मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असार १३ शुक्रबार ११:३९:००
Read Time : > 1 मिनेट
समाचार

बेँसीसहर–चामे  सडकखण्ड अवरुद्ध

Read Time : > 1 मिनेट
२०७६ असार १३ शुक्रबार ११:३९:००

लमजुङ र मनाङ जोड्ने म्यार्दीखोलाको बेलिब्रिज बाढीले बगाएसँगै बेँसीसहर–चामे सडकखण्ड अवरुद्ध भएको छ । मनाङ आवतजावत गर्ने एक मात्रै सडक बेँसीसहर–चामे सडकको म्यार्दीखोलाको पुल बाढीले आइतबार दिउँसो बगाएको थियो । पुल बगेपछि सो सडकखण्ड हुँदै कुनै पनि सवारीसाधन सञ्चालन भएका छैनन् । बाढीले पुल बगाएसँगै खोलामा गहिरो गल्छी बनेको छ ।

यो स्थानबाट सवारीसाधन तर्न सक्ने अवस्था नभएको बेँसीसहर–चामे सडकमा सवारी चलाउँदै आएका सोमबहादुर मजाकोटीले बताए । उनले भने, ‘पुल नहुँदा र पानीको बहाव कम वेला खोलाबाटै सवारीसाधन तार्ने गथ्र्यौँ । तर, अब खोलो गहिरिएकाले सम्भव छैन ।’ उनका अनुसार बेँसीसहरबाट च्याम्चेसम्म र मनाङको चामेदेखि तालसम्म मात्रै सवारीसधान सञ्चालन भइरहेका छन् । सवारीसाधन सञ्चालन नहुँदा लमजुङ–मनाङ आवतजावत गर्ने यात्री मर्कामा परेका छन् ।

सवारीसाधनबाट च्याम्चेमा ओर्लिएर तालसम्म करिब एक घन्टा पैदलयात्रा गर्ने गरेको च्याम्चेका धनबहादुर तामाङले बताए । स्वास्थ्य कार्यालय मनाङका प्रमुख नवराज विष्टले पनि बुधबार दुई घन्टाको पैदलयात्रापछि सवारीसाधन भएको ठाउँमा आइपुगेको बताए । उनले भने, ‘कार्यालयको कामले काठमाडौं जान बेँसीसहर आउनुपर्ने सवारीसाधन आवतजावत नहुँदा समस्या भयो ।’ 

तत्काल खुल्ने सम्भावना छैन : सडक डिभिजन
बेँसीसहर–चामे सडक हेर्ने सडक डिभिजन कार्यालय दमौलीका इन्जिनीयर ठाकुरप्रसाद भण्डारीले तत्काल सडक खुल्ने र सवारीसाधन गुड्ने सम्भावना नभएको बताए । सो पुलको दुईवटा पिलर र दायाँ भागको आठ मिटर एप्रोजरोड मात्र बाँकी रहेको उनले बताए । उनका अनुसार मनाङतर्फ भन्दा लमजुङतर्फ बढी क्षति भएको छ । उनीसहित काठमाडौंबाट आएका बेलिब्रिजका डिजाइनर उद्धव रानामगरले पुलको अनुगमन गरेका थिए ।

अस्थायी रूपमा पुल मर्मत गरी सवारी सञ्चालन हुन करिब तीन साता लाग्ने इन्जिनियर भण्डारीको भनाइ छ । पुलको मर्मत केही दिनमै अघि बढाउने उनले बताए । सडक निर्माण भएको २३ वर्ष पुग्दा पनि हिमालपारिको जिल्ला मनाङ सदरमुकाम चामे जोड्ने सडकको स्तरवृद्धि हुन नसक्दा यात्रीले सधैँ सास्ती खेप्नुपरेको छ । 

यो सडकखण्ड नेपाली सेनाले १९ वर्ष लगाएर तीन वर्षअघि ट्र्याक सम्पन्न गरी सडक विभागलाई जिम्मा लगाएको थियो । लमजुङ सदरमुकाम बेँसीसहरबाट मनाङको चामेसम्म ६५ किलोमिटर सडक पार गर्न सवारीसाधानलाई ६ घन्टा लाग्छ । यो सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर छ ।