१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस
२०७५ पौष १७ मंगलबार १६:४०:००
Read Time : > 1 मिनेट
समाचार

नेपाली प्रेस जगतका लागि चुनौतीपूर्ण वर्ष : महासंघ

Read Time : > 1 मिनेट
रासस
२०७५ पौष १७ मंगलबार १६:४०:००

नेपाल पत्रकार महासंघले सन् २०१८ मा नेपाली प्रेस जगतका लागि चुनौतीपूर्ण वर्ष रहेको जनाएको छ । नेपाल पत्रकार महासङ्घको सञ्चार अनुगमन एकाईका अनुसार यो वर्ष ५८ वटा प्रेस स्वतन्त्रता हनन भएकाे घटना भएका छन् ।

सन् २०१७ मा प्रेस स्वतन्त्रता हननका ७३ वटा घटनाहरु अभिलेख भएका थिए । तुलनात्मक रुपमा घटनामा कमी आएको भए पनि कानूनी रुपमा चुनौतीपूर्ण बनेको महासंघले जनाएको छ । 

यसै वर्ष भदौ १ गतेदेखि लागू गरिएको मुलुकी फौजदारी र देवानी संहितामा भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी केही प्रावधानले गर्दा नेपाली प्रेसका लागि चुनौतीपूर्ण बनेको हो । महासङ्घले मुलुकी फौजदारी र देवानी संहितामा भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधान सच्चाउन विभिन्न दबाबमूलक अभियान नै सञ्चालन गरेको जनाएको छ । 

सन् २०१८ मा १५ जना पत्रकारमाथि आक्रमण भएको छ भने १३ जना पत्रकारलाई धम्की दिइएको छ । महासङ्घको अनुगमन एकाईमा अभिलेख भएअनुसार समाचारको विषयलाई लिएर पत्रकारमाथि आक्रमण र धम्की दिने काम भएको थियो । यस्तै यो अवधिमा १२ जना पत्रकारलाई समाचार सङ्कलनमा वा समाचार छापेको निहुँमा दुर्व्यवहार गरियो भने पत्रकारलाई समाचार सङ्कलनका क्रममा अवरोध पुर्‍याइएका ६ वटा घटना रहेका छन् । 

पत्रकारको संस्था तथा पत्रपत्रिका कब्जा गरिएका चार वटा घटना अभिलेख भएका छन् । त्यसैगरी एक जना पत्रकार बेपत्ता भएका छन् । नेपाल पत्रकार महासघ डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बूढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्का २०७५ भदौ १० गते करिब १४ हजार फिट उचाइमा रहेको बाजुरास्थित बूढीनन्दा तीर्थस्थलबाट फर्किने क्रममा सम्पर्कबिहीन भएका हुन् । 

त्यसैगरी छ जना पत्रकार पक्राउ परेका छन् । अनुगमन एकाईका अनुसार पक्राउ परेकामध्ये राजु बस्नेत, एन्जिला सापकोटा, गोपाल चन्द्रलगायतका पत्रकारलाई प्रहरीले समाचार लेखेकै आधारमा पक्राउ गरी आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा चलाएको थियो । प्रकाशित तथा प्रसारित समाचारका सम्बन्धमा चित्त नबुझे उजुरी गर्ने संस्था प्रेस काउन्सिल रहेको छ । 

नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता विरोधी सबैखाले घटनाको भर्सना गर्दै संविधानले दिएको प्रेस स्वतन्त्रताको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ ।