राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा भुटानमा सञ्चालन भइरहेको पाँचौँ भारत–भुटानमैत्री टेनिस प्रतियोगिताको फाइनलमा पुगेका छन् । थापा ४५ वर्ष उमेरमाथि भेन्ट्रान्स समूहको अन्तिम चारमा पुगेका हुन् । थापाले बिहीबार सम्पन्न सेमिफाइनलमा दार्जिलिङका देवनम लामालाई ६–१ र ६–२ को सोझो सेटमा हराए । यसअघि प्रतियोगिताको पहिलो खेलमा थापाले भुटानका टासी दोर्जेलाई ७–५ र ७–६ ले पाखा लगाएका थिए ।
पुरुष एकलमा भने थापा भारतीय खेलाडी केने सेवाङसँग ६–० र ६–० को सेटमा पराजित भएका छन् । महिला एकलमा नेपालकी अश्लेषा लिसानेविचले भारतीय खेलाडी वन्टीलाई ४–६, ६–३ र ७–६ को कठिन सेटमा हराइन् । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानका ७२ खेलाडीको सहभागिता छ । प्रतियोगितामा पुरुष एकल, महिला एकल, ४५ वर्षमाथि उमेर समूहको भेट्रान्स एकल खेल समावेश छन् ।