मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १४ शनिबार १९:५१:००
Read Time : < 1 मिनेट
समाचार

शक्तिशाली सरकार बाटो बिराए जस्तो देखियो : कांग्रेस नेता सिटौला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १४ शनिबार १९:५१:००

नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले नेपालको राजनीतिलाई पछाडि फर्काउने उग्रवादी धार विकसित हुन थालेकोमा चिन्ता जनाएका छन् । मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा शनिबार राजधानीको राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा बोल्दै उनले राज्य संञ्चालन पद्धतीमाथि प्रहार गरी राजनीतिलाई पछाडि फर्काउनेहरु सक्रिय हुन थालेको बताए ।

राजनीतिक दलहरुबीच राष्ट्रिय एजेण्डामा सहमति नहुँदाकाे फाइदा उठाउँदै व्यवस्थामाथि नै चुनौती दिनेहरुले प्रहार गर्न थालेको सिटाैलाले टिप्पणी गरे । सरकार गठनको २ वर्षसम्म बहुदलीय लोकतन्त्रका मान्यतालाई स्थापित गर्न नसकेका कारण राज्य संचालन पद्धतिमाथि नै प्रश्न उठ्न थालेको उनले बताए । 

‘सरकारमथि मात्रै नभई पद्धतीमाथि नै प्रश्न उठ्न थालेको छ,’ उनले भने, ‘राजनीतिलाई पछाडि फर्काउने उग्रवादी धारहरु दक्षिणपन्थी कोणबाट र उग्रवामपन्थी कोणबाट उठ्न थालेका छन् । यो नेपालको राजनीतिमा सबैभन्दा चिन्ताको विषय हो ।’

नेकपाले चाहेमा सरकारले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजान सक्ने स्थिति र शक्ति भए पनि बाटो विराए जस्तो देखिएको उल्लेख गरे । कांग्रेसले विरोधका लागि विरोध नभई सकारात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने स्पष्ट पारे । उनले नेकपालाई आफ्नै पार्टीबाट अप्ठ्यारो हुने बाहेक कांग्रेसले अप्ठ्यारो नपार्ने विश्वास दिलाए । उनले सबै वर्ग र क्षेत्रका समस्या सम्बोधन गर्ने गरी संविधानले निर्दिष्ट गरेको लोकतान्त्रिक मूल्य मान्यतामा रही काम गर्न सरकारलाई सुझाव दिए ।