मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ असार १९ बिहीबार ०६:२९:००
Read Time : > 1 मिनेट
समाचार

तस्करीको रक्तचन्दन १३ वर्षदेखि कोठामै थन्कियो

Read Time : > 1 मिनेट
२०७६ असार १९ बिहीबार ०६:२९:००

भारतबाट तस्करी गरेर ल्याएको रक्तचन्दन १३ वर्षदेखि झापा डिभिजन वन कार्यालयको कोठामा थन्किएको छ । तस्करीमा संलग्न व्यक्ति कैद भुक्तान गरेर रिहा भइसक्दा पनि बरामद रक्तचन्दन के गर्ने भन्ने विषयमा निक्र्योल नहुँदा सुरक्षाकर्मीले पहरा दिइरहेका छन् ।  भारतबाट ल्याएको रक्तचन्दन चीन लग्दै गर्दा ०६३ मा झापाका विभिन्न स्थानबाट बरामद गरिएको थियो । अहिलेसम्म त्यो रक्तचन्दन के गर्ने भन्ने यकिन हुन नसकेको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताए । ‘जहाँबाट आएको हो उतै फिर्ता पठाउनुपर्ने प्रावधान छ । अहिलेसम्म त्यो पनि सम्भव देखिएन,’ घिमिरेले भने । 

रक्तचन्दनलाई विश्व वन्यजन्तु तथा वनस्पतिको व्यापार नियमन अभिसन्धि (साइटिस)को अनुसूची–२ मा संकटापन्न वनस्पतिको सूचीमा राखिएको छ । नेपालले पनि यो अभिसन्धिमा हस्ताक्षर गरेकाले बिक्री गर्ने र खरिद गर्ने मुलुकबीच परिमाण निर्धारण गरी सम्झौता भएपछि मात्र रक्तचन्दनको कारोबार हुन सक्छ । अन्यथा जहाँबाट आएको हो, त्यहीँ फिर्ता गर्नुपर्ने प्रावधान छ ।

डिभिजन वन कार्यालयका तीन कोठामा १९ हजार आठ सय ३२ किलोग्राम रक्तचन्दन राखिएको छ । दुईवटा कोठा भरिएका छन् भने एउटा आधा छ । तस्करीमा संलग्न ६ जनाले कैद र जरिवाना भोगिसकेका छन् । ‘अभियुक्त रिहा भइसकेका छन्, बरामद रक्तचन्दन के गर्ने भन्नेमा सरकारी दृष्टिकोण अझै बन्न सकेको छैन,’ उनले भने । 

०६३ असारमा झापाको टाघनडुब्बाबाट एक हजार ६ सय ८७ किलोग्राम रक्तचन्दन बरामद भएको थियो । वन कार्यालयका अनुसार त्यही असारमै ११ हजार सात सय ७० किलोग्राम रक्तचन्दन बरामद गरिएको थियो । त्यस्तै, ०६७ पुसमा झापाको कुमरखोदबाट ६ हजार तीन सय पाँच किलो रक्तचन्दन बरामद भएको थियो । 

 २४सै घन्टा सुरक्षा निगरानी
डिभिजन वन कार्यालयका तीनवटा कोठामा सिलबन्दी रक्तचन्दन २४सै घन्टा सुरक्षा निगरानीमा राखिएको छ । यसले वन कार्यालयलाई पनि सधैँ तनाव दिने गरेको छ । छिसिक्क केही चोरी भए पनि समस्या हुने भयले २४सै घन्टा सुरक्षाकर्मी खटिने गरेको वन कार्यालयले जनाएको छ ।

तीनवटा कोठामा राख्दा कर्मचारीलाई बस्ने ठाउँ पनि छैन । यसले नियमित काममा समेत प्रभाव परिरहेको डिभिजन प्रमुख घिमिरेले बताए । यसको व्यवस्थापनका लागि वन मन्त्रालयलाई पत्राचार पनि गरिएको छ । केही महिनाअघि वन मन्त्रालयलाई पत्राचार गरे पनि कुनै प्रतिक्रिया नआएको जनाएको छ ।अहिले देशभर दुई लाख ४७ हजार ४८ किलो रक्तचन्दन छ । जुन १३ वर्षयता बरामद गरिएको हो । त्यसको सुरक्षार्थ ३० जना सुरक्षाकर्मी र वनरक्षक खटिँदै आएका छन् ।