मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मझर जैदी काठमाडाैं
२०७६ असार २० शुक्रबार ०८:१३:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

पाकिस्तानमा हिन्दी सिनेमा प्रतिबन्धको प्रभाव

अन्य भाषाका फिल्म खुला गर्ने प्रयासका बाबजुद बलिउड फिल्म पाकिस्तानी दर्शकका लागि पहिलो छनोट हुने गरेका छन्

Read Time : > 3 मिनेट
मझर जैदी काठमाडाैं
२०७६ असार २० शुक्रबार ०८:१३:००

भारत र पाकिस्तानबीचको भयावह द्वन्द्वले निम्त्याउने क्षेत्रीय अस्थिरता, सैन्यकरण र सम्भावित आर्थिक क्षतिको मूल्य विश्वभरका समाचार हेडलाइनमा छाउने गर्छन् । तर, यस संकटमा धेरैजसो बेवास्तामा पर्ने अर्को पीडित पक्ष पनि छ–पाकिस्तानी फिल्म व्यवसाय । राजनीतिले पाकिस्तानी सिनेमालाई क्षति पुर्‍याएको लामो इतिहास छ, तर यसमा पछिल्लो धक्का सन् २०१६ सेप्टेम्बरमा आयो, जब सशस्त्र विद्रोहीले कास्मिरमा भारतीय सेनामाथि आक्रमण गर्दा १९ सैनिक मारिए । भारतले आक्रमणको दोष पाकिस्तानी भूमिलाई आधार बनाएको जैस–ए–मोहम्मदमाथि लगायो । त्यसपछि दुई देश तनावको अवस्थाबाट गुज्रिए । 

राष्ट्रवादी धार बलियो भइरहेको अवस्थामा भारतका फिल्म निर्माताको संघले पाकिस्तानी कलाकारलाई भारतीय फिल्ममा प्रतिबन्ध लगायो । पाकिस्तानतर्फ भने फिल्म हलका मालिकले भारतीय फिल्म नचलाउने निर्णय गरे । त्यसपछि तीन महिनाभित्रै फिल्म हेर्न जानेको दर्शकको संख्या ११ प्रतिशतले घट्यो । सिनेमाको अत्यन्त लोकप्रिय संसार प्रतिस्पर्धा, उग्रता, राष्ट्रवादको मैदान बन्यो । जबकि यो सबैबीच भारत र पाकिस्तानबीच व्यापार भने जारी रह्यो । फिल्मले दक्षिण एसियामा सांस्कृतिक सामीप्य कायम राख्न सघाएको छ । पाकिस्तानका कैयौँ पुस्ता भारतीय फिल्म हेरेर हुर्कियो । पाकिस्तानमा भारतीय फिल्म अत्यन्त लोकप्रिय छन् । त्यहाँ हिन्दी फिल्मका दर्शक धेरै छन् । भारतीय फिल्म उद्योगका हिजोका दिलीप कुमारदेखि अहिलेका शाहरूख खानसम्मलाई त्यहाँ निकै माया गरिन्छ ।

बलिउडलाई विस्थापित गर्ने उद्देश्यले अन्य संस्कृतिका चलचित्रलाई अनुमति दिँदा पनि पाकिस्तानका फिल्म दर्शकका मुख्य छनोट बलिउड नै हुने गरेका छन् । भारतीय फिल्मको रिक्तता पाकिस्तानी दर्शकले साह्रै नै महसुस गरे । पाकिस्तान अझै प्रत्येक हप्तालाई पुग्ने गरी फिल्म निर्माण र वितरण गर्न सक्षम नभएको अवस्थामा त्यस्तो कठिनाई उत्पन्न भएको थियो । सन् २०१३ देखि २०१७ बीच पाकिस्तानमा सिनेमा चलाउने हलको  संख्या ३० बाट १०० पुगेको थियो । तथापि निर्माता र लगानीकर्ता चिन्तित थिए । अधिकांश फिल्म र निर्माता ठूलो दर्शकमाझ पुग्न कठिन हुन्छ भन्ने स्विकार्न थालिसकेका थिए ।   

