मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
विद्यासुन्दर शाक्य
२०७५ मङ्सिर २९ शनिबार ११:५३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

अबको काठमाडौं : समृद्ध महानगर

Read Time : > 2 मिनेट
विद्यासुन्दर शाक्य
२०७५ मङ्सिर २९ शनिबार ११:५३:००

मेयर, काठमाडौं महानगरपालिका

चुनावका क्रममा हामीले महानगरवासीसमक्ष केही महŒवपूर्ण प्रतिबद्धता गरेका थियौँ । त्यो प्रतिबद्धता व्यक्तिगत मात्र नभई सिंगो पार्टीको तर्फबाट थियो । प्रतिबद्धता जनताले रुचाए । र, हामीलाई चुनावमा जिताए । गरेका प्रतिबद्धतो पूरा गर्नु हाम्रो दायित्व हो । सोही दायित्व शिरमा राखी हिँडिरहेका छौँ । यस क्रममा कति प्रतिबद्धता पूरा भइसकेका छन् । कति हुन बाँकी छन् । 

भित्रि सडक सबै कलोपत्रे 
विशेषगरी पूर्वाधार विकासमा हामीले केही गुणात्मक फड्को मार्न सक्यौँ । यसलाई अझ सघन पार्न हामीले चालू आर्थिक वर्षलाई पूर्वाधार निर्माण वर्ष घोषणा नै गरेका छौँ । सहरभित्रका साना सडक महानगरपालिकामातहत छन् । यसलाई भित्री सडक पनि भनिन्छ । महानगरभित्रका यी सडक पछिल्ला दिनमा अधिकांश कालोपत्रे भइसकेका छन् । केही वडाले त सडक निर्माणको काम अब सबै सकिएको प्रतिवेदनसमेत पेस गरिसकेको छ । केही सडकमा कालेपत्रे हुन बाँकी छ । त्यो पनि यही आर्थिक वर्षभित्र सबै पूरा हुनेछन् । 

फराकिलो कर दायरा
महानगरले यस वर्षलाई कर वर्षका रूपमा पनि घोषणा गरेको छ । यो भनेको जनतासँग धेरै कर उठाउने भन्ने होइन । करको दायरमा मात्रै फराकिलो बनाउने हो । यसमा जनता सहमत छन् । विगत वर्षका भन्दा यस वर्ष हामीले झन्डै दोब्बर कर उठाउने लक्ष्य यही कारण लिएका छौँ ।  यी सबै पूर्वाधारमा खर्च हुने हुन् । 

बस्ती विकास 
वसन्तपुर, असन, इन्द्रचोकलगायत ऐतिहासिक क्षेत्र पुराना सहर हुन् । यहाँका घर पुराना छन् । जमिन कतै छैन । यही घर प्रायः सबै व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका छन् । यी ठाउँमा ल्यान्डपुलिङ गरी नयाँ बस्तीको विकास गर्ने लक्ष्य पुरानै हो । यसैको पाइलोटिङ हामीले इटुम्बहालको ठीक पछाडि दम्बुचोकबाट सुरु गरेका छौँ । ५४ वटा यसमा समेटिएका छन् । यसलाई हामी ल्यान्डपुलिङभन्दा पनि हाउसपुलिङको कन्सेप्टबाट नयाँ सहर निर्माण गरिरहेका छौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पनि यसमा साथ छ । ५४ घरको ठाउँमा अब ५९ घर बन्नेछन् । स्थानीय उपभोक्ता, महानगरपालिका र प्राधिकरणबीच सम्झौतासमेत भइसकेको छ । 

