मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
 देवीकृष्ण रोकाया अध्यक्ष, रारा पर्यटन विकास समिति
देवीकृष्ण रोकाया
२०७६ असार १४ शनिबार ०७:१४:००
Read Time : > 1 मिनेट
पर्यटन

भावी पुस्तालाई अहिलेकै सुन्दर रारा उपहार दिनुपर्छ

Read Time : > 1 मिनेट
देवीकृष्ण रोकाया
२०७६ असार १४ शनिबार ०७:१४:००

रारा देशकै प्रमुख पर्यटकीय गन्तव्य । जहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन कम हुन थालेको छ । रारा फोहोर पनि हुँदै गएको छ । यसैसँग सम्बन्धित पर्यटन व्यवसायी एवं रारा पर्यटन विकास समिति अध्यक्ष एवं रारा मुर्मा होमस्टेका सञ्चालक देवीकृष्ण रोकायासँग गरिएको संक्षिप्त कुराकानी:

अहिले राराको अवस्था कस्तो छ ? 
खासै उत्साहजनक भन्न मिल्दैन । विगतका तुलनामा घटेको अनुभूति भएको छ । यतिवेला दिनमा ६० देखि सयजनाको हाराहारीमा पर्यटक रारा घुम्न आएका छन् । यो विगतभन्दा कम हो । सरकारले १५ लाख बाह्य पर्यटक भित्रिएको बताइरहँदा रारामा भने एक वर्षमा चारदेखि पाँच सय बाह्य पर्यटक र १५ देखि २० हजार आन्तरिक पर्यटक पुगेका छन् । योे संख्या निकै कम हो ।

किन पर्यटक घटे ?  
रारा पर्यटन विकासको स्पष्ट नीति नै बनेको छैन । रारा पुग्न नियमित हवाई तथा सडक यातायातको राम्रो व्यवस्थापन हुन सकेको छैन । सहजै जहाजको टिकट उपलब्ध नहुनु, कर्णाली राजमार्ग कालोपत्रे नहुँदा हिउँदे र वर्षे समयमा गाडी चल्न नसक्नुजस्ता कठिनाइ छन् । रारामा पर्याप्त होटेल छैनन् । बस्न, खान समस्या हुने गरेकाले एकपटक रारामा आएको पर्यटक सायदै फर्केर आउँछन् । 

पर्यटक बढाउन के गर्नुपर्छ ? 
रारा ताल क्षेत्रसँग जोडिएका हरेक बस्तीमा होमस्टेको अवधारणा ल्याउनुपर्छ । प्रशस्त सुविधासम्पन्न होटेलको व्यवस्था हुनुपर्छ । स्थानीय परिकारको व्यापक प्रचार प्रसार गरिनुपर्छ । पाहुनाको रोजाइअनुसार, खानाका परिकारको प्याकेज तयार गर्नुपर्छ । 

त्यस्तै, कर्णाली राजमार्गको याथाशीघ्र स्तरोन्नति गरेर कालोपत्रे गरिनुपर्छ । हवाई टिकटमा सहजता हुनुपर्‍यो । नेपालगन्ज विमानस्थलदेखि रारा विमानस्थलका लागि दैनिक तीन–चारवटा उडानको व्यवस्था गर्नुपर्छ । काठमाडौंदेखि रारा आउन सीधा हवाई सेवाको व्यवस्था हुनुपर्‍यो । अर्को, दुर्गमका उडानमा सरकारले अनुदानको व्यवस्था गर्नुपर्छ । आज रारा आउने स्वदेशी पर्यटकले नेपालगन्जबाट ६ हजार र विदेशी पर्यटकले रारा पुग्दासम्म २२ हजार भाडा तिर्छ । रारामा पाँच दिन बसेर फर्किंदा कम्तीमा एक लाख खर्च हुन्छ । त्यो पैसाले नेपालका अन्य पाँच ठाउँ घुम्न सक्छ । त्यसैले राराका लागि विशेष व्यवस्था गर्नुपर्छ । 

रारा पर्यटन विकासका लागि के गर्नुपर्छ ? 
पहिलो त रारालाई अबको १०, २० वा ५० वर्षपछि कस्तो बनाउने ? भावी पुस्तालाई कस्तो रारा दिने ? गुरुयोजना तयार गर्नुपर्छ । अनि त्यहीअनुसार, स्थानीय, प्रदेश र संघीय सरकारले बजेटको व्यवस्थापन गरी पूर्वाधार निर्माण गर्नुपर्छ । त्यसका लागि रारा विकास बोर्ड गठन गरेर काम गर्नुपर्छ । 

रारालाई सफा, सुरक्षित राख्नैपर्छ । रारानजिकका बस्तीमा होमस्टे, तालक्षेत्रभन्दा बाहिर सुविधासम्पन्न होटेल, लजको व्यवस्था गर्नुपर्छ । स्थानीय युवालाई कुक, होमस्टे, पर्यटन गाइडलगायतको तालिम दिनुपर्छ । यो सबै गर्दा ध्यान दिनुपर्ने विषय के हो भने भावी पुस्तालाई अहिलेकै सुन्दर रारा उपहार दिनुपर्छ ।