केही महिनापछि पाकिस्तानी फिल्म हलका सञ्चालकले आफैँले लगाएको प्रतिबन्ध अन्त्य गरे र भारतीय फिल्म पुनः सन् २०१७ मा पाकिस्तानी पर्दामा फर्किए । तर, लगानीकर्तामा भने एउटा प्रश्न उठ्यो । यसरी दुई देशबीच उत्पन्न हुने प्रत्येक संकटको असर फिल्म व्यवसायमा परिरहने हो भने व्यवसाय कत्तिको टिकाउ हुन्छ ? पाकिस्तानमा भारतीय फिल्मको प्रदर्शनमा पहिलो प्रतिबन्ध सैनिक शासक राष्ट्रपति मोहम्मद अयुब खानले सन् १९६५ मा लगाएका थिए । पाकिस्तान र भारतबीच दोस्रोपटक युद्ध चलिरहेको समयमा यो प्रतिबन्ध लगाइएको थियो । स्थानीय फिल्म उद्योगको समस्या जनरल मोहम्मद जिया उल–हकको राष्ट्रपतित्वकालमा झनै बढ्यो । हकले फिल्म उद्योगमाथि उच्च कर र कडा सेन्सरसिप नीति अंगीकार गर्दा सिनेमा क्षेत्रको विस्तारमा प्रतिकूल प्रभाव पर्‍यो । 

सिनेमा क्षेत्र कमजोर हुँदै गएको ती दशकमा पाकिस्तानी टेलिभिजनमा धारावाहिक शृंखला बढे । ती पाकिस्तानी मध्यम वर्गलाई मनोरञ्जन प्रदान गर्ने माध्यम बने । अभिनेता, निर्देशक र पटकथा लेखक पनि टेलिभिजनमा केन्द्रित हुन थाले । फिल्म नै हेर्न खोज्नेहरूका लागि भने हलिउड अथवा बलिउड फिल्मको नक्कल गरेर बनाइएका दोस्रो दर्जाका फिल्म हेर्नुपर्ने विकल्प मात्र बाँकी रहे । जियाको शासनअन्तर्गत पाकिस्तानी सिनेमा उद्योगको विनाशै भयो भन्दा फरक पर्दैन । त्यहाँ रहेका ७ सय सिनेमा हलमध्ये अधिकांश बन्द भए । 

पाकिस्तानी सिनेमा उसको लामो कोमाबाट सन् २००६ मा बल्ल तंग्रियो, जब जनरल परबेज मुसर्रफले सन् १९६५ देखि भारतीय फिल्म प्रदर्शनमा कायम प्रतिबन्ध हटाए । केही वर्षभित्रै फिल्मको उच्च माग धान्न प्रमुख सहरमा नयाँ मल्टिप्लेक्स बन्न थाले । सन् २०११ सम्म पाकिस्तानमा झनडै ३५ वटा मल्टिप्लेक्स बनिसकेका थिए, किनकि वितरक मूलत महँगो टिकट मूल्य तिर्न सक्ने मध्यमवर्गमा केन्द्रित थिए । एकल पर्दावाला सिनेमाघर र ती हलका निम्नवर्गीय दर्शक पूर्णतः बेवास्तामा परे । बढ्दो मात्रामा पर्दाको संख्याका कारण फिल्मनिर्मातालाई पनि प्रोत्साहित गरेको छ । पाकिस्तानी फिल्मका लागि नयाँ मोड सोयव मन्सुरको फिल्म ‘बोल’ले ल्यायो । सन् २०११ मा निर्माण गरिएको फिल्ममा तेस्रोलिंगी छोरी भएको एउटा धार्मिक परिवारको कथा प्रस्तुत गरेको थियो । यस फिल्मको उल्लेख्य सफलताले अन्य पाकिस्तानी फिल्म निर्मातालाई उत्साहित गर्‍यो । 

नेटफ्लिक्स र अमेजनजस्ता अनलाइन फिल्म माध्यमको आगमनले अन्य देशका फिल्म उद्योगलाई सघाएको छ 

त्यसको दुई वर्षपछि पाकिस्तानले वर्षमा २० फिल्म निर्माण गर्‍यो । यो संख्या सोचिएभन्दा बढी थियो । अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलले पनि विशेष किसिमका पाकिस्तानी फिल्मलाई समेट्न थाले । फिल्म क्षेत्रसँग जोडिएकाहरू पाकिस्तानले पनि अब फिल्ममार्फत आफ्ना कथा भन्न सक्छ भन्ने कुरामा उत्साही थिए । पाकिस्तानमा भारतीय फिल्ममाथि प्रतिबन्ध हटाइएपछि दुई मुलुकका फिल्म क्षेत्र र प्रतिभाबीच आदान–प्रदान र सिर्जनात्मक सहकार्य सुरु भयो । जस्तै, पाकिस्तानी अभिनेता भारतमा स्टार बने । लगभग हरेकजसो भारतीय फिल्मले पाकिस्तानी संगीतकर्मीलाई गाउने अवसर दिए । 

त्यसपछि पुलवामा आक्रमणको घातक धक्का आइपर्‍यो । कास्मिरको पुलवामा आक्रमणपछि भारत र पाकिस्तानबीच झन्डै युद्ध नै भयो । पाकिस्तानमा भारतीय फिल्म प्रदर्शनमा औपचारिक प्रतिबन्ध लागू भयो । साढे तीन महिनापछि पाकिस्तानका फिल्म हल पुनः एकपटक झन्डै खाली छन् । तिनका मालिकले आफ्ना कामदार हटाउने सोचाइ बनाउन थालिसकेका छन् । केही पाकिस्तानी फिल्मले राम्रो कमाइ गरे पनि त्यहाँका हललाई पुग्ने र हलको संख्या विस्तारमा सघाउने अवस्थामा पुगेका छैनन् ।

पाकिस्तानको सबैभन्दा ठूलो सिनेमा हल चेन ‘सिनेप्याक्स’का व्यवस्थापक मिर्जा साद बेगले पाकिस्तानमा फिल्म हल टिक्न हप्तामा कम्तीमा एउटा वा दुईटा फिल्म प्रदर्शन हुनुपर्ने बताए । तर, वर्तमान राजनीतिक अवस्थाले तत्कालै भारत र पाकिस्तानबीच सांस्कृतिक सम्बन्ध पुनस्र्थापित हुने आशा गर्न सकिने अवस्था छैन । तथापि विगतको पाकिस्तान पिपुल्स पार्टी र पाकिस्तान मुस्लिम लिग–नवाजका दुवै सरकारको प्रयासको बाबजुद राज्यले अझै सबै सहमत हुन सक्ने फिल्मनीति लागू गर्न सकेको छैन । साथमा विगतमा स्थानीय फिल्मको वृद्धिमा सघाउने फिल्म विकासलाई पनि ब्युँताइएको  छैन ।

नेटफ्लिक्स र अमेजनजस्ता अनलाइन फिल्म माध्यमको आगमनले अन्य देशका फिल्म उद्योगलाई सघाएको छ र नयाँ कथावाचनको ढाँचा अभ्यासमा आएका छन् । तर, तिनीहरू पाकिस्तानमा आउन अन्कानाइरहेका छन् । त्यही कारण पाकिस्तानी फिल्मकर्मीका परियोजना सुरु हुने अवस्था देखिँदैन । अन्य कुनै विकल्प नदेखिइरहेको वर्तमान अवस्थामा पाकिस्तानी सरकारले स्थानीय फिल्म र फिल्मनिर्मातालाई बलिउड र हलिउडसँग प्रतिस्पर्धा गर्न सक्ने गरी मजबुत नीति लागू गर्नुपर्छ । अन्यथा स्थानीय फिल्मको वृद्धिको कमै मात्र आशा गर्न सकिन्छ । 

(मझर जैदी पाकिस्तानी पत्रकार तथा फिल्म–निर्माता हुन्)

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य