१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मानदत्त रावल जुम्ला
२०७६ असार १८ बुधबार १०:२१:००
Read Time : > 1 मिनेट
प्रदेश

सामुदायिक विद्यालयमा घट्दो आकर्षण

Read Time : > 1 मिनेट
मानदत्त रावल जुम्ला
२०७६ असार १८ बुधबार १०:२१:००

राज्यले निःशुल्क शिक्षाको अवधारणा लिए पनि विद्यार्थी भने महँगो शुल्क तिर्नुपर्ने निजी विद्यालयमा आकर्षित भएका छन् । विद्यार्थी निजीमा लागेपछि सामुदायिक विद्यालयमा न्यून मात्र विद्यार्थी छन् । सरकारी तथा गैरसरकारी निकायबाट शिक्षा क्षेत्रमा ठूलो लगानी भए पनि यहाँका अभिभावक आधा पेट खाएर भए पनि बालबालिकालाई निजी विद्यालयतर्फ आकर्षित छन् । राज्यले निःशुल्क पाठ्यपुस्तकदेखि छात्रा र दलित छात्रलाई छात्रवृत्तिसहित दिवाखाजाको व्यवस्थापन गरे पनि अभिभावकले बालबालिकाकालाई सामुदायिक विद्यालयमा भर्ना गर्न मान्दैनन् । 

कक्षा तीनमा तीन विद्यार्थी
जुम्लाको सदरमुकाम खलंगा बजारस्थित बालमन्दिर प्राथमिक विद्यालयमा कक्षा तीनमा तीनजना मात्र विद्यार्थी छन् । कक्षा तीनमा पाँचजना भर्ना भए पनि सोमबार विद्यालयमा तीनजना छात्रा मात्र उपस्थित थिए । कक्षा एकमा १६ जना र कक्षा दुईमा सातजना भर्ना भएका छन् ।  न्यून संख्यामा भर्ना भएका विद्यार्थी पनि विद्यालयमा नआउने गरेको प्रधानाध्यापक पार्वती पौडेलले बताइन् । उनले भनिन्, ‘इसिडीमा भने २१ जना बालबालिका भर्ना छन् । राज्यले शिक्षा क्षेत्रमा ठूलो लगानी गरेको छ, तर पनि यहाँका अभिभावक भने निजी विद्यालयतिरै आर्कषित भएकाले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून भएको हो । इसिडी कक्षामा भने ठीकै विद्यार्थी भर्ना हुन्छन् तर अलि हुर्केपछि निजी विद्यालयमा भर्ना गर्ने यहाँको चलन छ ।’ 

०२९ मा रत्नराज्यलक्ष्मी शाहले विद्यालयलाई पहिला बालमन्दिरका रूपमा स्थापना गरेकी हुन् । ०४६ मा भने विद्यालयका रूपमा स्थापना भएको प्रधानाध्यापक पौडेलले बताइन् । बालमन्दिर विद्यालयमा दुईजना दरबन्दीका शिक्षक, एकजना आन्तरिक स्रोत शिक्षक र एकजना इसिडी कक्षा शिक्षक रहेको विद्यालयले जनाएको छ । 

कक्षा पाँचसम्म पढाइ हुने  विद्यालयमा चार विद्यार्थी
जुम्लाको सदरमुकाम खलंगास्थित अशोक नमुना आधारभूत विद्यालयमा कक्षा पाँचसम्म पढाइ हुने भए पनि सोमबार १–५ कक्षासम्म चारजना मात्रै विद्यार्थी उपस्थित थिए । ०२९ मा स्थापना भएको विद्यालयमा पूर्वराज्यमन्त्री  स्व. डिल्लीबहादुर महतदेखि पूर्ववनमन्त्री भक्तबहादुर रोकायासमेतले अध्ययन गरेका थिए । तर पनि विद्यालयको अवस्था भने सुधारिएको छैन । अभिभावकले छोराछोरी निजीमा पढाउन थालेपछि सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या न्यून भएको हो । चालू शैक्षिक सत्रमा इसिडीमा १७, कक्षा १ मा १९, २ मा १२, ३ मा १६, ४ मा १७ जना र ५ मा १३ विद्यार्थी भर्ना भएका छन् । 

प्रधानाध्यापक भगवती श्रेष्ठका अनुसार विद्यार्थीको संख्या बढाउन पहल भइरहेको छ । ‘सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून हुनु भनेको राज्यको लगानी खेर जानु नै हो,’ उनले भनिन्, ‘यहाँ धेरै निजी विद्यालय स्थापनाका लागि स्वीकृति दिएपछि यस्तो समस्या भएको हो ।’ सदरमुकाम खलंगा बजारमा एक दर्जन बढी निजी विद्यालय छन् । 

विद्यालय समायोजनका लागि कार्यदल
चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले नगरपालिकाभित्रका सबै विद्यालयमा अनुगमन गरी समायोजनका लागि कार्यदल गठन गरेको बताइन् । १५ विद्यालयमध्ये पाँच विद्यालयबाहेक अन्य विद्यालयमा विद्यार्थी संख्या न्यून रहेको उनले जानकारी दिइन् ।  ‘विद्यालय समायोजनका विषयमा कार्यदल बनेको छ । अब केही समयमा समायोजन हुन्छन्,’ उनले भनिन्, ‘नगरपालिकामा शिक्षा क्षेत्रमा काम गर्ने कर्मचारी अभावका कारण पनि केही समस्या भएको छ ।’