सिसिटिभीसहितको नयाँ सहर 
महानगरलाई अपराधमुक्त मात्र होइन, फोहोरमुक्त बनाउने अभियान महानगरको हो । यही अभियानअन्तर्गत सिसिटिभीको कन्सेप्ट आएको हो । महानगरको नीति तथा कार्यक्रममै हामीले यो अभियान राखेका छौँ । यसका लागि नेपाल प्रहरीसँग सहकार्य हुँदै छ । यसका लागि सम्झौतासमेत भइसकेको छ । सिसिटिभीमार्फत प्रहरीले अपराध नियन्त्रण गर्छ । महानगरपालिका भने फोहोर नियन्त्रण र अव्यवस्थित पार्किङको निगरानी गर्छ । यसका लागि हामीले तीन करोड रुपैयाँ विनियोजन गरिसकेका छौँ । यसबाट महानगरभित्र मात्रै पाँच सयको संख्यामा सिसिटिभी जडान हुनेछन् । 

महानगरमा मेयर उज्यालो अभियान 
अब काठमाडौं महानगरभित्र अँध्यारो हुनेछैन । यही ध्येय पूरा गर्न हामीले सहरका प्रत्येक चोक–गल्लीमा बत्ती जडान अभियान थालेका छौँ, जहाँ अझै बत्ती पुग्न सकेको छैन । त्यसको विवरण संकलन भइरहेको छ । विवरण आएपछि ती ठाउँमा तत्काल बत्ती जडान हुनेछ । जसलाई हामीले ‘मेयर उज्यालो अभियान’ भनेका छौँ । यसरी जडान हुने बत्ती सोलारको होइन, सबै विद्युत्कै हुनेछ । 

स्मार्ट यातायातमा महानगर
महानगरको सबैभन्दा जटिल र ठूलो चुनौती सडक सञ्जाल हो । दैनिक हुने ट्राफिक जामबाट हामी दैनिक आक्रान्त छौँ । यसको विकल्प भनेको ‘मास ट्रान्सपर्ट’ हो । त्यो भनेको मनोरेल । यसको प्रक्रिया अघि बढिसकेको छ । यसको डिपिआर बनाउन चिनियाँ कम्पनीलाई पत्रसमेत लेखिसकिएको छ । मनोरेल पहिलो चरणमा सबिकको चक्रपथवरिपरि बन्छ । त्यसबाहेक अन्य पाँचवटा लेनबारे पनि अध्ययन भइरहेको छ । सम्भाव्यता अध्ययनबाट काम गर्न सकिने भनी प्रतिवेदनसमेत आइसकेको छ । 

स्मार्ट पार्किङ
महानगरभित्र अर्को समस्या पार्किङको हो । यसका लागि न्युरोडमा भर्टिकल पार्किङ निर्माण कार्य हुँदै छ । पिपिपी मोडलमा यहाँ पार्किङ बनाउन लागिएको हो । यसमा महानगरपालिकाको लगानी हुनेछैन । सबै निजी क्षेत्रले नै गर्नेछ । निश्चित अवधि पछि त्यो महानगरपालिकाको स्वामित्वमा आउनेछ । 

महानगरभित्रको व्यस्त सहरमा अब पिक एन्ड ड्रप कन्सेप्ट लागू हुँदै छ । विशेषगरी रत्नपार्क, पुरानो बसपार्क, भद्रकाली, सहिदगेट, न्युरोड, वीर अस्पताल, जमल क्षेत्रमा यो नियम लागू हुनेछ । यसले सहरको ट्राफिक जामलाई न्यूनीकरण गर्नेछ । यसले समय मात्र होइन, इन्धन बचाउनेछ । 

ब्रुमरबाट सहरको सफाइ 
महानगरपालिकाले सहर सफाइ विशेष ध्यान दिएको छ । जेट मेसिन लगाएर सडक धोइरहेका छौँ । ब्रुमरले धुलो तनिरहेका छौँ । तर, सहर त जस्ताको तस्तै छ । किन ? प्रश्न उठ्नु स्वाभाविक छ । यसका केही कारण रहेछन् । जस्तो रत्नपार्कआसपासका सडक धँुदा पुरानो बसपार्कबाट आएको धुलोले सडक फोहोर हुने रहेछ ।