मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
प्याट्रिक गाथोरा काठमाडाैं
२०७६ असार २० शुक्रबार ०८:१२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

राजनीतिक कार्टुनको मृत्यु

राज्यको फाइदाको खोजी, सामाजिक सञ्जालको भिड शान्त पार्ने बहाना र राजनीतिक स्वतन्त्रता घटेको संकेत हो, राजनीतिक कार्टुनको मृत्यु

Read Time : > 2 मिनेट
प्याट्रिक गाथोरा काठमाडाैं
२०७६ असार २० शुक्रबार ०८:१२:००

राजनीतिक कार्टुनिस्टका लागि यो उत्तम समय होइन । गतसाता क्यानडाका चर्चित कार्टुनिस्ट, माइकल डि एड्डरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्टुन बनाएबापत  जागिर गुमाउनुपर्‍यो । उनले बनाएको कार्टुन सामाजिक सञ्जालमा भाइरल भएपछि प्रकाशक कम्पनी न्यु ब्रुन्सविकले उनीसँगको सम्झौता रद्द गर्ने घोषणा गर्‍यो । अमेरिका छिर्ने क्रममा रियो ग्रान्डे नदीमा डुबेर ज्यान गुमाएका आप्रवासी बाबु–छोरीका विषयमा कार्टुन बनेको छ ।

कार्टुनमा घाँसे मैदानमा उभिएका ट्रम्पले प्रश्न गरेका छन्– मैले खेल्दा तिमीहरूले ‘माइन्ड’ गर्छौ र ? यसमा आप्रवासी बाबुछोरी घोप्टो परेर लड्दा ट्रम्पको गल्फ खेल अवरुद्ध भएको देखाइएको छ । ट्रम्पमाथिको यो व्यंग्य नै एड्डरको जागिर गुम्नुको कारण हो वा होइन, विवाद अझै बाँकी नै छ । ब्रुन्सविक न्युज इन्कले यस्तो आरोप अस्वीकार गरेको छ । उसले एड्डरलाई हटाउने विषयमा केही समयअघिदेखि नै छलफल चलिरहेको जनाएको छ । तर, घटना त्यस्तो समयमा भएको छ, जतिवेला विश्वभरका राजनीतिक कार्टुनिस्टले अवरोध सामना गर्नुपरिरहेको छ । केही साताअघि मात्रै न्युयोर्क टाइम्सले राजनीतिक कार्टुन नछाप्ने निर्णय गरेको थियो । लामो समयदेखि न्युयोर्क टाइम्सले  कार्टुनमार्फत घृणा फैलाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको थियो । टाइम्सले पनि यस्तो निर्णय केही समयको तयारीपछि लिइएको जनाएको छ । 

केन्याका विश्वप्रसिद्ध कार्टुनिस्ट गोडफ्रे म्वामपेम्वाह जो गाडो भनेर चिनिन्छन्, उनलाई सन् २०१५ मा सरकारी दबाबपछि डेल्ली नेसनलले बर्खास्त गरेको थियो । टर्कीमा मुसा कार्ट, जो देशकै पुरानो पत्रिकाका कार्टुनिस्ट हुन्, उनी जेलमा छन् । मलेसियाका कार्टुनिस्ट जुनारको पुस्तकमाथि प्रतिबन्ध लगाइएको छ, उनीमाथि समस्या सिर्जना गरेको अभियोग लगाइएको छ । भेनेजुएला, निकारागुवा र रसियाका केही कार्टुनिस्ट देशै छाड्न बाध्य छन् ।

अमेरिकामा केही कार्टुनिस्टलाई ट्रम्पमाथि खनिएको भन्दै जागिरबाट निकालिएको छ । कार्टुनिस्ट राइट्स नेटवर्क इन्टरनेसनलका सहायक कार्यकारी निर्देशक टेरी एन्डरसनका अनुसार सन् १९९९ यता एक सयभन्दा बढी कार्टुनिस्ट हत्या, दुव्र्यवहार, अपहरण, धम्की, जेलसजाय, भ्रमण प्रतिबन्ध, राजनीतिक पूर्वाग्रहबाट ग्रसित कानुनी अड्चन, साइबर आक्रमण, अनलाइन दुव्र्यवहारलगायतको सिकार भएका छन् । 

भेनेजुएला, निकारागुवा र रसियाका केही कार्टुनिस्ट देशै छाड्न बाध्य छन् । अमेरिकामा केही कार्टुनिस्टलाई ट्रम्पमाथि खनिएको भन्दै जागिरबाट निकालिएको छ । 
 

फ्रिडम हाउसको प्रतिवेदनअनुसार पछिल्ला दुई दशकमा प्रेसमाथि निरन्तर आक्रमण भइरहेको छ । सन् २०१० को प्रतिवेदनमा उल्लेख भएअनुसार सन् २००० को दशक प्रेस स्वतन्त्रतामाथिको अकुंशको साक्षी बनेको थियो । इन्टरनेट र अन्य न्यु मिडियामा समाचार दिने र समाचारमा पहुँच पु-याउने काम नागरिकले गरिरहेका थिए भने त्यसमा नियन्त्रण जमाउन सरकारले प्रतिस्पर्धा गरिरहेको थियो । यस संस्थाको पछिल्लो प्रतिवेदनअनुसार यसपछिको दशकमा विश्वव्यापी मिडिया स्वतन्त्रता थप खराब भयो । ‘नयाँ शैलीका दमनले खुला समाज र निरंकुश राज्यमा पकड जमाए,’ नयाँ प्रतिवेदनमा भनिएको छ । 

यसको धेरैजसो दोष राजनीतिज्ञ र सरकारमाथि जान्छ । तर, व्यावसायिक संस्था तथा इन्टरनेट पनि कम छैनन् । सञ्चार माध्यमको स्वामित्व सीमित व्यक्तिको हातमा जाँदा आलोचनात्मक पत्रकारिताको जमिन घट्दो छ । उदाहरणका लागि क्यानडाको न्यु ब्रुन्सविक प्रान्तमा देशकै धनाढ्यमध्येको एक इर्भिङ परिवारको स्वामित्वमा ब्रुन्सविक न्युज इन्क सञ्चालनमा छ ।

यस राज्यमा प्रकाशित हुने अधिकांश ठूला पत्रिका यही पब्लिकेसनअन्तर्गतका हुन् । त्यसैले यहाँ इर्भिङ परिवारको मनपरी चल्छ । यसको अर्थ अब एड्डरले आफ्नो गृहप्रान्तका ठूला पत्रिकामा कार्टुन छाप्न पाउँदैनन् भन्ने मात्र होइन, यस प्रान्तका समाचार इर्भिङको व्यावसायिक हितलाई आधार मानेर छापिन्छन् भन्ने पनि हो । केन्यामा हरेकजसो सञ्चार माध्यम या त राजनीतिज्ञको स्वामित्वमा छन् , या उनीहरूका निकट सहयोगीको । राज्यको फाइदाको खोजी, सामाजिक सञ्जालको भिड शान्त पार्ने बहाना र राजनीतिक स्वतन्त्रता घटेको संकेत हो, राजनीतिक कार्टुनको मृत्यु । 

(नैरोबी बस्ने गाथोरा सञ्चार सल्लाहकार, लेखक तथा अवार्ड विजेता राजनीतिक कार्टुनिस्ट हुन्)अलजजिरा डटकमबाट