट ३२ सय मिटर पूर्वमा रहेको झुम्सा मुहानबाट बुटवलमा पानी ल्याउन करिब १३ किलोमिटर दूरी छ । आयोजनाका अनुसार काम सम्पन्न गर्न अब ३ सय मिटर मात्रै पाइप बिछ्याउन बाँकी छ । तर, बाँकी पाइप बिछ्याउने रुटमा समेत विवाद हुँदा फरक स्थानबाट पाइप बिछ्याउन नयाँ टेन्डर गर्न लागिएको खानेपानी संस्थान बुटवलका प्रमुख बुद्धरत्न महर्जनले बताए । अहिलेसम्म आठ हजार सात सय ८१ मिटरमा १० इन्चको र तीन हजार चार सय मिटरमा २० इन्चको पाइप बिछ्याइएको छ । तर, कैयौँ ठाउँमा पाइप फुटेर काम नलाग्ने भएका छन् । हाल खानेपानी संस्थानले बुटवलमा जडान गरेका १६ सय धारामा तिनाउ खोला र बोरिङको पानी वितरण गर्दै आएको छ ।

 चार दिनमा आधा घन्टा पानी कर्णालीको राजधानी नै काकाकुल

खगेन्द्र भट्टराई
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर काकाकुल बनेको छ । वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले चार दिनमा आधा घन्टा मात्र पानी आपूर्ति गरेपछि स्थानीय संकटमा परेका हुन् ।  मुख्य स्रोत मानिएको झुप्राखोलामा पानी सुक्न थालेपछि वीरेन्द्रनगरवासीलाई खानेपानी आपूर्तिमा समस्या भएको संस्थानका प्रमुख डम्बरबहादुर गौतमले बताए । दैनिक एक करोड ५४ लाख लिटर पानी आवश्यक भए पनि संस्थाले ८६ लाख लिटर मात्रै पूर्ति गर्ने गरेको छ । अहिले वीरेन्द्रनगरवासी घरदेखि टाढाका ढुंगेधारा र बुलबुले ताल पुगेर पानी संकलन गर्न बाध्य छन् । फास्ट ट्र्याकबाट भेरी नदीको पानी मूल लाइनमा जोड्ने योजना पनि अलपत्र परेको छ ।